Tuesday, August 19, 2014

कैलालीमा पूर्व सूचनाले मानवीय क्षति कम

योगेश रावल कैलाली, साउन ३१ 


जिल्ला दैवीप्रकोप उद्दार समिति कैलालीको बैठक आज धनगढीमा सम्पन्न भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकको अध्यक्षतामा बसेको बैठकले तत्काल बाढी पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको छ। 
 
बैठकले राहत संकलनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई आग्रह गरेको छ। 
 
बैठकले बाढी पीडितहरु बसेको शिविरमा औषधी सहित स्वास्थ्यकर्मी परिचालन गर्न समेत जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ। 
 
रेडक्रस कैलालीले १ नगरपालिकाका साथै १५ वटा गाविसमा २ हजार ६ सय १४ घरपरिवार बाढीबाट प्रभावित भएको जनाएको छ। जसमध्ये १ हजार ७ सय ४५ घरपरिवार विस्थापित भएका छन्। 
 
रेडक्रसका अनुसार ३ सय ८० घरपरिवार विभिन्न स्थानमा शिविर खडा गरेर बसेका छन् भने अन्य आफन्तका घर लगायतका स्थानमा बस्दै आएका छन्। 
 
स्थानीयका अनुसार यो वर्ष कर्णाली नदीमा ३० वर्षपछिकै ठूलो बाढी आएको हो। यसअघि २०४० सालमा सबैभन्दा ठूलो बाढी आएको थियो। यस वर्ष नदीमा सतहभन्दा १६ मिटर माथि पानी आएको थियो। 
 
बाढी पूर्व सूचना प्रणालीका कारण यस वर्ष मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी वेदप्रकास लेखकले जानकारी दिएका छन्। 
 
उनले बाढी आउनु अगावै समुदायमा भएको पूर्व जानकारी र तयारीका कारण मानवीय क्षती नभएको बताए। 
 
विगत वर्षहरुमा आएका बाढीमा मानवीय क्षती भएपनि यसपालीको बाढीबाट त्यस्तो दुखद् अवस्था नआएको प्रमुख जिल्ला अधिकारी लेखकको भनाई छ। 
 
उनले भने–'समुदायका मानिसहरु पहिले नै सुरक्षित स्थानमा सरेकाले मानवीय क्षती भएन।'
 
२०६४ सालमा आएको बाढीमा कैलालीमा मात्रै सबैभन्दा बढि २६ जनाको ज्यान गएको थियो। रेडक्रस कैलालीका मन्त्री लोकराज जोशीले त्यसबेला भएको ठूलो जनधनको क्षतीपछि जिल्लामा विभिन्न निकायले पूर्व तयारीबारे समुदायमा जनचेतनाका कार्यक्रमलाई व्यापक बनाएका थिए। 
 
गतसाल भदौ ४ गते आएको बाढीमा एक जनाले मात्रै ज्यान गुमाएका थिए।
 
'मानिसहरुमा पूर्व तयारीको ज्ञानसंगै पछिल्ला वर्षमा आएको बाढीकारण मानवीय क्षतीमा कमि आउँदै गएको देखिन्छ' मन्त्री जोशीले बताए। 
 
प्रहरीका अनुसार जिल्लामा आएको बाढी विस्तारै घट्ने क्रममा रहेको छ। जिल्लाका कान्द्रा, काँडा र मोहना लगायतका नदीहरुमा समेत पानीको सतह घटेको छ। 
 
कर्णाली नदीमा पानीको बहाव आज दिउसोसम्म ९ मिटरमा झरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनराज जोशीले जानकारी दिएका छन्। 
 
नदीमा पानीको सतह घट्दै गएपछि केही बाढी प्रभावित क्षेत्रका बासिन्दाहरु घर फर्किन थालेका छन्। उनीहरुले घरमा रहेका खाद्यान्न बगेका कारण भोकै बस्नु परेको बताएका छन्। 
 
जिल्ला दैवी प्रकोप उद्दार समिति कैलालीले बाढी प्रभावित क्षेत्रमा राहत सामाग्री पुर्‍याएको बताए पनि बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुले राहत सामाग्री नपाएको गुनासो गरेका छन्। 
 
यसैबीच, रोटरी क्लब अफ धनगढीले करिब तीन लाख रुपैयाँ बराबरको सेल्टर बक्स सहितको गैरखाद्य सामग्री र पाँच बोरा चिउरा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको छ। 
क्लबका अध्यक्ष डाक्टर गणेशबहादुर सिंहले समितिलाई राहत सामग्री हस्तान्तरण गरेका छन्। 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।