Saturday, February 23, 2013

रिक्सा चलाएर क्याम्पस सरर



birju 2सेतो सर्ट, दुई वर्ष तीन महिना भो । चिसोले होला, त्यसको भित्रतिर उही समयको निलो, स्कुले पोशाकको सर्ट छ, जुन बाढी पीडित हुँदा सित्तैमा मिलेको हो, उपहार । दुई सर्टको भित्रतिर सेतो टि–सर्ट, चार वर्ष अघि एसएलसी परीक्षा दिदाताको । कालो पैन्ट, उही सेतो सर्ट जत्तिकै नयाँ । दुई वर्ष अघि १२० रुपैयाँमा किनेको लखानी चप्पल । अनि चम्किलो, खाइलाग्दो हसमुख अनुहारको युवक ।
मान्छेको झै लुगाकपडाको उमेर पनि अनुमान गर्न सक्नुहुन्छ भने यो पहिरनमा रिक्सा चलाउदै महेन्द्रनगर–धनगढी बजारमा भेटिएका युवक बिर्जु कुमार चौधरी भनेर ठम्याउदा हुन्छ । उही पहिरनको युवक सिद्धनाथ बहुमुखी क्याम्पसको स्नातक दोस्रो वर्षको कक्षामा भेट्नु भो भने अलमलमा नपर्नु होला, उनी उही बिर्जु कुमार चौधरी नै हुन । अलिकति पहिरनमा फरक हुन्छ, रिक्सा चलाउदा भित्र लगाएको सर्ट क्याम्पसमा बाहिरतिर पर्छ । ‘क्याम्पस जादा कम कम नयाँ सर्ट भित्र लगाउछु, बढि नयाँ बाहिर लगाउछु’ चिसो छल्न दुई सर्ट र तेस्रो टि–सर्ट लगाएका बिर्जु कुमार पुरानोभन्दा नयाँ शब्द नै प्रयोग गर्छन ‘रिक्सा चलाउदा कम कम नयाँ सर्ट बाहिर लगाउछु, बढी नयाँ सर्ट भित्र लगाउछु ।’ 
त्यही दुई जोड सर्टलाई भित्रबाहिर गरेर २२ वर्षीय बिर्जु कुमार बिहान–बेलुका रिक्सामा यात्रुहरुलाई हुइकाउँछन र दिउसो क्याम्पस हुइकिन्छन् । ‘अंग्रेजी र ग्रामिण विकास’का विद्यार्थी उनी उही दुई वर्ष अघिको चप्पल फट्काउदै कक्षा कोठामा पुग्छन् र मस्तसँग पढ्छन् । पुष–माघको महिना, तराईको चिसोले मुटु नै थरथराउछ तर उनको मुटु भने दह्रो छ, उनी जत्तिकै । न चिसोले थरथराउछ न त गरिबी र अभावले नै । त्यसैले त पढाइमा पनि अब्बल छन् । कालोपाटी बोकेर स्कुल हिडेको १४ वर्ष भो, अनुत्तिर्ण भएका छैनन् । प्रत्येक वर्ष नयाँ कक्षा पाएपनि नयाँ लुगा भने पाउने गरेका छैनन । birju‘एउटा नयाँ नयाँ जस्तो सर्ट छ । बुट्टेदार छ’ चाडपर्व, बिहे, ब्रतबन्धमा लगाउने सर्टको कुरा निकाल्दै उनले भने ‘एसएलसी दिएर काम गर्न भारत गएको थिए । भारतबाट किनेको हुँ ।’ उनले २२ वटा हिउद काटिसके तर नयाँ जकेट र स्वीटर देखेका छैनन । बुवा, दाजुको पुरानो स्वीटर त लगाएका छन तर जकेट भने पुरानो पनि लगाएका छैनन । पत्याउन गाह्रो लाग्ला, स्नातक दोस्रो वर्षका विद्यार्थी बिर्जु कुमारले जुत्ता लगाएका छैनन । ‘साँच्चै भन्दैछु, अहिलेसम्म जुत्ता लगाएको छैन’ चर्किएको दायाँ कुर्कुच्चो छाम्दै बोले ‘दाईको जुत्ता छ । छ वर्ष अघि दाइले बिहेमा किनेको हो । आजभोली लगाउनु हुन्न । अस्ति घरबाट आउदा ल्याएको छु, अब त्यो जुत्ता लगाउछु ।’
