Tuesday, June 18, 2013

बाढीपहिरोले एकै दिन ३० को मृत्यु, ७ बेपत्ता



लगातार चार दिनको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। मंगलबारमात्रै लगातारको वर्षापछि पहिरो जाँदा कालिकोटमा १९ जना बेपत्ता भएका छन् भने बैतडीमा एकै परिवारका ५ र दैलेखमा एकै परिवारका ७ जनाको ज्यान गुमेको छ। त्यस्तै, मुस्ताङ, रौतहट र डोटीमा एक–एक जनाको ज्यान गुमेको छ।
 
सोमबार पनि महाकालीको बाढीले दार्चुला, कञ्चनपुर र रुपन्देहीमा चारजनाको मृत्यु भएको थियो।  
 

बाढीमा देशभरमा भएको क्षतिको विवरणः

 

रुपन्देहीः

 
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पाखण्डअन्तर्गत सिद्धबाबा मन्दिरनजिकै राजमार्ग अवरुद्ध। लगातारको वर्षाले तिनाउ, दानवलगायतका नदीमा पानीको सतह बढेको छ। वर्षाका कारण रूपन्देहीका विभिन्न स्थान डुबानमा परेका छन्। नदीमा पानी बढ्दै जाँदा नदी किनारामा बसेका त्रसित बनेका छन्। सोमबारमात्र तिनाउ नदीले बगाएर यहाँका एक व्यक्ति बेपत्ता भएका छन्।
 
लगातारको वर्षाका कारण रूपन्देहीका निजी तथा आवासीय विद्यालय बन्द भएका छन्।
 

नवलपरासीः

 
अविरल वर्षाका कारण आएको बाढीले नवलपरासीका आधा दर्जन ठाउँमा कटान र डुबानमा परेको छ। नारायणी नदीमा आएको बाढीले गण्डक बाँधको ठोकर नम्बर ११ र १२ मा कटान गरेको हो । बाढीले ठोकर नं १२ मा करिब १२ मिटर भाग कटान गरिसकेको छ। ठोकर भत्के कोसी दोहोरिने भन्दै स्थानीयवासी त्रसित बनेका छन्।
गण्डक बाँधको ११ र १२ नम्बर ठोकर बाढीले बगाए नवलपरासीका १३ गाविस पूर्णरूपमा डुबानमा पर्नेछ।
 

कालिकोटः

 
तीन दिनदेखिको लगातारको वर्षाका कारण आएको पहिरोले आज बिहान कालीकोटको मुम्रा गाविसमा १२ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। थप ७ बेपत्ता छन्।
 
पहिरोबाट मृत्यु हुनेमा मुम्रा–१ की ३५ वर्षीया कला थापा, सिप्खाना–२ की २३ कमरा शाही, नाम नखुलेका निजकी पाँच वर्षीया छोरी, तीन वर्षीया छोरा, सिप्खाना–२ का सत्य शाही, निजकी पत्नी सरिता शाही, नाम नखुलेका उनका पाँच वर्षीया छोरा र तीन वर्षीया छोरी, मेहलमुडी–४ डङखुलेका बजारका मनबहादुर शाही रहेका छन्।
 
त्यसैगरी फुकोट–७ का ओभरसियर कृष्ण न्यौपाने, अर्का थिर्पु घर भएका ओमरसियर टक्कबहादुर बम, सिप्खाना–२ की चञ्चला शाही रहेक जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक रमेशकुमार पोख्रेलले बताए।
 
पोख्रेलका अनुसार घटनास्थलमा सिप्खाना–२ का सुरज शाही र मेहलमुडी–४ का वृषबहादुर शाही घाइते भएका छन्।
 
तीनदेखिको लगातारको वर्षाका कारण कालीकोटको जनजीवन प्रभावित हुनुका साथै दुईवटा बजार जोखिममा छन्।
 
वर्षाले सबैभन्दा बढी कर्णाली नदीको आसपासका क्षेत्रको स्थानीय जितेगडा र लालिघाट बजार डुबानमा छ। बजारमा रहेका पसल डुबानमा पर्नुका साथै पुलसमेत डुबानमा परेका कारण आवतजावतका लागि समस्या भएको स्थानीय व्यापारीले बताएका छन्।
 
वर्षाले जिल्लाको एकमात्र जलविद्युत् केन्द्र पोतमारामा मेसिनको टर्बाइनमा बालुवा भरिएको भन्दै विद्युत् बन्द भएको छ भने विद्युत् अभावका कारण जिल्लामा स्थानीय सञ्चार माध्यम बन्द भएका छन्। सदरमुकाममा सरकारी कार्यालयमा काममा कठिनाइ भएको र सेवाग्राहीसमेत घटेको बताइएको छ। विद्युत् नभएपछि जिल्लामा रहेको एकमात्र बैंकिङ सेवासमेत प्रभावित भएको छ।
 

