Thursday, August 15, 2013

एउटा पुलले जोडेको नेपाल



imageश्रावण ३१ - २०४३ सालतिरको कुरा हो, नेपालगन्जदेखि धनगढी जान मलाई बसबाट दुई दिन लागेको थियो । पहिलो दिन, कर्णाली किनारको चिसापानीमा बास बसियो । नेपालगन्जबाट गएको बसले कर्णाली नदीको पूर्वी किनारसम्म छोड्थ्यो । कर्णाली नदीले त्यहाँ बर्दिया र कैलाली जिल्लालाई छुट्याउँछ । कर्णाली नदीमा फेरी चल्थ्यो । बस साँझतिर पुगेको थियो, फेरी नचल्ने देखियो, अनि सानो डुंगाबाट कर्णाली पार गरियो । चिसापानी भनेको कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो । यो चुरे पहाड शृङखलाको फेदीमा अवस्थित छ ।
भनिन्छ, तराईमा चिसापानी सबैभन्दा बढी हावा चल्ने ठाउँ हो । अहिले चिसापानी सुदूर पश्चिमको एउटा पर्यटकीय गन्तव्य बनेको छ । ०४३ सालतिरको चिसापानीको पुरानो बस्ती अहिलेको गुल्जार रूपमा देखिएको छ । राम्रा होटल खुलेका छन् । भीडभाड बढेको छ । कणर्ालीको पूर्वपट्ट बर्दिया राष्ट्रिय निकुञ्ज छ । चिसापानीको जीवनमा आएको बदलावको कारण बीस वर्षअघि कर्णाली नदीमा निर्माण गरिएको एउटा पुल हो ।
२०५० साल मंसिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त पुलको उद्घाटन गरेका थिए । केबुल स्टेड बि्रज प्रविधिमा निर्मित कणर्ाली पुलको लम्बाइ पांँच सय मिटर छ । विशाल एक खम्बे अग्लो टावरमा त्यो लामो पुल ठडिएको छ । कणर्ाली पुलबाट महाकाली नदी १२६ किलोमिटर रहेको छ । त्यो पुल निर्माण आधुनिक नेपालको एउटा ऐतिहासिक परिघटना थियो । पुलको अभावमा नयाँ मुलुक भनिएका पश्चिम तराईका चार जिल्लामध्ये कैलाली र कञ्चनपुर तथा महाकाली अञ्चलका दार्चुला, बैतडी, डडेलधुरा र सेती अञ्चलको बझाङ, बाजुरा, डोटी, अछाम जिल्लाका वासिन्दाहरूको बाँकी नेपालसँगको अन्तरक्रिया मन्दगतिमा थियो । एउटा पुलको निर्माणले 'हामी पनि नेपालभित्रकै हौं' भन्ने भावको सामाजिकीकरण बढाएको छ । त्यसैले एउटा पुलको बीस वर्षीय वर्षगाँठलाई सुदूर पश्चिमका नौ जिल्लालाई जोड्ने वैकल्पिक गाँठ (सूत्र) का रूपमा परिभाषित गर्न त्यस क्षेत्रका वासिन्दाहरू रुचाउँछन् ।
पहिला भारततिरबाट रेल चढेर नेपाली सिमानामा पुग्नुपथ्र्यो । सुदूर पश्चिमका ती नौ जिल्लामा खटिएका बाहिरी जिल्लाका कर्मचारीहरू भारतकै बाटो भएर जानुपथ्र्यो । बाटोघाटो नभएकै कारणले जिल्लामा उनीहरू त्यति बस्न रुचाउँदैन थिए । नेपालकै अन्य क्षेत्रबाट दुई-तीन दिनको बाटो घुमेर जानुपर्ने बाध्यता थियो । चामल, नुन, तेल सबै थोक महंगो थियो । राजधानी काठमाडौंसँग अलगावको स्थिति थियो, बरु भारतको दिल्ली दूर थिएन । चिसापानीमा कर्णाली पुल बनेपछि त्यस क्षेत्रको मनोविज्ञानमा आएको प्रभावलाई नयाँ नेपालको