योगेश रावल कैलाली, भदौ ४
धनगढी नगरपालिका मिलन चोकबाट सोमबार अपहरणमा परेका बालक मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलमा भेटिएका छन्।
महेन्द्रनगरस्थित चौलानी होटलमा बालक रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली पुगेको थियो। त्यहाँ पुगेको प्रहरी टोलीले होटलमा रहेका बालक नै सोमबार अपहरणमा परेका तीन वर्षीय विनोद रावत रहेको बताएको छ।
आफ्नो नाम प्रेम बताउने २५/३० वर्षीय युवकले आफूलाई मोटर साइकलमा राखेर महेन्द्रनगर लगेको बालकले जानकारी दिएको प्रहरीले बताएको छ।
तर प्रहरीले बालकलाई अपहरण गर्ने व्यक्तिले होटलको 'इन्ट्री बुक' मा आफ्नो नाम सुरज पन्थ वर्ष २२ र ठेगाना सदरमुकाम बैतडी लेखेको पाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक ऋषीराम कँडेलले जानकारी दिएका छन्।
होटल सञ्चालकले दिएको जानकारी अनुसार बालक अपहरण गर्ने व्यक्ति सोमबार दिउसो ३ बजेर ३५ मिनेटमा होटल प्रवेश गरेको र मंगलबार बिहान साढे ५ बजे बाहिरिएको प्रहरीले बताएको छ।
उनी बिहान एटिएमबाट पैसा झिकेर आउँछु भन्दै बाहिरिएको होटल सञ्चालकले बताएको प्रहरी नायब उपरिक्षक कँडेलले बताए। उनका अनुसार निजले बालकको कानमा रहेको करिव आधा तोलाको सुनको रिङ लगेको छ।
प्रहरीले बालकलाई अभिभावकको जिम्मा लगाएको छ। सोमबार बिहान करिव साढे १० बजे धनगढी नगरपालिका मिलन चोकबाट ती व्यक्तिले आमाको सामुन्नेबाटै बालकलाई अपहरण गरेका थिए। उनले बालककी आमालाई पसलमा लगेर चकलेट किनि दिन्छु भन्दै अपहरण गरेका थिए।
साढे १० बजे अपरिचित व्यक्तिले चकलेट किनिदिन्छु भनेर लगेको छोरो फर्केर नआएपछि बालककी आमा लक्ष्मीले दिउसो १ बजे मात्रै प्रहरीलाई घटनाका बारेमा खबर गरेकी थिईन।
प्रहरीले घटनाको जानकारी पाए लगत्तै जिल्लाका सबै नाकामा चेकजाँच बढाएको थियो। प्रहरीले घटनास्थलबाट २ किलोमिटर मात्रै दक्षिणतर्फ नेपाल–भारत सीमा भएकाले भारतीय प्रहरीलाई समेत सहयोग मागेको थियो।
Source: Setopati
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।