Wednesday, June 19, 2013

कैलालीमा बाढीमा फसेका ७० को हेलिकप्टरबाट उद्धार

मूलत :  देशको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा हालै आएको बाढी तथा पहिरोले ठूलो धनजनको क्षति भएको छ। समयमा सरकारले ध्यान पुर्‍याउन नसकेको र विपत्तिमा परेकाको उद्धारमा ढिलाइ भएको भन्दै सर्वत्र गुनासो भएको छ।
 
यत्रो ठूलो प्राकृतिक प्रकोपमा नागरिक परेको बेला राज्यले किन तदारूकता देखाउन सकेन र अब के गर्दै हुनुहुन्छ भनेर सेतोपाटीले दैवी प्रकोपमा उद्धारको संयोजन गर्ने गृह मन्त्रालय सम्हालेका गृहमन्त्री माधव घिमिरेलाई सोधेको थियो।
 

घिमिरेको जवाफ यस्तो छ।

 
– 'हामीले उद्धार कार्यमा ढिला गरेको हैन, हिजो मात्र पनि लगभग एक दर्जन मिटिङ बस्यौ। तर, प्रतिकूल मौसमका कारण उद्धार कार्य राम्रोसँग अगाडि बढ्न सकेन। लगातारको भारी वर्षाले गर्दा विपत्तिमा परेकालाई उद्धार गर्न र राहत लिएर गएका हेलीकप्टर हिजो दाङभन्दा उता जान सकेनन्। र, भैरहवा आएर बस्नुपर्‍यो।
 
लगातार प्रयास गर्दा पनि हेलिकप्टरले मौसमको प्रतिकूलता छिचोल्न सकेनन्। धेरै ठाउँमा बाटोघाटो बिग्रिएको र पहिरो गएकाले सडकबाट लगिएको उद्धार र राहत प्याकेज पनि घटनास्थलमा पुर्‍याउन कठिन भयो।
 
मौसमको सुधारसँगै आज बिहानदेखि उद्धार तथा राहत वितरण कार्यक्रमले गति पाएको छ। आज बिहान मात्रै कैलालीको विभिन्न बाढी पहिरो प्रभावित ठाउँमा बाढीले गर्दा अड्किएका लगभग ७० जनालाई हेलिकप्टरले उठाएर सुरक्षित ठाउँमा लगेको छ। राहत सामग्री पनि हेलिकप्टरले सम्बन्धित ठाउँहरूमा पुर्‍याउन थालेका छन्।
 
हामीले सेनाको 'स्काइ ट्रक' प्रयोग गरी राजधानीबाट राहत सामाग्री धनगढी झारेका छौ। धनगढीबाट हेलिकप्टरले सम्बन्धित जिल्लामा राहत पुर्‍याउन सुरू गरिसकेका छन्। बाढी तथा पहिरोले मुख्य रूपमा पीडित दार्चुला जिल्लामा खाद्यान्नको पनि अभाव देखिएकाले हामीले खाद्यान्न पनि त्यसतर्फ पठाउन सुरू गरिसकेका छौं।
 


बाढीबाट विस्थापित भएका परिवारलाई तत्कालका लागि त्रिपाल, कम्बल, भाडाकुडा र खाद्यान्न पीडित परिवारसमक्ष पुर्‍याउन जिल्ला दैवी प्रकोप समितिहरू सक्रिय भइसकेका छन्।
 
बाढीपहिरोमा परि मृत्यु हुने परिवारका लागि प्रतिपरिवार ४० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ। बाढी तथा पहिरोको प्रभाव मुख्यत: मध्य तथा सुदूरपश्चिमका ११ वटा जिल्लामा देखिएका छ। अहिलेसम्म हाम्रो आँकडाअनुसार १८ जनाको मृत्यु र २३ जना बेपत्ता भएका छन्। आज बिहान मात्रै मन्त्रिपरिषदको बैठक बसेर सरकारले विभिन्न निर्णयहरू गरेको छ।
 
दैबी प्रकोप केन्द्रीय उद्धार समितिमा ५ करोडको कोष रहेकोमा त्यसलाई तुरून्त १० करोडको कोष बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ। त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १९ करोड रहेको मा ४० करोड पुर्‍याउने निर्देशन पनि दिइएको छ। यसले उद्धार तथा राहत कार्य सुचारू गर्न मद्दत पुर्‍याउँछ। बाढीले सबैभन्दा धेरै प्रभावित दार्चुला र कञ्चनपुर जिल्लालाई दामाशाही ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
 
हामीले बाढीग्रस्त क्षेत्रमा  औषधी र स्वास्थ्यकर्मीको टोलीसँगै आवास, सडक र खानेपानीका इन्जिनियरहरूलाई पनि पठाएका छौं। दार्चुलाको सदरमुकाम खलङगा बाढीको ठूलो जोखिममा परेको हो, त्यसलाई कसरी जोगाउन सकिन्छ भन्ने रिपोर्ट केन्द्रमा बुझाउन इन्जिनियरहरुलाई निर्देशन दिइएको छ। त्यहाँ बाढीबाट थप क्षति हुन नदिन जे निर्णय आवश्यक हुन्छ, हामी तुरुन्तै लिँदैछौ। 
 
त्यस्तै भौतिक योजना तथा निर्माण मन्त्रालयलाई बाढीपहिरोले अबरूद्ध सबै बाटाहरू २ दिनभित्र खोलिसक्न निर्देशन पनि दिएका छौं।
 
हामीले बाढीको क्षति न्यूनीकरणको लागि स्थानीय रेडियो परिचालित गरेका छौं। सिरानमा पानी पर्नेबित्तिकै नदी तटको तल्लो भागमा बस्ने नागरिकहरूलाई रेडियोबाट सचेत गराइएको छ। यसले गर्दा धेरै मान्छेहरू विपत्ति पर्नुअघि नै सुरक्षित स्थानमा गएका छन्। सुदूरपश्चिमको बाढीपहिरोमा मानवीय क्षति धेरै देखिएको भए पनि बाढीले गर्दा त्यहाँ १ जनाको मात्र ज्यान गएको छ। अरू सबैको पहिरोमा परेर मृत्यु भएको हो ।
 
मौसम क्रमशः पश्चिमबाट पूर्वतर्फ लाग्दै गएकोले हामीले पूर्वका जिल्लाहरुमा दैवी प्रकोप उद्धार टोलीलाई आवश्यक भएको बेला तयार भएर बस्न निर्देशन दिएका छौं। उद्धारका लागि आवश्यक के कति सामग्रीहरू छन्, त्यसको रुजु गर्ने र थप आवश्यक भए हामीसँग तुरून्त माग गर्ने भनेर निर्देशन पनि दिएका छौ|।'
- See more at: http://setopati.com/samaj/1626/#sthash.N8UCRIv8.dpuf

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।