Saturday, August 10, 2013

आफैले रगत दिइ बिरामी बचाए डाक्टरले


बाजुरा, २२ साउन 
अत्यधिक रक्तश्राव भएर थलिएकी एक महिलालाई आफैंले रगत दिएर जीवनदान गर्ने बाजुरा अस्पतालका डा। झपिन्द्र पोखरेललाई एक समारोहबीच सम्मान गरिएको छ ।
डाक्टर आफैंले सिकिस्त महिलालाई रगत दिएर बचाएको समाचार प्रकाशित भएपछि अमेरिकामा बस्दै आएका अर्जुनप्रसाद मैनालीले आपत्कालीन अवस्थामा रक्तदान गरेर विपन्न महिलालाई जीवन दिने डा। पोखरेललाई सम्मान स्वरुप उपलब्ध गराएको नगद दस हजार प्रदान गरिएको हो । मैनाली अमेरिकामा बसेर रक्तदान अभियान चलाइरहेका छन् । 
सम्मान कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखाले गरेको थियो । ‘बाजुराजस्तो दुर्गममा रक्तदातालाई प्रोत्साहन होस् भन्ने उद्देश्यले सानो सम्मान पठाएको छु’ मैनालीले इमेलमा लेखेका छन् । सदरमुकाम मार्तडीकै सावित्री थापालाई सम्भावित खतराबाट जोगाउन तत्काल रगत आवश्यक थियो । अभिभावकले स्थानीय तहमा रक्तदाता नपाएपछि डा। पोखरेल आफैंले रगत दिएका थिए । मैनालीले प्रोत्साहनस्वरुप पठाएको रकम राजनीतिक दलका प्रतिनिधि, प्रजिअ धुरवराज जोशीलगायत विभिन्न निकायका प्रतिनिधिको उपस्थितिमा मार्तडीका वयोवृद्ध समाजसेवी रुपसिंह रावलद्वारा हस्तान्तरण गरिएको हो । कार्यक्रमका वक्ताले यस्ता कल्याणकारी कामको खाँचो औंल्याउँदै आगामी दिनमा सबैलाई मानवीय काममा लाग्न प्रेरणा मिल्ने बताए ।
डा। पोखरेलले सम्मान ग्रहण गर्दै आफूलाई आगामी दिनमा बिरामीको सेवामा समर्पित रहन उत्साह मिलेको बताए । ‘सम्मानस्वरुप प्राप्त पुरस्कारले मेरो जीवनमा निकै महत्व राख्छ’ उनले भने ।
पोखरेलले पाएको रकम जिल्लामा रक्तसञ्चार सेवा सुरुवातका लागि कोष स्थापनार्थ हस्तान्तरण गरेका छन् । स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष निमित्त स्थानीय विकास अधिकारी नीरबहादुर शाहीले उक्त रकम रक्तसञ्चार सेवा स्थापनाका लागि कोष स्थापना गर्न प्रयोग गरिने बताए । हालसम्म जिल्लामा रक्तसञ्चार सेवाको सुविधा छैन । 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।