कञ्चनपुरको शंकरपुर गाविस–६ बल्मीमा एउटा सानो घर छ । आमाबुवा, दाईभाउजु, भाइबहिनी गरी दश जनाको परिवार छ । जमिन त छ, तर वर्षभरी खान पुग्दैन । आम्दानीको स्रोत पनि त छैन । आमाबुवा, दाजुभाउजुलाई लेखपढ गर्न पनि आउदैन । दाइ सुन्दरलालको मजदुरीमा निर्भर परिवार गत तीन वर्षदेखि भने अझ संकटमा परेको छ । ‘दाई विरामी हुनुहुन्छ, काम गर्न सक्नु हुन्न’ बिर्जु कुमारले पारिवारिक कुरा खोले ‘मानसिक रोगी हुनुहुन्छ, आमा पनि त्यस्तै छन् ।’ आफू लेखपढ गर्न नजान्ने भएपनि सुन्दरलालले बिर्जुलाई स्कुल पढाए । गाउँकै सरस्वती उच्च माविबाट राम्रो नम्बर लिएर एसएलसी उत्तीर्ण गरे । त्यसपछि सिद्धनाथ बहुमुखी क्याम्पस भर्ना भए । क्याम्पसको छात्रवासमा बस्दै पढ्दैथिए, दाई विरामी भए आमाजस्तै । पैसा थिएन, उपचार गरिएन । आयस्रोत बन्द भो । पढाइ छोड्नु पर्ने भयो उनले ।‘पढाइ छोडिन्’ बिर्जु कुमार बिस्तारै बोले ‘बरु रिक्सा चलाउन थाले ।’ उनले जानेको काम त्यही थियो । रिक्सा चलाउन पनि उनलाई कम सकस भएन् । आफ्नो रिक्सा थिएन, महेन्द्रनगर बजारका रिक्सा साहु कसैले पत्याएनन् । ‘कसैले पनि भाडामा रिक्सा दिएनन’ उनले अलिकति गुनासो गरे ‘महेन्द्रनगरकै जमानत बस्ने मान्छे ल्याऊ भन्न थाले ।’ उनीसँग जमानत बस्ने मान्छे पनि भएनन् । उनले हरेस खाएनन् । सिद्धनाथ बहुमुखी क्याम्पसले दिएको विद्यार्थी परिचय पत्र देखाए । यातायातका साधन चढ्दा पो विद्यार्थी परिचय पत्रले छुट पाइन्थ्यो तर यातायातका साधन चलाउनुमा कहाँ छुट पाउनु ? झन रिक्सामा त छुट छदैथिएन । ‘छुट खोजेको होइन, यो विद्यार्थीको कार्ड राख्नुस मलाई रिक्सा भाडामा दिनुस’ उनले रिक्सा साहुलाई विश्वास दिलाउन खोजे ‘म रिक्सा लगेर भाग्दैन । भागिहाले भने पनि यो कार्डको आधारमा कारवाही गराउनु होला ।’ दर्जनजति रिक्सा पसल धाएपछि जिल्ला प्रहरी कार्यालय नजिको भिम रिक्सा पसलले उनको सर्त मान्यो । र विद्यार्थी परिचय पत्र जमानत राखेर भाडामा रिक्सा चलाउन थाले उनी । अहिले पनि बिहान स्नातक दोस्रो वर्ष लेखिएको विद्यार्थीको परिचय पत्र जमानतमा राख्छन र दिनभरी रिक्सा चलाएर साँझ रिक्सासँगै भाडा बुझाउदा परिचयपत्र फिर्ता पाउँछन् ।