पर्वतः

 
चार दिनदेखि लगातार परेको वर्षाका कारण सडकखण्डमा पर्ने खोलामा बाढी आएर सडक पुर्दा मंगलबार बिहानैदेखि पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ।
सडक अवरुद्ध हुँदा म्याग्दीबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट म्याग्दीका लागि आएका सवारीका साधन मालढुङ्गामा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
 

हुम्लाः

 
अविरल वर्षाका कारण हुम्लाको सदरमुकाम सिमिकोटको सेम्ने गाउँका ११ घरमा क्षति पुर्‍याउनका साथै जग्गासमेत बगाएको छ। मानवीय क्षति भने भएको छैन।
सेम्ने गाउँका होटल डुबानमा परेका छन् भने एउटा झोलुङ्गे पुल पनि बगाएको छ।
 

बैतडीः

 
बैतडीको सिद्धेश्वर–९ मा मंगलबार बाढीले पहिरो जाँदा एकै घरका पाँचजनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण सोमबार राति घरमाथिबाट पहिरो खस्दा सिद्धेश्वर–९ का रामसिंह ऐरको परिवार पहिरोमा परेको हो।
 
पहिरोमा परी मृत्यु हुनेहरूमा २६ वर्षीया सीता ऐर, निजका एक वर्षीय नाबालक छोरा अर्जुन तथा तीन वर्षीया छोरी विन्देश्वरी, ३४ वर्षीया कलावती र उनका १२ वर्षीय छोरा परमेश्वर रहेको प्रहरीले जनाएको छ।
 
पहिरोमा परेको घरबाट चारजनाको लास प्रहरी र स्थानीय बासिन्दाले निकालिसकेका छन् भने १२ वर्षीय परमेश्वरको लास पुरिएकै अवस्थामा छ। भिरालो ठाउँमा रहेको घरको दुवैतर्फबाट राति पहिरो गएकाले मृतकहरूले उम्किने मौकासमेत नपाएको प्रहरीले जनाएको छ।
 
सातजनाको ऐर परिवारमध्ये करन र उनका बुवा रामसिंह स्थानीय खोड्पे बजारमा व्यापार गरी बस्ने गरेका थिए। उनीहरू दुवै बाबुछोरा राति पसलमै बसेकाले बाँच्न सफल भएको प्रहरीले बताएको छ।
 
पहिरोमा परी १० वटा, बाख्रा, एक राँगो र दुईवटा गाईसमेत पुरिएको प्रहरीले बताएको छ।
 

कञ्चनपुरः

 
तीन दिनदेखि भइरहेको निरन्तर वर्षासँगै महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार बिहान ७ बजे गरिएको मापनअनुसार महाकाली नदीको पानी चार लाख ६१ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ।
 
पानीको बहाव उच्च भएपछि नेपाल–भारत सीमा पुल बनबासामा सवारीसाधन सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ। पुल भएर ओहोरदोहोर गर्ने यात्रुलाई समेत भारतीय प्रहरीले रोकेका छन् । पुल धेरै पुरानो भएकाले पुलमा पानीको बहाव एक लाख क्युसेक बढी भएमा सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ।
 
यसैबीच, महाकाली नदीमा पानीको बहाव उच्च भएपछि नदी तटीय क्षेत्र भीमदत्त नगरपालिकाका ओदाली, पिरैया, भुजेला क्षेत्र उच्च जोखिममा परेकाले स्थानीय बासिन्दालाई सर्तकता अपनाउन लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बृखबहादुर रावलले बताए।
 
रावलका अनुसार भुजेला क्षेत्रको केही क्षेत्र डुबानमा परेको छ भने नदीले नेपालतर्फको भू–भाग तीब्ररूपमा कटान गरिरहेको छ।
 
महाकालीपारिको दोधारा गाविसको वडा नं ७, ८ र ९ पूर्णरूपमा डुबानमा परेको इलाका प्रहरी कार्यालय दोधाराले जनाएको छ। चाँदनी गाविसका वडा नं ३ र ४ समेत डुबानमा परेको छ। जिल्लाका परासन, लक्ष्मीपुर, रामपुर, विलाशिपुर, शङ्करपुर पिपलाडी, देखतभुली क्षेत्र भएर बग्ने दोदा, सनवोरा, स्यालीलगायतका नदीको जलस्तरसमेत उच्च गतिमा बढ्दै गएको छ।
 
