Saturday, February 23, 2013

महिला हिंसा आक्रान्त सुदूरपश्चिम

      rape victim बाजुरामा श्रीमान्लाई 'रक्सी नखानुस्' भनेर सम्झाउन खोज्दा सदरमुकाम मार्तडीको बाउली गाउँकी २५ वर्षीया पार्वती कुँवरले उल्टै चुल्होमा उम्लँदै गरेको तातोपानी थाप्नुपर्‍यो । उनी अस्पतालको शय्याबाट अझै बाहिरिएकी छैनन् ।
        घटनालगत्तै प्रहरीले पार्वतीका श्रीमान् छिरिङलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएपछि श्रीमान् पक्षीयले मेलमिलाप गराउन निक्कै दबाब दिए । तर पार्वतीले मानिनन् । 'आफ्नै श्रीमान् भए पनि ज्यान लिन खोज्नेलाई कारबाही गराएरै छाड्ने अडान लिएँ,' पार्वतीले भनिन् । प्रहरीले हाल छिरिङविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योग मुद्दा दायर गरेको छ । घरेलु हिंसाकै कारण बाजुरामा दुई महिलाले ज्यान गुमाए । गएको असोज १९ गते कुल्देवमाडौंको बेलकाटियाकी ३४ वषर्ीया पारुदेवी पाध्यायलाई श्रीमान् प्रभुराजले धारिलो हतियार प्रयोग गरी हत्या गरे । असोज अन्तिम साता मानाकोट गाविस ८ की ४५ वर्षीया धनकला रोकायालाई पति चतुरेले हत्या गरी गाउँ नजिकैको खोला किनारमा गाडेको अवस्थामा प्रहरीले शव उत्खनन गरेको थियो ।
       पछिल्लो समय हिंसापीडित महिला आफू अन्यायमा परेको सार्वजनिक गर्न थालेका छन् । जिल्ला प्रहरीमा विगतका वर्षको तुलनामा उजुरकर्ता बढेको प्रहरी अधिकारीहरूले बताए । 'बहुविवाह, बलात्कार, कुटपिटजस्ता घटना प्रहरीमा आउन थालेका छन्,' प्रहरी निरीक्षक प्रेम खड्काले भने ।हरेक तेस्रो दिन आउने आत्महत्याका घटनाले डडेलधुराका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईं अचम्मित छन् । 'ज्युँदै जलाएर मारेका घटनाभन्दा दिनहुँ मर्नु परेका घटना बढी पीडादायी छन्,' प्रसाइर्ंको कथन थियो, 'हरेक आत्महत्याका घटनामा परिवारको हिंसा प्रमुख कारण देखिन्छ ।' अघिल्लो वर्षको तुलनामा यो मंसिरसम्म ४ सय गुनाले आत्महत्या वृद्धि भएको छ ।         'डडेलधुरा र बैतडीमा प्रकाशमा आएका आत्महत्याका ९० प्रतिशत घटना परिवारका कारण भएको देखिन्छ,' सामाजिक अभियन्ता तथा शिक्षक नवराज मडैले भने, 'प्रहरीसामु नपुगेका घटनाको गणना गर्ने हो भने कहालीलाग्दो अवस्था छ ।' हिंसाका आत्महत्या नगरेपछि हत्याका घटना हुने गरेका छन्, बैतडीकी अधिकारकर्मी कृष्णा बिष्टले भनिन्, मर्न बाध्य बनाउने नमरेपछि हत्या गर्ने प्रवृत्ति बढेको हो । 'चेतना र पहुँच भएकी महिला हिंसा सहन नसकी सम्बन्ध विच्छेद गर्ने र अरूले आत्महत्या या हत्याको सिकार हुनुपर्ने बाध्यता नै छ,' कानुनी सहायता परियोजना डडेलधुराका प्रमुख नरेन्द्र रोकायाले भने, 'सम्बन्धविच्छेद गर्नेको निकै ठूलो संख्याले पनि घरेलु हिंसाको स्वरूपलाई दर्साउँछ ।' कानुनी सहायता परियोजनामा मात्र पारपाचुकेका ६० भन्दा बढी मुद्दा छन् । प्रायः हरेक मुद्दामा परिवारको हिंसा सहन नसकी पारपाचुके गर्न लागेको उल्लेख छ ।
      केही दिनअघि मात्रै न्वादेउ ५ की २२ वर्षीया कलशा पार्कीलाई श्रीमान् गणेश र छिमेकी हरि विकले स्थानीय करनसिंह बोहरालाई एक लाख रुपैयाँमा बिक्री गरे । कलशा अहिले कहाँ छिन् कसैलाई थाहा छैन । 'हिंसाको अर्को रूप महिला बेचबिखनले सीमा क्षेत्रमा ठाउँ पाएको छ,' अधिकारकर्मी बिष्ट भन्छिन्, 'दुई वर्षयता महिला बेचबिखन हुनु सामान्यजस्तो भइसकेको छ ।' सुदूरपश्चिमका दुर्गम पहाडी भेगमा घरेलु हिंसाका घटना बढ्दै गएको अवस्थामा सुगम मानिने तराईको कैलाली र कञ्चनपुरमा पनि यस्ता घटनामा कमी आएको छैन । कैलालीमा औसत हरेक दुई दिनमा महिला हिंसासम्बन्धी घटना हुने गरेको तथ्यांकले देखाएको छ । साढे पाँच महिनायताको एक तथ्यांकअनुसार जिल्लामा महिला प्रताडित हुने घटना हरेक दुई दिनमा हुने गरेको छ । आव ०६९ को साउनदेखि पुस १५ सम्म महिला प्रत्याडितका ८५ घटना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी ५६ महिला घरेलु हिंसाबाट पीडित छन् । यस अवधिमा २ किशोरी बलात्कारको सिकार भए । उनीहरूले अहिलेसम्म न्याय पाएका छैनन् ।
      कञ्चनपुरमा पनि यो वर्ष महिला हिंसाकै कारण आत्महत्याका घटना बढेका छन् । जिल्ला प्रहरीको तथ्यांकअनुसार अघिल्लो आवमा १ सय २० जनाले आत्महत्या गरेका थिए । जसमध्ये ६७ महिला छन् । प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार यो वर्ष साउनयता ६ महिनाको अवधिमा ५४ जनाले आत्महत्या गरेका छन् । 'दिनहुँ घरभित्र हुने कुटपिट र दुव्र्यवहार सहन नसकी दिनचर्या नै असुरक्षित हुन थालेपछि महिला आत्महत्या गर्न बाध्य पारिएका हुन्,' कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याक कञ्चनपुरकी अध्यक्ष पुनम चन्दले भनिन् । उनका अनुसार महिलालाई आफन्तले नै मारेर झुन्ड्याएको भए पनि आत्महत्या गरेको बताइने गरिएको छ । 'श्रीमान्हरूबाट लगाइने चारित्रिक शंका उपशंका, दाइजो, छोरी मात्र जन्माएको जस्ता कुराबाट पनि महिलाहरू विवश भएर आत्महत्या गर्न बाध्य छन्,' उनले भनिन् । (कान्तिपुर अनलाइनबाट)

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।