दुई वर्ष अघि सिद्धनाथ बहुमुखी क्याम्पसबाट कक्षा १२ उत्तीर्ण गर्ने थोरै विद्यार्थी मध्ये उनी पनि परे । स्नातक पहिलो वर्षमा भर्ना भए । त्यसपछि भने रिक्सा चलाउन ‘लाज’ लाग्न थाल्यो । ‘सबै चिनेजानेकै देखिन थाले, गाह्रो लाग्यो’ यति बोल्दा भने उनी जलाएनन् । र उनी चिनजान नभएको महेन्द्रनगरबाट ६० किलोमिटर टाढाको शहर धनगढी हानिए । ‘धनगढीमा आनन्दले चलाए, भाडा बुझाएर दुई सय, तीन सय कमाइन्थ्यो’ बिर्जु कुमारले भने । क्याम्पस पनि पढ्नु, त्यति टाढा रिक्सा चलाउनु गाह्रो हुन थाल्यो । ‘जसले जे भने पनि सहुला’ भन्दै महेन्द्रनगर नै फर्किए उनी । रिक्सा चलाउदा क्याम्पस जान नसकिने, क्याम्पस जादा पैसा नआउने, भोकै बस्नु पर्ने । उनका साथीहरु क्याम्पस, टिउसन, कोचिङ्ग कक्षाको समय मिलाउदा उनले क्याम्पस र रिक्सा चलाउने समय मिलाए । ‘फस्ट इयरमा धेरै दिन क्याम्पस जान सकिन’ उनी पछुताउदैनन् ‘कहिले काँही क्याम्पस गएर पनि पढाइ गरे ।’बिहान बेलुका रिक्सा, दिउसो क्याम्पस । उही एकसरो लुगा, तुना खिइदै गरेको चप्पल, दुःखजिलो जीवन । क्याम्पस जीवनको झल्को पाउन नै गाह्रो । तैपनि कलेजका विद्यार्थीको चिनारी मध्ये एउटा लक्षण उनमा पनि देख्न सकिन्छ, पैन्टको पछाडीको खल्तीमा एउटा कापी कोचेका हुन्छन किनकी पैसा नभएर किताब किनेका छैनन । ‘छैन, अहिलेसम्म किताब किनेको छैन’ बिर्जु कुमार हातका औला चलाउदै बोले ‘क्याम्पसको लाइब्रेरीबाट किताब ल्याउछु, राती राती नोट बनाउछु । त्यही पढ्छु ।’ उनले स्नातक पहिलो वर्षमा पनि किताब किन्न सकेनन् । त्यही क्याम्पसको पुस्तकालयबाट पाउने दुई किताबले नोट बनाउदै पढाइको भोक मेटाइए र मेटाइरहेका छन । किताब समेत किन्न नसक्ने उनीसँग गाइड, गेसपेपर हुने त कुरै भएन् । 
अनि अर्को कुरा, उनी कहिल्यै छात्रवृत्ति पनि पाउदैनन् । किनकी उनी न विद्यार्थी संगठनहरुको सदस्य छन न त क्याम्पसका कर्मचारी, प्राध्यापक, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरुका नातेदार नै पर्छन । शैक्षिक क्षेत्रसँग सम्बद्ध सरकारी तथा गैर सरकारी संघ संस्थाको कुरा त छोड्यौं उनले पढ्ने सिद्धनाथ बहुमुखी क्याम्पसले समेत २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । तर चार वर्षसम्म बिर्जु कुमार त्यो २५ प्रतिशत विद्यार्थी भित्र परेका छैनन् । ‘अहिलेसम्म छात्रवृत्ति पाएको छैन’ नपाउनुको कारण अनुमान लगाउदै उनी बोले ‘हस्टिलमा बसेको छ भनेर नदिएका होलान ।’ तैपनि उनलाई कुनै गुनासो छैन किनकी पहिलो वर्षको दोस्रो किस्ताको पढाइ शुल्क अहिलेसम्म बुझाउन नसक्दा पनि क्याम्पसले सताएको छैन । दोस्रो वर्षको शुल्क तिर्नु त बाँकी छदैछ । 
