चार्टर्ड एकाउन्टेन्ट (सीए)की अब्बल विद्यार्थी चटक्क पढाइ छोडेर दिल्लीबाट अमेरिका हानिइन । ‘बरालिइन’ भनेकी उनलाई अमेरिकाले समाजसेवी बनाएको छ । पाँच वर्षपछि घर फर्किदा ‘मनैदेखि समाजसेवी’ बनेर आइन सुजाता बोहरा ।
‘जब भित्रैदेखि यो कुरा गर्नुपर्छ भन्ने लाग्छ, अनि गर्छु’ कुराकानीको सुरुवातमै सुजाता बोलिन् । कसले के भन्छ, उनलाई वास्ता हुदैन । त्यसैले उनले दुबईमा मृत्युदण्ड पाएका दार्चुलाका अमर बमको परिवारलाई सहयोग गर्न अमेरिकामा आफ्ना गरगहाना बिक्रीमा राखिन् । ‘सेल फर सोसिअल कज’ लेखिएको बोर्डसँगै अमेरिकाको सडक पेटीमा आफ्ना पुराना गरगहना बिछाइन् । ‘सेभ अमर क्याम्पियन’ लेखिएको बोर्डसँगै प्रवचन दिइन र आउने जाने बटुवाले उनले प्रयोग गरिसकेका गहना पनि खरिद गरि दिए । ‘अमरकी श्रीमतीका बारेमा सुन्दा मन पोल्यो, सहयोग गर्न पाए हुन्थ्यो भन्ने भयो’ उनले भनिन् ‘मसँग केही थिएन, पुराना गरगहना बेच्ने आइडिया आयो ।’
बिहे गरेको २६ औं दिनमा बैदेशिक रोजगारीका लागि दुबई गएका अमरलाई हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । मृत्यु कुरिरहेका अमरको परिवारको अवस्थाका बारेमा थाहा पाएपछि सुजातालाई सहयोग गर्न उकुसमुकस भयो र उनी गरगहना बेच्न पुगिन् । गरगहना र केही साथीहरुको सहयोगमा जुटाएको ५३ हजार ८ सय रुपैया पाउदा दार्चुलाबाट अमर बमकी पत्नि धनमती बमको फोन सुजाताका लागि अमेरिकामा असिमित सन्तुष्टि बोकेर आयो । ‘मैले गरेको सहयोग धेरै होइन’ सुजाता गम्भीर हुदै बोलिन् ‘अमरकी श्रीमतीले फोन गर्दा भने राम्रै काम गरेछु जस्तो लाग्यो ।’ अहिले अमर पनि दुबई कारागारबाट फोन गरिराख्छन सुजातालाई ।
आदर्श उच्च माविबाट वाणिज्य विषयमा सुदूरपश्चिम टप गर्दा उनलाई सीए पढ्ने नसा चढ्यो । वर्ष दिन भारतको दिल्लीमा सीएका कक्षाहरु धाउदा पनि उनले आफूलाई अब्बल विद्यार्थी सावित गरिन् । कडा परिश्रम, रातदिनको पढाइ उकुसमुकस बनायो । सोचिन् ‘सीए पढ्यो भने कम्पनीमा राम्रो जागिर त पाउँला । बिहान बेलुका घर परिवार, दिनभरी अफिस, व्यस्त जीन्दगी ।’ साघुरो, निरश जीवन लाग्यो र खुल्लापनमा रमाउन पढाई छोडेर अमेरिका उढिन् । क्यालिफोर्नियाको सेन फ्रेन्सिस्को स्टेट युनिभरसिटीमा सोसियोलजीकी विद्यार्थी बनिन् । वर्षदिन हुदैथियो, सोसियोजली पनि छोडेर ‘वुमेन एन्ड जनरल स्टडिज’तिर मोडिइन । वर्षदिनको अमेरिका बसाइले सोच्ने दायरा फराकिलो मात्र पारेन जीवनप्रति गम्भीर पनि बनायो उनलाई । ‘आफ्ना लागि त जसले पनि गर्छ, समाजका केही गर्नु पर्छ भन्ने लाग्यो’ सुजाताले सोचमग्न हुदै भनिन् ‘तर निस्वार्थ समाजसेवा गर्न गाह्रो छ ।’
