Monday, March 3, 2014

मृत्यु सामुन्ने थियो

कर्णबहादुर बुढा 

डुंगा दुर्घटनामा परेर पनि भाग्यले बाँचे


यहाँका बासिन्दाहरु औषधी उपचार, मजदुरी, किनमेल र आफ्नो उत्पादन बिक्रीका लागि बेलराया जाने गर्छन्।
हाम्रो गाउँबाट नजिकैको भजनी बजार जानु भन्दा भारतीय बजार बेलराया जानु नजिक छ। त्यसैले पनि हामीलाई बेलराया जान सजिलो हुन्छ। म पनि घरायसीका कामका लागि भारतीय शहर बेलराया गएको थिए। साँझ घर फर्किदै थिए। म जस्तै घर फर्किनेको संख्या धेरै थियो।
डुंगामा धेरै मानिस चढिसकेका थिए। डुंगामा धेरै मान्छे चढेको भन्दै कोही डुंगामा नचढेर नदी किनारमै थिए। मैले डुंगामा धेरै मानिस नराख्न भने। उल्टै डुंगा सञ्चालकले हप्कायो। एकजना डुंगा चालकले मेरो कुरामा समर्थन गर्‍यो। डुंगा सञ्चालकले उसलाई तिमी थाकेका छौ भन्दै अर्कोलाई डुंगा चलाउन लगायो।
डुंगा चलाउने व्यक्तिले मदिरा सेवन गरेका थिए। केही दिनदेखि परेको वर्षाले नदीमा पानीको सतह पनि बढेको थियो। तर वर्षाको भेलमा पनि हामीले ओहोर दोहोर गर्ने यही डुंगा हो। डुंगा चालकले मदिरा सेवन गरेका कारण मनमा डर त लागेको थियो तर यति ठूलो दुर्घटना होला भन्ने सोचेको थिएन। डुंगामा प्वाल परेका कारण डुंगा भित्र पानी समेत जमेको थियो।
नदी किनारबाट डुंगा चल्ने बित्तिकै पानी डुंगा माथिबाट भित्र छिर्‍यो। मैले डुंगा दक्षिणतर्फ फर्काउन भने तर डुंगा सञ्चालकले मानेन। उसले डुंगा चालकलाई छिटो छिटो चलाउन निर्देशन दियो। नदीको मध्य भागमा पुगेपछि डुंगा लगभग चुर्लुम्म डुबिसकेको थियो। डुंगा डुब्दै गर्दा मलाई केही ध्यान भएन। एउटी महिला सानो बालकलाई दूध चुसाउँदै थिईन। हामी सबै नदीमा खस्यौ। कोही पौडिएर जोगिए। म पौडिन खोजे तर मलाई एउटा व्यक्तिले पहाडीबाट समात्यो र म पौडिन सकेन। मैले उनलाई फर्केर जोगाउन त के हेर्न समेत सकेन किनकी मैले आफै बाँच्नु थियो।
२/४ पटक तलमाथि भएपछि मैले पानी खाईसकेको थिए। मेरो आँखा अघि मृत्यु थियो। मैले गंगामातालाई पूकारे। सायद गंगामाताले सुनिन् क्यारे मेरो अघि एउटा मान्छे पौडिदै आयो। उसले मलाई हात दियो। मैले उसको हात समाते। त्यत्तिञ्जेल मलाई पहाडीबाट समात्ने व्यक्तिले छोडिसकेको थियो। म त्यो हात दिने मान्छेको सहयोगमा पौडिन थाले। नदीको दक्षिण (भारत) तर्फ किनारमा पुगेपछि बल्ल बाँचे जस्तो लाग्यो। हामी केही व्यक्ति निथ्रुक्क भिजेका थियौ। केही तल अर्को डुंगा सञ्चालन हुन्छ। हामी त्यहाँ गयौं तर भारतीय सीमा सुरक्षा बलले डुंगा चल्न नदिने भनेपछि हामी नेपालतर्फ आउन सकेनौ।
हाम्रै गाउँको एकजना युवती भारतको त्यस गाउँमा विवाह गरेर गएकी छन्। उनकै घरमा गयौ। घटनाका बारेमा जानकारी दिएपछि उनले खाने बस्ने बन्दोबस्त गरिदिईन। खान मन पटक्कै थिएन। तर उनले सबै बन्दोबस्त गरेर साह्रै कर गरेपछि खाना पकाएर खायौं। त्यतिञ्जेलसम्म मैले घरमा खबर गरिसकेको थिए। भोलि बिहान (आईतबार) म अर्को जन्म लिएर आफ्नो घर फर्किए। मेरो घरपरिवारका सबैजना खुशी भए।
तर केही व्यक्तिको मृत्यु भएको र केही व्यक्ति अझै बेपत्ता रहेको भन्ने खबरले मलाई दुःखी बनाएको छ। मैले नदीमा डुब्दै गर्दा मेरो पछाडीबाट समात्ने ती व्यक्तिलाई बचाउन नसकेकोमा साह्रै आत्मग्लानी भैरहेको छ। सायद मैले प्रयास गरेको भए तिनको ज्यान बचाउन सक्थे कि? भन्ने लागेको छ। तर के गर्नु मृत्यु सामुन्नेमा हुँदा आफू मात्रै बाँच्ने चाहना हुँदो रहेछ।
(बुढासँगको योगेश रावलले गरेको कुराकानीमा आधारित)

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।