Wednesday, August 28, 2013

‘हामी सबै भएर पनि असन्तुष्ट छौं, उनीहरू केही नभए पनि सन्तुष्ट छन्’


नेपालका विकट गाउँ घुमेर ‘कुमारी कथा’ सुन्दा चर्चित हास्यकलाकार हरिवंश आचार्यलाई लाग्यो, ‘उनीहरूको दुखका अगाडि मेरो दुख त केही होइन रहेछ ।’
 
केही महिनाअघि ‘चिना हराएको मान्छे’ लेखेर चर्चामा चर्चा थपेका हरिवंश नेपालका पूर्वपश्चिमका दुर्गम जिल्लाका कथाहरू समेट्न गाउँगाउँ पुगे ।
 
अछामको विकट गाउँका १७ वर्षीय विक्रम औजीलाई भेट्दा उनलाई बाल्यकाल याद आयो । हरिवंशजस्तै विक्रमले पनि बच्चैमा बाबुआमा गुमाए, टुहुरा बने । 
 
हरिवंशलाई विगत सम्झँदा आफू जति अभागी कोही छैनजस्तो लाग्थ्यो ।
 
विक्रमको जीवनका अगाडि आफ्नो जीवनको दुख केही होइन रहेछ भन्ने लाग्यो उनलाई । हरिवंश विक्रमजस्तै कलिलै उमेरमा टुहुरा भएका थिए । हरिवंशको त लालनपालन गर्ने विन्दु दिदी थिइन् । विक्रमको त बाबुआमा नै एड्स लागेर मरे । जिम्मामा १५ वर्षीया बहिनी छोडेर ।
 
हरिवंशलाई अझै ज्यादा गहिरोसँग घोच्यो धरानका केही बालबालिका देखेर, जो आँखा देख्दैनन् । हरिवंश पुग्ने बित्तिकै उनीहरूले उनलाई छामेर भने, ‘हामीले तपाईंको टेलिफिल्म सधैँ हेर्छौं ।’
 
‘दृष्टि नहुनेले झन् मनको आँखाले हेर्दा रहेछन्,’ हरिवंशले सुनाए, ‘उनीहरु मेरा फिल्मको डायलग जस्ताको तस्तै बोलेर सुनाउन सक्थे ।’ धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका ती विद्यार्थीको आत्मविश्वास देखेर हरिवंश चकित परे । एकजना विद्यार्थीले भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएको सुनेर त मनै चसक्क भयो ।
 
धरानबाट अझै पूर्व जाँदा धनकुटाकी एक महिलाले लगातार चार सन्तान जन्मनेबित्तिकै गुमाइन् । उपचार गर्दा डाक्टरले भने, ‘भिटामिन कम भएर बच्चाहरू कुपोषणले खेर गए ।’ खानाको आहार नपुग्दा जन्मेपिच्छे सन्तानमात्रै गुमेनन्, प्रत्येकपटक बच्चा जन्मँदा उनको आँखाको ज्योति पनि गुम्दै गयो । यो थाहा पाएपछि उनले खानामा ध्यान दिन थालिन् । पाँचौ बच्चा बाँच्यो, तर उनको आँखाको ज्योति फिरेन । 
 
उनको आत्मविश्वास देखेर हरिवंश दंग परे । ‘उहाँ कसैको सहारा नलिई घरको सबै काम गर्नु हुँदोरहेछ,’ हरिवंशले भने, ‘हाम्रा गाउँगाउँमा कति धेरै नसुनिएका कथा छन् ।’ 
 
हजारौं अन्तर्वार्ता दिइसकेका हरिवंश अब छिट्टै यस्तै नसुनिएका कथाहरूको कार्यक्रम लिएर आउँदै छन् ।
 
एन्टेना फाउन्डेसनले निर्माण गरेको कार्यक्रम ‘मैले जे भोगेँ’ भदौ २२ गतेदेखि नेपाल टेलिभिजनमा प्रस्तुत हुने छ । दुई दर्जनभन्दा बढी व्यक्तिसँग कुरा गरिएको कार्यक्रमलाई ८ श्रृंखलामा बाँडिएको छ ।
 
विभिन्न भोगाइका मान्छेहरूलाई फरकफरक परिवेशमा भेट्दा हरिवंशलाई अभावमा पनि कसरी हाँस्न सकिँदो रहेछ प्रेरणा मिल्यो।
 
‘हामी सबैकुरा भएर पनि असन्तुष्ट छौं, उनीहरूसँग केही नभएजस्तो देखिए पनि सन्तुष्ट छन्,’ हरिवंशले भने, ‘त्यसैले मलाई लाग्छ, ‘यो कार्यक्रम सहरका धनीले हेर्नुपर्ने खालको छ । अभावमा कसरी निश्चल हाँस्ने उनीहरुले सिकाउँछन् ।’
 
सुदूर अछामको विकट गाउँमा छाउपडीको कथा गर्दा त्यहाँका स्थानीयले हरिवंशलाई भने, ‘छाउपडीमा राखेकी युवतीलाई भेटे तपाईं छिट्टै मर्नुहुन्छ ।’
 
हरिवंशले सोधे, ‘म उनलाई भेटेको कति समयमा मर्छु होला ?’
 
स्थानीयले जवाफ दिए, ‘दुई महिनाभन्दा त कुनै हालतमा बाँच्नु हुँदैन ।’
 
हरिवंशले तिनै कार्यक्रमहरूको सुटिङका दिन मंगलबार पुल्चोकमा ठूलो हाँसोसहित भने, ‘म ती बहिनीलाई भेटेर आएको ५-६ महिना भयो, मरेको छैन ।’
 
गाउँमा अझै यस्तो अन्धविश्वास छ । पश्चिमका धेरै गाउँमा बुढाबुढी, महिला र बालबच्चामात्रै छन् । युवा सबै निम्न आयको काम खोजेर भारत लागेका छन्।
 
‘देशको राजधानी नदेखेकाहरू भारतको राजधानी पुगिसकेका छन्,’ हरिवंशले भने, ‘गाउँका कथा सुन्दा लाग्यो, नेपालीका धेरै चुलो त दिल्लीको भरमा पो बलिरहेका रहेछन् ।’
 
कुनै बेला हरिवंशलाई आफ्नो दुख संसारकै ठूलो लाग्थ्यो । नेपाली गाउँसमाजका विभिन्न पात्रहरूको कथा सुन्दा उनलाई लाग्यो, ‘मैले भोगेको आफ्ना मान्छे गुमाउनु र अभाव भोग्नुको दुख त केही होइन रहेछ ।’
 
उनले कार्यक्रममा छाउपडी, शिक्षा, बाल यौन दुव्र्यबहार, अभिभावकविहीन बालबालिका, कुपोषण, बालविवाह, बाल हिंसा, अपांगताजस्ता विषयमा आधारित कुराकानी प्रस्तुत गर्नेछन् ।
Source: Setopati

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।