यात्रा गर्नेले पढ्न जरुरी छ । लोकतान्त्रिक नेपालको नयाँ राज्यव्यवस्थाको प्राथमिक कार्यक्रमका रूपमा देशको आर्थिक, सामाजिक र सांस्कृतिक एकीकरण गर्न पुल एउटा सार्थक माध्यम भएको छ । त्यो क्षेत्र एक समृद्ध गौरवगाथा बोकेको, जैविक र सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य र स्रोतसाधनले भरिपूर्ण क्षेत्र थियो, हो । त्यसलाई आज एउटा पुलको निर्माणले नेपाली समाजमा उजागर गरिदिएको छ ।
कर्णाली पश्चिमपट्टकिो भूगोलका नेपाली वासिन्दाहरूमा जुन पहिचानको स्वरुप देखिएको छ, त्यो नेपालको अन्य क्षेत्रमा देखिँदैन । यसका केही मौलिक आयामहरू छन् । त्यस क्षेत्रका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका बस्तीहरूमा माथि सात पहाडी जिल्लाका अनुहार झल्किन्छन् । माथि पहाडबाट सोझै दक्षिण तराईका जिल्लामा यति विस्तारमा बसाइँ-सराइ अन्यत्र भेटिँदैन । पूर्वको झापालाई नै लिउँ । त्यहाँ सोझै माथिको पहाडी जिल्लाको नभई अन्य पहाडी जिल्लाहरूबाट समेत आएका छन् । त्यस्तै स्थिति मोरङ, सुनसरी, चितवन, नवलपरासी, रूपन्देहीमा भेटिन्छ । कणर्ाली पार गर्न सहज नभएको हुनाले त्यो क्षेत्रका सात पहाडी जिल्लाको प्राथमिकताको गन्तव्य तराईका जिल्ला कैलाली—कञ्चनपुर बन्यो र त्यसले एउटा फरक सामाजिक अन्तरक्रिया पनि गरायो । जो कालान्तरमा एउटा पहिचानको दाबीसाथ प्रकट भयो, जसलाई सुदूर पश्चिमेली भनिन्छ । त्यहाँका पुराना वासिन्दाहरूको पनि कणर्ाली पूर्वका जमातसंँगको पातलो सम्बन्ध थियो । कर्णाली पारिका मानिसहरूको पनि बसाइ कैलाली, कञ्चनपुरतिर नभएको होइन, तर यहाँ एउटा मूल प्रवृत्तिको कुरा गर्न खोजिएको हो । उत्तर—दक्षिणको अन्तरनिर्भरताको विशेष आकर्षणको मूलतत्त्व विगतमा बसाइँ-सराइको प्रवाह र सामाजिक—आर्थिक सरोकारहरूको क्रम पनि हो । अहिले देखापरेको संघीयता सम्बन्धी बहसमा सहमति—असहमतिका विषय आफ्नो ठाउँमा छन्, तर एउटा पुल नभइदिँदा लामो समयसम्म गुजि्रएको एक खालको सामाजिकताले गर्दा उत्पन्न भएको परिवेश र प्रभावले त्यस क्षेत्रमा एउटा मनोविज्ञान खडा गरिदिएको हो, जो अन्यत्र छैन । हो, पुल निर्माण भएपछि नेपालसँगको सम्बन्ध फराकिलो भएको छ । नयाँ-नयाँ पहिचानप्रतिको दृष्टिचेत थपिएको छ ।
अर्को रुझानलाई पनि हेर्न सकिन्छ । पूर्व—पश्चिम राजमार्गको कर्णाली पारिपट्टकिो खण्डमा रेमिटान्ससँग जोडिएर झुन्ड्याइने होर्डिङबोर्डहरू प्रायः भेटिँदैन । त्यसले के संकेत गर्छ भने अहिले पनि त्यस क्षेत्रका वासिन्दाहरू रोजीरोटीका लागि बाहिरिनुपर्‍यो भने प्राथमिकतामा छिमेकी भारतलाई नै रोज्छन् । नेपालकै अन्य भूगोलभन्दा बाक्लो रूपमा भारत जानेहरूमा त्यही क्षेत्रका मानिसहरू