यमबहादुर बम
धनगढी, २९ पुस । थारू समुदायको परम्परागत चाड माघीमा तीन दिन सार्वजनिक विदाको माग गरिएको छ ।
थारू कल्याणकारिणी सभा कैलालीले धनगढीमा पत्रकार सम्मेलनको गरेर थारू समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको महान चाड माघीको तीन दिन सार्वजनिक विदा हुनु पर्ने माग गरेको हो ।
सभाका कैलाली अध्यक्ष प्रभातकुमार चौधरीले थारु समुदायले पुसको अन्तिम दिन तथा माघ १ र २ गते गरी तीन दिन सार्वजनिक बिदा हुनुपर्ने माग गरे । ‘थारू समुदायको अलग्गै संस्कृति र पहिचान छ,’ अध्यक्ष चौधरीले भने– ‘संस्कृतिको पहिचानका लागि पनि सार्वजनिक विदा दिइनु पर्छ ।’
पूर्वगृहमन्त्री कृष्ण सिटौलादेखि विजय गच्छेदारसम्मलाई थारु समुदायको नयाँ वर्ष माघ १ गतेलाई राष्ट्रिय मान्यता दिन माग गर्दापनि कुनै सुनुवाइ नभएको चौधरीले आरोप लगाए ।
उनले भने– ‘गच्छेदार थारु समुदायकै गृहमन्त्री हुँदा समेत आफूहरुको नयाँ वर्षको रूपमा मनाइने माघी पर्वबारे वेवास्ता गरियो । अब गठन हुने सरकारले थारु जातीको चाँडपर्वलाई महत्वका साथ हेरी राष्ट्रिय महत्व र आवश्यकता अनुसार बिदा दिनुपर्ने थारु समुदायको माग रहेको छ ।’
यो पर्वलाई थारूहरूले नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसका रूपमा, सद्भव र मेलमिलापका रूपमा तथा खुशीयाली मनाइ दिदीबहिनीलाई उपहार दिने आदि विविध रूपमा यो पर्व मनाउने चलन थारू समुदायमा रही आएको छ ।
माघ महिनाको दोस्रो दिनलाई थारूहरू माघि डेवानी भन्छन् । यो दिन गाउँका भल्मन्सा अथवा बरघरको घरमा भेला भएर वर्षदिन गरिएका क्रियाकलापहरूको समिक्षा गर्ने, गाउको सामूहिक कामको आयव्यय विवरण सार्वजनिक गर्ने र नयाँ बरघर छनौट गर्ने परम्परा छ ।
थरूहट क्यालेण्डर प्रकाशित
यसैबीच नेपालमै पहिलोपटक थारु कल्याणकारिणी सभाले थारु समुदायको मौलिकता झल्कने ‘थरुहट’ नामक क्यालेन्डर पनि प्रकाशनमा ल्याएको छ ।
कल्याणकारिणी सभाले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर क्यालेन्डर सार्वजनिक गरेको हो । माघ १ गतेबाट नयाँ वर्षको रुपमा राखिएको सो क्यालेन्डरमा थारू समुदायले मनाउने पर्वलाई उल्लेख गरिएको छ । थारु समुदायको पर्व र अन्य कुराबारे आमजनसमुदायलाई जानकारी हुने अध्यक्ष चौधरीले बताए । थारू संवत कति चलिरहेको छ, भनेर एकीन हुन नसकेकाले अर्को वर्षदेखि थारू संवतलाई पनि क्यालेण्डरमा समावेश गरिने चौधरीले बताए । सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष चौधरीले थारू भाषामा तराई क्षेत्रलाई ‘थरूहट’ भन्ने प्रचलन रहेकोले क्यालेण्डरको नाम पनि ‘थरूहट’ राखिएको बताए । उनले यसलाई राजनीतिसँग नजोडन आग्रह गरे ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।