Tuesday, September 17, 2013

टीकापुरमा पनि गरियो “कर्णालीको छेउछाउ”माथि अन्तरक्रिया


३० भदौ, टीकापुर, कैलाली । आख्यानकार गगनसिंह थापाद्धारा लिखित कर्णालीको छेउछाउमाथि सनिबार  कैलालीको टिकापुरमा  पनि  अन्तरक्रिया गरिएको छ ।
“गजल गोष्ठि, सुदूर र मध्यपश्चिमाञ्चलस्तरीय गजल प्रतियोगिता–२०७० का विजेतालाई पुरस्कार  वितरण एवं “कर्णालीको छेउछाउ” कृतिमाथि अन्तरक्रिया” नामक उक्त कार्यक्रममा समालोचक फणीन्द्रराज रेग्मीले कृतिमाथि समीक्षा गर्दै  कृतिले कर्णालीको समग्र तस्वीरलाई दुरुस्त उतारेको धारणा राख्नुभयो भने प्राज्ञ ललिजन रावलले कर्णालीको छेउछाउमा उपन्यासकार थापाले आफ्ना अनुभूतिहरुलाई आख्यानको रूपमा प्रस्तुत गर्नुभएको  कुरा राख्नु भयो ।
त्यस्तै कवि रमेश पौडेलले कर्णालीको छेउछाउ छुँदा कर्णाली नै छोएजस्तो हुने भएकोले एउटा मानक आञ्चलीक कृतिको रुपमा रहेको बताउनु भएको थियो भने  कृतिकार थापाले नेपाली मानव, भाषा, साहित्यको सभ्यता कर्णाली क्षेत्रबाटै भएको बताउँदै आफूले सो कृतिमा कर्णालीको दुःखलाई उजागर गरेको बताउनु भयो ।
सोही समारोहमा रेडियो नमस्ते ९६.५ मेगाहर्जले आयोजना गरेको सुदूरं तथा मध्यपश्चिमाञ्चल स्तरीय गजल प्रतियोगिता २०७० मा पुरस्कृत प्रतीभाहरुलाई समारोहका प्रमुख अतिथि प्राज्ञ ललिजन रावलले पुरस्कार प्रदान गर्नुभएको थियो । 
सो प्रतियोगितामा अनिल थापा टीकापुर प्रथम, खगेन्द्र शर्मा अकुट सुदामा बलिया द्वितीय र शंकर विके सङ्गम पथरैया तृतीय हुनुभएको थियो । सो गजल माहोल दुई दर्जन प्रतियोगी र अतिथि गजलकारहरुले आ–आफ्ना गजलहरु वाचन गर्नु भएको थियो । रेडियो नमस्तेका प्रबन्ध निर्देशक कर्ण कुँवरको अध्यक्षतामा भएको सो समारोहमा रेडियोका स्टेशन म्यानेजर परमानन्द पाण्डेले स्वागत गर्नुभएको थियो ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।