पर्छन् । सम्भवतः पुल नभइदिँदा ओहरदोहर समस्याले गर्दा उनीहरू जसरी तराईका जिल्ला झर्थे, त्यसैगरी रोजगारीका लागि सोझै भारत छिर्थे, त्यो एउटा परम्पराको रूपमा विकसित भयो । पुल बनिसकेर पनि त्यो परम्परा भंग हुनसकेको छैन । चिसापानीमै पनि सुदूर पहाडी जिल्लाबाट पैदल हिँड्दै दक्षिणतिर जाने लर्को भेटिन्छ । त्यसले एक प्रकारको पारम्परिक रुझानलाई प्रस्ट्याउँछ । लामो समयदेखिको भारतमा रोजगारीको सम्बन्धले गर्दा छिमेकी भारतीय राज्यहरूमा त्यस क्षेत्रका वासिन्दाहरूले विशेष पहिचानका सेवाहरूमा बर्चस्व स्थापित गरेका छन् । अहिले केदारनाथमा देखापरेको प्राकृतिक विपतामा ठूलो संख्यामा नेपालीहरू हराउनुको एउटा कारण यो पनि हो ।
पुल बन्नुभन्दा पहिला त्यस क्षेत्रका लागि प्रशासनिक बाहेक स्वास्थ्य, शिक्षा, व्यापार, सामाजिक सम्बन्ध सबै उतातिरै ढल्किएको थियो । पछिल्लो दुई दशकभित्रै गजबको बदलाव बढ्दै गएको छ । अब काठमाडौंमा पाइने सामान धनगढी र महेन्द्रनगरमा पनि पाइन्छ । केही पहाडी जिल्लाबाट समेत रात्रिबस चल्छ । स्वदेशी उत्पादनहरू कणर्ाली पूर्वबाट पश्चिम र पश्चिमी क्षेत्रबाट पूर्वतिर भित्रिएका छन् । स्वदेशी उत्पादन वा स्वदेशी व्यापारको सञ्जाल विस्तार भएको छ । खासगरी काठमाडौंसँंगको सम्बन्ध जोडिएको छ । पछिल्ला वर्षहरूमा त्यस क्षेत्रका वासिन्दाहरूको बाक्लो उपस्थिति राजधानीमा भएको छ । त्यस क्षेत्रबाट दैनिक उल्लेख्य संख्यामा मानिसहरूको ओहरदोहर भइराखेको छ । कर्णाली पूर्व सामाजिक सम्बन्ध जोडिने चलन बढेको छ ।
कणर्ाली पुल पूर्व—पश्चिम राजमार्गको एउटा भाग हो । पुलले बढाएको सक्रियताले राजमार्गमा लम्की, सुखड, अत्तरियाजस्ता बजारहरू फस्टाएका छन् । धनगढी, महेन्द्रनगर, टिकापुरमात्र होइन, पूर्व-पश्चिम राजमार्गसँग जोडिएका पहाडी सडकहरूले पनि घनिभूत ओहरदोहर बढाएको छ । पहाडी सदरमुकामको जग्गाको भाउ पनि अकासिँदै छ । अर्थात पुल विकासको सम्भावना भएर सुदूर पश्चिममा छरिएको छ । भूगर्भविद टोनी हागनले लेखेका थिए- बीसको दशकमा नेपालीहरूलाई सोध्दा अधिकांशले जवाफ दिन्थे, 'हामीलाई पुल चाहियो ।' सुदूर पश्चिमेलीको सन्दर्भमा हेर्दा त्यस क्षेत्रका वासिन्दाले त्यसको तीन दशकपछि मात्र नेपालसँग जोडिने कर्णाली पुल पाए । कर्णाली पुलले ल्याइदिएको आकांक्षाले सामाजिक—सांस्कृतिक क्षेत्रमा नयाँ-नयाँ सपनाहरू सजिन थालेका छन् । त्यसका लागि आआफ्नै तरिकाले सामुदायिक अभ्यासहरू हुनथालेका छन् ।
सुदूर पश्चिमेलीको सन्दर्भमा हेर्दा त्यस क्षेत्रका वासिन्दाले बीस वर्षअघि मात्र नेपालसंँग जोडिने कर्णाली पुल पाए ।
- Source: Ekantipur

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।