महेन्द्रनगरदेखि दिल्ली हुदै क्यालिफोर्नियाको वर्षदिने बसाइसम्म सुजाताको साथी हुन्थ्यो कफि । जब उनी वुमेन एन्ड जरनल स्टडिज पढ्न थालिन् अनि कफि पिउन पनि छोडिन् । दैनिक कफि पिउदा हुने खर्च बचत गर्न थालिन् । र कफिको पैसा नेपाल पठाइन । जहाँ त्यो पैसाले स्कुले बालबालिकाले चार वर्षदेखि किताब, कपि, कलम किन्न थाले । स्कुलको शुल्क तिर्न थाले । ‘मसँग अतिरिक्त कमाइ छैन, केही काम गर्दा त्यही खर्च कटाउने हो’ कफि छोड्नुको रहस्य खोल्दै सुजाताले भनिन् ‘कफि नपिउदा पनि हुन्छ । कफिमा खर्च हुने पैसाले केही बालबालिकाले राम्रो शिक्षा पाइराखेका छन् ।’ उनले वर्षभरी कफिमा खर्च गर्ने पैसाले दुई जना बालिकाको वर्ष भरीको पढाई खर्च चलेको छ ।
कञ्चनपुरकै मुक्त कमैया परिवारकी अमिषा चौधरी र एकल आमाकी छोरी मनिषा ऐर राम्रो शिक्षा पाइरहेका छन् । दुबै बोर्डिङ्ग स्कुलमा पढ्छन् । अमिषा कक्षा २ मा पढ्छिन भने मनिषा ग्लोबल एकेडेमीको कक्षा ४ मा । आमाबुवासँगै बस्दै आएकी अमिषाको सबै खर्च सुजाताले नै व्यहोर्छिन भने मनिषालाई घरमै राखेर पठनपाठन गरिएको छ । ‘मम्मीले हेर्नु हुन्छ, मलाई जस्तै मनिषाको पनि
स्याहारसुसार गरिराख्नुभाको छ’ यतिबेला भने सुजाताको अनुहारमा एकल आमाकी छोरी हुनुको पीडा छचल्कियो । सुजाताकै आग्रहमा उनकी आमा जानकीले मनिषालाई घरमै राखेकी छन् । मनिषाका बुवाले दोस्रो बिहे गरेपछि उनकी आमा एक्लै बस्दै आएकी छन् ।
सपनाको देश अमेरिकामा सबै सपनाको पछि बहकिन्छन् । सुजाता भने आफ्नै मन र मस्तिष्कको लयमा बहकिन्छिन् । र त उनी पाइला पाइलामा खर्च कटौती गर्छिन समाजसेवाका लागि । उनको कैचीमा उपहार पनि पर्छन् । साथीभाइ तथा नातागोताको जन्मदिन, ब्रतबन्ध, चाडपर्व, भोजभतेरमा कसैलाई उपहार दिदैन सुजाता । त्यति मात्रै होइन, घुमफिरमा निस्केका साथीहरुले पिएको पानीको पैसा पनि तिर्दैनन उनी । ‘गो टुगेदर, पे सेपेरेट्ली’ उनी मुस्कुराउदै बोलिन् ‘म मेरो तिर्छु, आ–आफ्नो तिर भन्छु ।’ त्यसरी जोगिने पैसा पनि सिधै नेपाल पठाउछिन् । जहाँ उनकी शिक्षिका आमा जानकीले स्कुले बालबालिकालाई कापी, किताब, कलम, पोशाक, स्कुलको शुल्क तिर्न सघाउँछिन् ।
