डडेलधुरा, वैशाख १७ - सुदूरपश्चिमका सातवटा पहाडी जिल्लाको मुख्य अस्पतालका अधिकांश स्वास्थ्य उपकरणहरु एचडीसीएस नामक गैरसरकारी संस्थाका कर्मचारीले अनधिकृत रुपमा अस्पताल बन्द गरी चोरी निकासी गरेका छन् ।
सरकारले अस्पताल सञ्चालन स्वीकृतिको म्याद नथपेपछि चालिस बर्ष देखि डडेलधुरामा संचालित टीम अस्पतालका अधिकांश उपकरणहरु उक्त संस्थाले रातारात अन्यत्र सारेको हो । उक्त गैरसरकारी संस्थाका कार्यकारी प्रमुख डा. तिर्थबहादुर थापा हुन् ।
‘अस्पतालमा रहेको ५० लाख भन्दा बढी मूल्यको अत्याधुनिक ईण्डोस्कोपी मेसिन बझांगको बित्थड पुगाइएको छ’ अस्पतालका एक कर्मचारीले भने, ‘यस अघि नै अन्य उपकरण पनि अस्पतालबाट निकालेर अन्यत्र नै राखिएको छ ।' ति कर्मचारीका अनुसार अस्पतालबाट उपकरणहरु लैजांदा प्रशासनलाई टेलीफोनबाट जानकारी गराएका थिए ।
सरकारले उपक्षेत्रीय अस्पताल बनाउने निर्णय गरेपनि अस्पतालको भवन बाहेक अरु कामलाग्ने अस्पतालका सामाग्री बाँकी नभएको कार्यरत कर्मचारीहरुले बताएका छन् ।
लामो सयमसम्म टीम नेपाल नामक अन्तर्राष्ट्रिय मिसनले संचालन गरेको उक्त अस्पतालमा सुबिधा सम्पन्न अस्पतालमा समेत नभएका बिदेशी उपकरणहरु थिए । अस्पताल सरकारले जिम्मा लिएको केही दिनपछि लिइएको लगतमा समेत ति उपकरणहरु उल्लेख नभएको जानकारी अस्पतालका कर्मचारीहरुले नै दिएका छन् । प्रमुख जिल्ला अधिकारीको पनि मिलोमतो रहेकाले आवश्यक उपकरण बाहिरी सकेको राजनैतिक दलका नेताहरुले आरोप लगाएका छन् ।
‘प्रजिअको पनि अस्पतालबाट सामान गायव हुनुमा मिलोमतो भएको आशंका छ’ कांग्रेसका नगर सभापति दुर्लभ झुकालले भने, ‘अस्पताल सरकारको जिम्मा आएपछि सुरक्षा गर्ने दायित्व बोकेकाले कुनै चासो नराखेका कारण अस्पतालका सामग्री चोरी भएका हुन् ।’
‘चोरी भएका सामग्रीको खोजी भईरहेकोछ’ डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने । उनले सोमवार देखि अस्पताल परिसरमा चौबिस घण्टा प्रहरी सुरक्षा खटाईको पनि बताए । 'सरकारी टोलीले सबै सामग्रीको लगत समेत राखेको छ’ उनले भने, ‘अस्पतालबाट प्रशासनको जानकारी बिना अव कुनै पनि सामग्री बाहरी जान सक्दैन् ।’
यस बिषयमा हालसम्म अस्पताल संचालन गरिरहेको संस्थाका डडेलधुरा स्थित प्रतिनीधीहरुले कुनै पनि प्रतिक्रिया दिन चाहेका छैनन् ।
courtesy: kantipur
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।