Tuesday, June 18, 2013

दार्चुला सदरमुकामका ७२ घर बगे, दुई हजार पाँच सय विस्थापित, विद्युत् र सञ्चार सेवा अवरुद्ध


तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन्। सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन्। 
 
घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए।
 
अहिले पानी पर्ने क्रममा केही कमी आएको र महाकाली नदीको बहावमा समेत कमी आए पनि नदीले कटान भने तीब्ररुपमा गरिरहेको उनले बताए।
 
नदीको कटान नरोकिएकाले अझै क्षति बढ्न सक्ने उहाँले बताए। “घरवारविहीनताको अवस्थामा पुगेका परिवारलाई विद्यालय र  सुरक्षित स्थानमा रहेका घरहरुमा बस्ने व्यवस्था गरिएको उहाँले जानकारी गराए।
 
अधिकारीका अनुसार बाढीले सबैभन्दा बढी क्षति खलङ्गा गाविस–५ बाँगाबगड र गल्फैमा पुर्‍याएको  छ। सदरमुकाम नजिक रहेको कालागाड जलविद्युत् परियोजनको विद्युत्गृह नदीले बगाएपछि त्यहाँ दुई दिनदेखि विद्युत् सेवासमेत ठप्प रहेको छ। विद्युत् सेवा ठप्प भएसँगै सञ्चार सेवासमेत अवरुद्ध भएको छ। 
 
जिल्ला सदरमुकाम खलङ्गा जोड्ने सडकको ठाउँ ठाउँमा पहिरो जाँदा यातायात सेवासमेत पूर्णरुपमा अबरुद्ध भएको छ। उकू र दत्तु गाविस जोड्ने दुई वटा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ। 
 
पानीको सतह पुरै नघटेकाले यहाँका बासिन्दा अझै आतङ्कित अवस्थामा रहेका छन्। भारतले धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध फुट्न लागेको भन्दै बाँध खोलेपछि दार्चुला क्षेत्रमा भीषण बाढी आएको स्थानीयको भनाइ रहेको छ।  
 
यसैगरी, डडेल्धुराको सिमल जाला क्षेत्र र परिगाउँ क्षेत्रका दुई दर्जनभन्दा बढी घर महाकाली नदीमा आएको बाढीले डुवानमा परेका छन्। ईप्रका जोगबुढाका अनुसार त्यस क्षेत्रबाट हालसम्म तीन परिवार विस्थापित भएका छन्। रासस
 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।