डा. टीकाराम पोखरेलकैलालीको बेलादेवीपुरमा केही दिनअगाडि भएको बोक्सी सम्बन्धी अमानवीय घटनाको अनुगमनका लागि पत्रकार र मानवअधिकारकर्मीहरु पुग्दा बोक्सीको रुपमा आरोपित राजकुमारी रानाका छोरा स्वयम् भन्दै थिए– “खै हजुर हामीले त प्रहरीलाई खबर गरेकै थिएनौँ, गाउँमै मिलाउने भनेको हो, तर प्रहरीले कहाँबाट थाहा पायो–पायो, हामीलाई त पत्तै भएन ।” पीडितकी वयस्क नातिनी, जो शिक्षित पनि छिन्, उनी प्रश्न गर्दै थिइन्– “हाम्रो यत्रो बेइज्जत भैसक्यो अब फेरि थप बेइज्जत गर्न तपार्इँहरु किन पटक–पटक आउनुहुन्छ ?” यसो भनिरहँदा पीडित परिवारको अनुहारमा केही आत्मग्लानी, केही असहजता र धेरै चाहिँ डरको संमिश्रण देखिन्थ्यो । आफूलाई जन्म दिने आमामाथि भएको त्यत्रो जघन्य घटनाको उनकै छोराहरु रातभरि मूकदर्शक मात्र बनेनन् प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गरिसक्दा पनि परिवारमा अलिकति पनि हिम्मत बढेको थिएन । बरु भोलि कतै आफ्नी आमामाथि भए जस्तै अभद्र व्यवहार परिवारका अरु सदस्यमाथि पनि हुने त होइन ? कतै आफ्नो सिंगो परिवारले नै गाउँ निकाला नै हुनुपर्ने त होइन भन्ने त्रासमा देखिन्थे परिवारका सदस्यहरु । पीडित परिवारको छटपटी हेर्दा यस्तो लाग्थ्यो कि गाउँमा प्रहरी प्रवेश गराएर त्यो परिवारले अर्को ठूलो अपराध गरेको छ । त्यसैले उनीहरु दोषीलाई कारवाही गर्नबाट जोगाएर आफ्नो अपराधबाट मुक्त हुन चाहन्थे । पीडितले नै आफूलाई दोषी महसुस गर्नुपर्ने यो अवस्था दन्त्यकथा भन्दा कम छैन ।मुलुकी ऐन, महल १९ को १०ख नम्बरमा कसैले कसैलाई बेक्सो वा बोक्सीको आरोप लगाएमा तीन महिनादेखि दुईवर्षसम्म कैद वा पाँचहजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर अहिले पनि कतिपय समाजमा बोक्सी लगाउनु, बोक्सीको आरोपमा कुटपीट गर्नु, मलमूत्र खुवाउनु, सार्वजनिक बेइज्जेती गर्नु जस्ता कुरालाई सामान्य मान्ने गरिन्छ । दस्तावेजमा अहिले पनि प्रसस्तै कानुनहरु छन् । तथापि हिंसा र अपराधका घटनाहरु झनै बढिरहेका छन् । कानुन छ कार्यान्वयन छैन, सरकार छ उपस्थिति छैन, समाज छ चेतना छैन । त्यसैले समाजमा मात्र अन्याय छ न्याय छैन । बोक्सीमा विश्वास गर्ने समाजमा घटनाका पीडक अपराधी होइन बरु नायक ठानिन्छ । मानौँ कि उसले समाजको खलनायक माथि विजय प्राप्त गरेको छ, अथवा समाजमा कसैले गर्न नसकेको बहादुरी उसले प्रदर्शन गरेको छ । हाम्रो समाजिक संरचनामा गाउँघरमा रहने भलमन्सा, टोलसुधार समिति, उपभोक्ता समिति जस्ता गैरसरकारी संरचनाहरुको पनि आफ्नै महत्व छ । हरेक परिवार समाजका त्यस्ता संरचनामा कुनै न कुनै रुपमा आवद्ध नभै सुखै छैन । सहरी सभ्यतामा रमेको परिवार समाज निरपेक्ष पनि बस्न सक्ला तर ग्रामीण समाजमा हरेक परिवार समाज सापेक्ष हुनु उसको बाध्यता नै हुन्छ । समाजले चाह्यो भने हरेक परिवारलाई एक्लो पार्न सक्दछ । त्यसमाथि झन् बोक्सी जस्ता आरोपमा समाजले बहिष्कार नै ग¥यो भने त अन्यायमाथि थप अन्याय हुन्छ । एकातिर बोक्सीको आरोप अर्कातिर गाउँबाट बहिष्करण र उठीबास । विगतमा पनि बोक्सीको आरोपमा समाजबाट विस्थापित हुनुपरेका धेरै घटनाहरु छन् । राजकुमारी रानाको घटनामा पनि समाजका अगुवाहरुले चेतावनीको शब्दमा “हामी समाज चाहिन्छ मात्र भन्न सक्तछौँ” (कान्तिपुर, चैत्र २५) भन्नुले पनि पीडित परिवारलाई समाजले मेलमिलापका लाागि मनोवैज्ञानिक दबाब दिएको भन्ने स्पष्टै बुझिन्छ । राजकुमारी रानामाथि रातभरि अभद्र व्यवहार हुँदा सिङ्गो गाउँ घटना भएको स्थानमा जम्मा भएर मूकदर्शक र रमिते मात्र बनेन कि अहिले पनि कारबाही हुनुपर्छ भन्ने पक्षमा समाज छैन । प्रहरीले दोषीलाई पक्राउ गरिसक्दा पनि गाउँका भलमान्सा र अगुवाहरु भित्र–भित्र पीडित र पीडकलाई गाउँमै मेलमिलाप गर्नका लागि पीडित पक्षलाई मनोवैज्ञानिक दबाब दिइरहेका छन् । त्यस्ता अगुवाहरु पत्रकार र मानव अधिकारकर्मीका अगाडि भने मूक बस्ने गरिरहेका छन् । यसमा स्वयम् गाउँका भलमान्सा र अगुवाहरुले भूमिका खेलिरहेका छन् । सिंगो गाउँ मेलमिलापका नाममा पीडकलाई उम्काउने प्रयासमा छ । उम्काउने हतियारस्वरुप पीडितमाथि मनोवैज्ञानिक दबाब दिइँदैछ । गाउँ एकातिर र राजकुमारी रानाको परिवार अर्कोतिर छ बेलापुरमा । एक्लो मात्र होइन त्रसित पनि छ राजकुमारीको परिवार । कुन बेला के हुने हो वा गाउँलेले के निर्णय सुनाउने हुन् । हुनसक्तछ त्यो बहिष्कार वा गाउँ निकाला पनि । बेलापुर यही देशको अखण्ड भूमि हो जुन देशमा न्यायमूर्ति खिलराज रेग्मीले कार्यकारी पद सम्हालेका छन् । तर बेलापुरमा राज्यको कानुन छैन, गाउँको आफ्नै कानुन छ । उनीहरुका लागि प्रधानमन्त्री खिलराज रेग्मी होइनन् उनीहरुकै भलमान्सा हुन्, बेलापुरका लागि देश भनेको उनीहरुकै समुदाय हो, त्यहाँ आफ्नै बुझाइ र मान्यताहरु छन् मानौँ कि बेलापुर हाम्रो देशको भू–भाग नै होइन । कैलालीको धनगढी नगरपालिकासँग जोडिएको गाउँ जुन गाउँ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट मात्र ८ किलोमिटरको दूरीमा छ, । त्यस्तो सुगम ठाउँमा त गाउँ प्रशासन र कानुनविहीन छ भने देशको दूरदराजको स्थिति के होला ? त्यहाँ राज्यको उपस्थिति कस्तो होला ? अनि समाजका बुझाइ र मान्यता कस्ता होलान् ? देशका विभिन्न भूभागमा बोक्सीका नाममा बेलाबेलामा जघन्य घटनाहरु हुने गरेको भए तापनि बेलापुर घटनालाई भने सरकारले निकै गम्भीरतापूर्वक लिएको देखिएको छ तर घटना विशेषमा तदारुकता देखाएर मात्र यस्ता घटनाहरुको न्यूनीकरण चाहिँ हुँदैन । यस्तो समाज जहाँ आफ्नै समाज छ, कानुन छ, सरकार छ भन्ने मान्यता छ त्यस्तो ठाउँमा घटनालाई न्यूनीकरणका लागि समाजको बुझाइलाई बदल्नु छ, जुन आफैँमा चुनौतीपूर्ण छ । यस्ता चुनौतीलाई लक्ष्यित नगरी दोषीलाई कारवाही गरेर मात्र राज्यको दायित्व पूरा हुन्छ भन्ने ठानियो भने आज बेलापुरमा घटेको घटना भोलि तुलसीपुरमा, अर्को दिन मकवानपुरमा र फेरि अर्को दिन जनकपुरमा घट्दै जान्छ ।यसको अर्थ दोषीलाई कारवाही गरेर केही पनि हुँदैन भन्ने चाहिँ होइन । पक्कै केही हुन्छ, घटनाको न्यूनीकरणमा दोषीलाई गरिएको कारवाहीले पनि केही सहयोग पु¥याउँछ तर सबै होइन । त्यसैले यस्ता जघन्य अपराधका घटना फेरि नदाहोरियून भन्नका लागि एकातिर कानुन कार्यान्वयनमा जोड दिने र अर्कातिर त्यो अन्धविश्वासमा सुतेको समाज जसले यस्ता अन्धविश्वासलाई आँखा चिम्लेर विश्वास गर्छ तिनीहरुको आँखा खोल्ने कार्यक्रम सञ्चालन गर्नुपर्दछ । यसका लागि बोक्सी वा यस्तै अन्धविश्वासी कुपरम्परा विरुद्ध गाउँ जागरण कार्यक्रमको आवश्यकता छ । गाउँका अगुवाहरुलाई चेतना जगाउने तालिमको आवश्यकता छ र चेतनाशून्यहरुको दिमागमा चेतनाको दियो बाल्नु आवश्यक छ । अनि मात्र जघन्य अपराधका घटना मेलमिलापमा मेलमिलाप गराउने प्रयासहरु विफल होलान् ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।