पूर्वराजा ज्ञानेन्द्र शाहले स्थानीय बासिन्दालाई राजा आऊ देश बचाऊ नभई, जनता आऊ देश बचाऊको नारा लगाउन आग्रह गरेका छन्।
हिमानी कोषद्वारा कञ्चनपुरका बाढीपीडितलाई प्रदान गरिएको राहत हस्तान्तरण कार्यक्रममा आइतबार महेन्द्रनगर पुगेका पूर्वराजाले स्थानीयसँग यस्तो आग्रह गरेका हुन्।
राहत हस्तान्तरण पश्चात फर्किने क्रममा स्थानीयले 'राजा आऊ देश बचाऊ' नारा लगाउन थालेपछि पूर्वराजाले गाडी रोकेर 'जनता आऊ देश बचाऊ' भन्न आग्रह गरेका थिए। 'तपाईंहरू राजा आऊ देश बचाऊ' नभन्नुस्। 'जनता आऊ देश बचाऊ' भन्नुस्' पूर्वराजाले भने।
स्थानीय बाढीपीडितले पूर्वराजाको हातबाट मात्रै राहत बुझ्ने भन्दै विरोध गरेपछि उनले सरकारको नियमकानुनको परिधिभित्र रहनु सबैको कर्तत्व भएको बताए।
उनले सबैजना नियम कानुनको परिधिमा बाँधिएकाले सरकारको निर्णयभन्दा बाहिर जान नमिल्ने भन्दै बाढी पीडितलाई संयमता अपनाउन आग्रह गरेका थिए।
स्थानीय बाढीपीडितसँग पूर्वराजाले भने, 'तपाईं हामी सबैले नियमकानुन मान्नुपर्छ। त्यस विपरीत जान मिल्दैन।'
पूर्वराजाले कोषद्वारा प्रदान गरिएको राहत वास्तविक बाढीपीडितले पाउनुपर्ने दोहोर्याएका छन्।
एक समारोहबीच हिमानी कोषका अध्यक्ष तथा पूर्व युवराज्ञी हिमानी शाहले जिल्ला दैवी प्रकोप उद्धार समिति कञ्चनपुरलाई राहत हस्तान्तरण गरेकी छन्। उनले राहत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका शाखा अधिकृत खिमानन्द पाठकलाई हस्तान्तरण गरेकी हुन्।
कोषले कञ्चनपुरका भीमदत्त नगरपालिका तथा चाँदनी, दोधारा गाविस लगायतका १ हजार ३ सय ७ बाढी पीडित परिवारलाई राहत प्रदान गरेको छ। राहतमा भाँडाकुँडा, लत्ताकपडा, प्रतिपरिवार ४५ किलोग्राम चामल र विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री छन् ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।