फुर्सदिला र व्यस्त मान्छेहरुको जमघट कलेज नै हो । उनी के गर्दा हुन ? कक्षामा त कसैसँग बोल्दैनन घण्टी लाग्दा पनि एक्ला हुन्छन् । उनका केटा–केटी साथीहरु अंगालो हालेर छेउछाउतिर लाग्दा उनी पुस्तकालयतिर मोडिन्छन् । ‘सरले पढाउन्जेल कक्षामा हुन्छु, त्यसपछि लाइब्रेरीमा जान्छु’ उनले साथीभाइहरुसँग हिमचिम नगर्नेको सुनाए । उनका क्याम्पसे साथीहरु झुण्ड बनाएर मोजमस्ती गरिरहदा उनी पुस्तकालयमा एक्लै टोलाइरहन्छन् । क्याम्पसमा एक्लै टोलाउदा के सोच्दा हुन ? ‘राम्रो राम्रो लुगा लगाऔं, राम्रो राम्रो खाऔं, रमाइलो गरेर बसौं भन्ने त कसले सोच्दैन होला ?’ बिर्जु कुमार गम्भीर हुदै बोले ‘पहिले पहिले लाग्थ्यो अब मलाई कन्ट्रोल गरिसके । त्यस्तो सोच्दिन ।’ अल्लारे उमेर, कलेजको चहल पहल, जस्तो देख्यो त्यस्तै गर्न छिनछिनमै फेरिन मान्छेको मन । साँच्चै उनको मन एकनास रहन्छन त ? ‘भित्रैबाट त्यस्तै लाग्छ भनौ की मनै त्यस्तो बनाएको छु भनौं’ केहीबेर गम्दै बिर्जु कुमार बोले ‘मनलाई कठोर नबनाएर पनि नहुदोरहेछ । कठोर बनाएको छु भनौं ।’
आखिर किन उनी यति दुःख झेलेर क्याम्पस पढ्दा हुन ? ‘कहिले काँही त छोडौ छोडौं लाग्छ’ बिर्जु कुमारले दुःख गरेर पढ्नुको कारण सुनाए ‘मेरा गाउँलेहरु ममाथि विश्वास गर्छन । मैले पढ्न छोडे भने गाउँलेप्रति विश्वास घात हुन्छ । उनीहरुको विश्वास मर्छ, धोका हुन्छ ।’ शंकरपुर गाविस–६ बल्मीमा थारु समुदायका २२ परिवार बस्छन् । त्यो सानो गाउँमा बिर्जु कुमार भन्दा जेठो लेखपढ गर्ने कोही छैनन् । अघिल्लो पुस्ता निरक्षर छ । उनी पछिका गाउँले भाइबहिनीहरु स्कुल जान्छन् । दुई जना ११ मा पढ्छन चार जना एसएलसी दिने तयारीमा छन र स–साना भाइबहिनी त्यो भन्दा तलका कक्षामा पढ्छन् । दुःख गरेर पनि लेखपढ गरेको मान्छे सबै गाउँलेले पत्याउछन् । बिहे, ब्रतबन्ध, चाडपर्व वा गाउँमा हुने हरेक कामका लागि सबैले उनलाई नै सहारा ठान्छन् । केही काम गर्न अघि पनि लेखपढ गरेको मान्छे भनेर सबै गाउँले सोध्छन् । उनी बल्मी गाउँका आइकन हुन । छोराछोरीलाई स्कुल पढ्न र राम्रो मान्छे बन्न सम्झाउदा गाउँलेहरुलाई संसारका ठूल–ठूला मान्छेको नाम आउदैन, उही बिर्जु कुमारलाई देखाउछन् । 
‘कोही पढ्दैन्थे, मैले पढ्न थालेपछि भाइबहिनी पनि पढ्न थालेका छन । गाउँमा बिर्जु जस्तै पढ्नुपर्छ भन्छन’ बिर्जु कुमार आत्मविश्वासी भएर बोले ‘मैले छोड्यो भने अरु पनि छोड्ने हुन । पढेर केही हुने रहेन्छ भन्ने सोच्ने हुन ।’ उनलाई लाग्छ, उनको आफ्नो लागि जति पढेका छन त्यो पनि धेरै छ । अब नपढे पनि आफ्नो जीवन राम्रोसँग चलाउन सक्छन् तरआफ्नो गाउँ र गाउँलेहरुका लागि भने अझै पढ्नु छ । त्यसैले त रिक्सा चलाएर भएपनि क्याम्पस पढ्दैछन बिर्जु कुमार । -बच्चु विक

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।