Saturday, August 10, 2013

'कर्णालीको छेउछाउ' नामक अनुभूति आख्यान विमोचित



साउन २५ । सुदूर पश्चिम कर्णाली क्षेत्रको समग्र जनजीवनको सेरोफेरोलाई समेटेर आख्यानकार गगनसिंह थापाद्वारा लिखित “कर्णालीको छेउछाउ” नामक अनुभूति आख्यानको पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले काठमाडौँ तिनकुने स्थित होटल नेशनल भिजनको त्रिबेणी हलमा एक समारोहका बीच विमोचन गर्नु भयो ।

प्रमुख अतिथि चन्दले आख्यानकार थापाले आफ्नो जीवनका तनाव र दुःखहरूलाई यस पुस्तकमो इमान्दारीपूर्वक प्रस्तुत गर्नु भएको बताउँदै सामाजिक र सांस्कृतिक पक्षहरूका साथै यस कृतिभित्र देशमा भएका महत्वपूर्ण राजनीतिक परिवर्तनहरूका प्रसङ्गहरू पनि आएका छन् भन्नु भयो । लोकोक्ति, हास्य र व्यङ्ग्यको प्रयोगले यो कृति रुचिपूर्ण हुन पुगेको धारणा चन्दले राख्नुभयो ।

कृतिमाथिका प्रमुख वक्ता प्रा. डा. कुमार कोईरालले कर्णालीको छेउछाउको लेखन अत्यन्त रोचक,जीवनीपरक र आञ्चलिक कृतिको कोटीमा पर्छ भन्दै आफ्नो बिचार राख्नु भएको थियो । ४३६ पृष्ठको यो कृतिको प्रकाशन परदेशमा रहनु भएका लेखका सुपुत्र हिक्मत थापाले प्रकाशन गर्नु भएको हो । आवरण डट कमको ब्यानरमा भएको लोकार्पण समारोहमा आख्यानकार गगनसिंह थापा, प्राज्ञ ललिजन रावल र पत्रकार, रेडियो कर्मी अमरध्वज लामाले कृति र कृतिकारका बारेमा चर्चा गरेको सो समारोह साहित्यकार रमेश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । २००५ सालमा अछाममा जन्मिएर र त्यहि हुर्के बढेका र २०२९ साल पछि कैलालीलाई कर्मथलो बनाएका गगनसिंह थापाको कर्णालीको छेउछाउ (अनूभूति आख्यान)मा आफ्नो बाल्यकालदेखि वर्तमानसम्मका विभिन्न घटना र भोगाइलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरेका छन् । म आफैंले पनि देखे घुमेका ठाउँहरुको वर्णन गरिएको भएर पनि मलाई यसले बढि तानिरहेको लेखको भनाइ छ ।
यो पुस्तक तीन किसिमले मलाई राम्रो लागिरहेकोछ । पहिलो, राणाशासनकोअन्त्यपछि त्यसको अवशेषको रुपमा रहेका सामाजिक संरचनाका साथै, शिक्षा, स्वास्थ्य, र सामाजिक जीवनका विभिन्न रोचक पक्षहरुको जानकारीलाई निजात्मक शैलीमा पाठकहरुलाई दिने काम यसले गरेको छ । खासगरी कर्णाली क्षेत्र (मध्य र सुदूरपश्चिमको पहाडी भेग)को बारेमा जानकारी दिने खालका साहित्य खासै उपलब्ध नभइरहेको अवस्थामा तत्कालिन कर्णालीक्षेत्रलाई बुझ्न यो उपयोगी हुने देखिन्छ । दोस्रा, प्रजातन्त्रको प्राप्तिपछि पनि कर्णाली क्षेत्रको आर्थिक सामाजिक जीवन कसरी उही अभाव, गरिबी, बेरोजगारी, पछौटेपनमा सिमित भयो भन्ने समकालिन समाजको चित्र पनि यसले दिन्छ । राजनैतिक आन्दोलनहरुमा सक्रियतापूर्वक योगदान गरेको कर्णाली त्यसको प्रतिफलमा सहभागी हुन नसकेको यथार्थ लेखनको पेटबोलीमा प्रष्टसँग झल्किन्छ ।
सशस्त्र द्वन्दले सामाजिक र व्यैक्तिक जीवनका पारेका प्रभावहरुलाई पनि यो संस्मरणात्मक आख्यानले समेटेको हुनाले यो पुस्तक समकालिन समाजको ऐना जस्तो पनि लाग्छ । तेस्रो, यसले कर्णाली क्षेत्रको भाषिक मौलिकतालाई आम नेपाली पाठकहरुमा परिचित गराउने प्रयास गरेको छ। त्यस क्षेत्रका केही ठेट शब्दहरुको प्रयोगले त्यहाँको मौलिकतालाई बढि स्वाभाविक ढंगले प्रस्तुत गर्न सम्भव भएको जस्तो लाग्छ । र आम पाठकहरुको सजिलोकोे निम्ति बेलाबेलामा कोष्ठकभित्र प्रचलित नेपाली शब्दहरु पनि लेखकले राखिदिएका छन् । ४२८ पृष्ठ लामो यो पुस्तकका सर्जक गगनसिहं थापा धन्यवादका पात्र छन् । तर पुस्तकमा रहेका केही भाषिक सम्पादनसगँ सम्बन्धित कमजोरीहरुलाई प्रकाशनपूर्व नै हटाउन सकेको भए अझै सन्तोषको विषय हुने थियो ।

पुस्तकबाट सानो अंशः दमै बाका लुगा सिउँदा चलेका औंलाहरु मलाई हेरुँ हेरुँ लाग्थ्यो । अनि दमै बालाई म सोध्थेँ– बा यो चाक्लो मुन्द्री औंलामा किन लगाउनु भा’को ? अनि दमै बा आफ्नो खुम्चिएको निधारका चाउरी तन्काउँदै मतिर पुलुक्क हेर्दै भन्नुहुन्थ्यो– यो मुन्द्री हैन क्या लाटा, यो त अगलवनु हो, सुयोले औंला न घोचोस् भनेर लगाएको । अनि म स्वीकृतिसूचक टाउको हल्लाउँदै भन्थें– बा मेरो भोटो राम्रोसँग सिइदेऊ है ।

पुस्तकः कर्णालीको छेउछाउ

लेखकः गगनसिहं थापा

प्रकाशकः हिक्मत थापा

आवरणः रमेश पौडेल

पृष्ठः ४२८+ १२
(Source: Hamrosansar.com)

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।