सेन फ्रेन्सिस्को स्टेट युनिभरसिटीको स्नातक अन्तिम वर्षकी विद्यार्थी सुजाता कलेज अफ एलामिडाकी ‘असिस्टेन्ट टिचर’ पनि हुन । त्यही कामले उनलाई पढाइ र समाजसेवालाई सँगसँगै लग्न सहज बनाएको छ । महिला सशक्तिकरणका विषयमा अध्ययनरत उनलाई नेपाली महिलाजस्तै गरिब मुकुलका महिलाको जीवन कला बुझ्न मन लाग्यो । ‘लिभिङ्ग पोजिटिभ, केन्या’ संस्थासँग स्वयंसेवक भएर केन्या हानिइन् । गरिबी कस्तो हुन्छ ? केन्या पुगेर थाहा पाइन उनले । रुदै गरेको बालकलाई खाजा खायौ भनेर सोधिन् । ‘चार दिन अघि खाएको हुँ’ ति बालकले जवाफ दियो । उनको भनाई पत्यार लागेन, उनका बुवालाई सोधिन् । ‘खाना खाएको पाँच दिन भयो’ यस्तो जवाफ सुनेपछि भने उनी छाँगाबाट खसेजस्तै भइन । दुई महिने केन्या बसाइमा आफ्नो पोकेट खर्च समेत बाँडेर फर्किन सुजाता ।
मरोक्कोको यात्रामा निस्कनु अघि घर फर्किइन महिनादिका लागि । जब पश्चिमी सीमा नाका गड्डाचौकी पुगिन, भारतको बनबासाबाट साइकलमा सामान बोकेर ल्याउने महिला देखिन अनि उनको यात्रा लम्बियो । ‘दुई दुई क्वीन्टलसम्म साइकलमा बोकेर ल्याउछन, सीमाको झमेला, कति आत्मविश्वास छ’ आँखा बन्द गर्दै सुजाताले भनिन् ‘उनीहरुको बारेमा रिसर्च गरे, एक महिना लाग्यो ।’ अब सेन फेन्सिस्को स्टेट युनिभरसिटीका प्राध्यापक र विद्यार्थीसँग बहस गर्ने छिन सुजाता गड्डाचौकी सीमानाकामा ओहोर दोहोर गर्ने कर्मजीवि महिलाहरुका बारेमा । समाज विकासका लागि नारी बलियो हुनु पर्छ भन्छिन् उनी । उनलाई लाग्छ, सभ्य समाजको मापन नारीप्रति गरिने सम्मानमा जोखिन्छ ।
दुई महिने बसाइमा महाकाली अञ्चल बाल अनाथालय पनि छुटाइनन् उनले । अनाथ बालबालिकालाई सहयोग गरिन्, जुन प्रत्येक वर्ष निरन्तर चलिरहन्छ । अमिषाको गाउँमा पनि पुगिन, जहाँ उनले अमिषाका गाउँले साथीभाइलाई पनि सघाइन् । ठूलो काम गरिरहेको छु भन्ने त उनलाई लाग्दैन तपैपनि उनी भन्छिन् ‘स–साना कामले केही मानिसको मुहारमा खुसि त ल्याउन सकिराखेकी छु ।’
बैशाख पहिलो साता अमेरिका हुइकिन लागेकी उनले पढाइ सकेर नेपाल नै फर्किने सोच बनाएकी छन् । ‘अमेरिका जस्तो यता त नहोला तर यहाँ केही गर्न पाउदा आनन्द आउछ’ उनले भनिन् । गरिबी, अशिक्षा, बेरोजगारी, राजनीतिक अन्यौल, भ्रष्टाचार, समस्यै समस्याग्रस्त देशको अवस्था उनलाई राम्ररी थाहा छ । तैपनि उनी कसैलाई गाली गर्ने पक्षमा छैनन् । ‘देशले, नेताले केही गरिदिएन । यस्तो भएन, उस्तो भएन भनेर गुनासो गर्नु भन्दा पनि हामीले देशका लागि के गरेका छौं ?’ कुराकानीलाई बिश्राम दिदै सुजाता बोलिन् ‘अरुलाई दोष नदिऔं । ठूलो काम गर्न नसकिएला । स–सानो भएपनि समाजका लागि केही गरौं ।’
-बच्चु विक
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।