प्रकाश लामा ललितपुर(पाटन), भदौ १२
भगवान श्रीकृष्णको जन्मदिवसलाई हिन्दुहरुले चाडको रुपमा भव्यता पूर्वक मनाउँछन्। आज तीनै भगवान कृष्णको जन्म दिन अर्थात कृष्णजन्माष्टमी हो।
यो चाड नेपाल, भारतलगायत विश्वभर रहेका हिन्दु धर्मालम्बीहरुले कृष्णको पुजा आजा गरि मनाउँछन्। द्वापरयुगमा भगवान विष्णुका आठौँ अवतारको रुपमा भगवान कृष्णको आजकै तिथीमा जन्म भएको थियो।
उनैको जन्म दिवस मनाउन अहिले ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको कृष्णमन्दिर लगायत मुलुकका अन्य कृष्ण मन्दिरमा भक्तजनहरुको उपस्थिति बाक्लो भैसकेको छ।
कृष्ण जन्माष्टमीमा ब्रतबस्ने महिलाहरु आज रातभर जाग्राम बस्छन्। उनीहरु अहिले कृष्ण मन्दिर अथवा घरमै पनि दर्शन पुजा– आजा र भजन गर्दै जाग्राम बस्छन। कृष्ण रातीमा जन्मेको भएकोले राती देखि ब्रत र जाग्राम बसेर भजन किर्तन र नाच गान समेत गर्ने चलन छ।
हिन्दु दर्शनमा भगवान श्रीकृष्णलाई ज्ञानयोग , कर्मयोग र भक्ति योगका प्रणेताका रुपमा व्याख्या गरिएको छ। भगवान श्रीकृष्णका बारे पूर्वीय साहित्यमा अनेक कथा लेखिएका छन्। तीनै कृष्णको जन्मदिनलाई हिन्दुहरुले महान चाडको रुपमा मनाउने गरेका छन्।
पौराणिक कथन अनुसार कृष्ण अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मीएका थिए।
श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन्।
महाभारतको युद्धमा अर्जुनलाई दिइएका उपदेशको एउटा खण्ड नै 'श्रीमद्भागवतगीता' हो। जसलाई हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। श्रीमदभागवत गीतामा जीवन, ज्ञान र कर्मका बारेमा भगवान कृष्णले दिएका उपदेशहरु छन्।
बाल्यकालदेखि नै आफ्ना विचित्र लिला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको जनविश्वास गरिन्छ।
अहिले पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा कृष्णको जन्मोत्सव मनाउन र श्री कृष्णको पूजा अर्चना गर्न भक्तजनको घुइँचो लागिसकेको छ । काठमाडौ, ललितपुर, भक्तपुर लगायतका ठाउँबाट दर्शनार्थीहरुको आउने क्रम बाक्लिएको छ । दर्शनका लागि लागेको लाइन निक्कै लामो भइसकेको छ ।
पाटन बाहेक काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ। भने तराइका जिल्लामा श्रीकृष्णको विभिन्न रुप दर्साएको सचित्र झुला पर्व मनाउने गरिन्छ।
यसैबीच आजैका दिनदेखि हिन्दु महिला हरुको चाड तीज पनि सुरु हुन्छ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।