सनवोरा नदीले पिपलाडीको ढकनिया र रानीपुर क्षेत्र, दोदा नदीले देखतभूलीको तिलकी, जाई, कृष्णपुरको दयाअमरपुर शिविर, शङ्करपुर गाविसको कञ्ज र पर्सिया क्षेत्र र स्याली नदीले कालागौंडीको आन्ध्राजाला मुक्त कमैंया शिविरमा जग्गा कटानको कार्य तीब्र बनाएको स्थानीयले बताएका छन्।
 

सिरहाः

 
नदीको छेउमा तटबन्ध नबनाएका कारण भारतीय सीमा नजिक रहेका सिरहाका २१ गाविस बाढीको उच्च जोखिममा परेका छन्। सिरहाका ४० वटा गाविस बाढीले बगाउने जोखिम क्षेत्रका रूपमा लिइएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले जनाएको छ।
 
त्यसमध्ये सीमापारी लदनियादेखि दरहियासम्मको दुई किलोमिटरको तटबन्ध र कमला, मैनावती, गागन नदीमा भरपर्दो तटबन्ध नबनाइएकाले ती गाविस उच्च जोखिममा परेका छन्।
 
नदीमा आउने बाढीले ती गाविस बगाउन सक्ने सम्भावना रहेको नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादवले बताए। उच्च जोखिममा पर्ने अन्य गाविसहरूमा औरही, माडर, लगडीगोठ, लगडी गढियानी, चिकना, बरियारपट्टी, सारस्वर, अर्नमा प्ररालगायतका छन्। 
 

उदयपुरः

 
गए रातिदेखि भएको वर्षाका कारण उदयपुर जिल्लाको जनजीवज प्रभावित भएको छ। निरन्तरको वर्षासँगै स्थानीय नदी, नालाहरूमा बाढी आएकाले जिल्ला सदरमुकाम गाईघाटदेखि पूर्वीभेग चल्ने सम्पूर्ण यातायातका साधन अवरुद्ध भएका छन्।
 
सदरमुकामदेखि बेल्टार, बसाहा, ठोक्सिला तथा जोगिदह र हँडिया क्षेत्र हुँदै सप्तरीको फत्तेपुरसम्म सञ्चालन हुने सम्पूर्ण यातायातका साधनहरू वर्षाका कारण बन्द भएको यातायात व्यवसायी डम्बरसिंह खड्काले बताए।
 
यस्तै गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र साउने, खाबु, रौता, मुर्कुची सञ्चालन हुने यातायातका साधनहरू पनि वर्षाका कारण बन्द भएको व्यवसायीहरूले जनाएका छन्।
यता जिल्लाकै पश्चिमी भेगको कटारी क्षेत्रबाट पहाडी क्षेत्र रुपाटार, ओख्ले, बाहुनीटारमा सञ्चालन हुने यातायातका साधनहरू पनि वर्षाका कारण बन्द भएको कटारीका यातायात व्यवसायी महेश कार्कीले बताए।
 

म्याग्दीः

 
निरन्तरको वर्षासँगै म्याग्दीका ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरू बन्द भएका छन्। सदरमुकाम बेनीदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका ग्रामीण सडकका विभिन्न ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको  म्याग्दी बस तथा जिप सञ्चालन समितिका सचिव सुमन श्रेष्ठले जानकारी दिए।
 
बेनीदेखि निरन्तर सञ्चालन हुँदै आएको झिँ, कुहूँ, राखु, भकिम्ली, शिख, बरङ्जालगायतका ग्रामीण भेगसम्म पुग्ने सडकहरू अहिले अवरुद्ध बनेका छन्।
 

बेनी

 
पाखापानी सडकखण्ड त जेठ महिनादेखि नै सिधा सञ्चालन हुन नसकेको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ। २५ किलोमिटर उक्त सडकखण्डअन्तर्गत झीँ, घतानलगायतका स्थानमा ढुङ्गा र माटो खसेको समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए।
 
यसैबीच बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि सिधा यातायात अवरुद्ध बनेको छ।
 
बेनीदेखि पश्चिम दरबाङसम्मको २६ किलोमिटर सडकखण्डअन्तर्गत फापरखेत र लाम्पाटामा पहिरो खसेपछि दुई ठाउँमा सवारी साधन परिवर्तन गरी यात्रा गर्नुपर्ने बाध्यता छ।
पहिरोका कारण पश्चिम भेगका १५ गाविसका सर्वसाधारण मर्कामा परेका छन्।
 

दार्चुलाः

 
तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन्। सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन्।
 
घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरूपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए। अहिले पानी पर्ने क्रममा केही कमी आएको र महाकाली नदीको बहावमा समेत कमी आए पनि नदीले कटान भने तीब्ररूपमा गरिरहेको उनले बताए।
 
बाढीले सबैभन्दा बढी क्षति खलङ्गा गाविस–५ बाँगाबगड र गल्फैमा पुर्‍याएको  छ। सदरमुकाम नजिक रहेको कालागाड जलविद्युत् परियोजनको विद्युत्गृह नदीले बगाएपछि त्यहाँ दुई दिनदेखि विद्युत् सेवासमेत ठप्प रहेको छ। विद्युत् सेवा ठप्प भएसँगै सञ्चार सेवासमेत अवरुद्ध भएको छ।
 
जिल्ला सदरमुकाम खलङ्गा जोड्ने सडकको ठाउँ ठाउँमा पहिरो जाँदा यातायात सेवासमेत पूर्णरूपमा अबरुद्ध भएको छ। उकू र दत्तु गाविस जोड्ने दुई वटा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
 

डडेल्धुराः

 
जिल्लाको सिमल जाला क्षेत्र र परिगाउँ क्षेत्रका दुई दर्जनभन्दा बढी घर महाकाली नदीमा आएको बाढीले डुबानमा परेका छन्। ईप्रका जोगबुढाका अनुसार त्यस क्षेत्रबाट हालसम्म तीन परिवार विस्थापित भएका छन्।
 

मुस्ताङः

 
तीन दिनदेखिको निरन्तर वर्षाका कारण हिमाली जिल्ला मुस्ताङमा १५ गोठ बाढीले पुरिएको छ। बाढी पहिरोका कारण एकजना बेपत्ता हुनुका साथै दुईवटा घर भत्किएको सडक अवरुद्ध भएको तथा प्रतिकूल मौसमका कारण हवाई यातायातसमेत ठप्प बनेको छ।   
 
मुस्ताङको कागबेनी गाविस– ९ तिरीमा सोमबार राति ९ :३० बजे खहरेमा आएको बाढीले त्यहाँ रहेका १५ पशु गोठ बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीपछि एकजना नाम, ठेगाना नखुलेका मजदुर बेपत्ता भएको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक मोहन ज्ञवालीले बताए।
 
वर्षाका कारण नदीमा पानीको सतह बढेको र ठाउँ–ठाउँमा गएको पहिरोका कारण मुस्ताङका सबै सडक बन्द भएका छन्। बेनी–जोमसोम सडकको घाँसा जोमसोम खण्ड पनि बन्द भएको छ।
 
यसैगरी, जोमसोम मुक्तिनाथ सडकमा पनि गाडी चलेका छैनन्। प्रतिकूल मौसमका कारण जोमसोम पोखरा हवाई उडान पनि दुई दिनदेखि हुन सकेको छैन।
मुस्ताङ भ्रमण गर्न आएका पर्यटक तथा मुक्तिनाथ आउने जाने तीर्थयात्री यातायात सेवा अवरुद्ध हुँदा समस्यामा परेका छन्।
 

रौतहटः

 
अविरल वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। भसेढवा गाविस वडा नम्बर– १ का २५ वर्षीय जयनारायण ठाकुरलाई बाढीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएको दाउरा नदीबाट निकाल्ने क्रममा ठाकुरलाई बगाएको स्थानीयवासीले बताएका छन्।
 

दैलेखः

 
अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि यहाँ एकै घरका सात जनाको मृत्यु भएको छ। दैलेखको मालिका गाविस वडा नं– २ कुमालडाँडाका मोहन कुमालको घर पहिरोले भत्किँदा उनीसहित श्रीमती, तीन छोरा र दुई छोरी गरी सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
 
गएराति पहिरो आउँदा घरभित्र सुतिरहेका उनीहरूको मृत्यु भएको आफन्तले बताएका छन्।
 
इलाका प्रहरी कार्यालय दुल्लु र तल्लो ढुङ्गेश्वरबाट गएको प्रहरी टोली उद्धार कार्यमा जुटिरहेको र अहिलेसम्म दुई जनाको शव मात्र निकालिएको प्रहरीले बताएको छ।
अविरल वर्षाका कारण दैलेखको खड्कवाडा गाविस र नाउले कटुवाल गाविसको दोभानको रूपमा रहेको लोहोरे खोलाले निकास नपाउँदा २५ घर बादीबस्ती डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।
 
(राससको सहयोगमा)
- See more at: http://setopati.com/samaj/1611/#sthash.X6auC1CH.dpuf

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।