योगेश रावल कैलाली, २७ भदौ
दोस्रो बिहे गरेर श्रीमान अर्कैसँग हिँडेपछि लक्ष्मी चौधरीका दुःखका दिन सुरु भए। जीवनभर साथ दिने वाचा गरेको श्रीमान नै अर्कैसँग हिँडेपछि उनलाई सहारा दिने कोही भएन।
बलिया गाविस वडा नम्बर ३ की लक्ष्मीका श्रीमान दश वर्ष अघि अर्कै महिलासँग दोस्रो बिहे गरेर हिँडे। लक्ष्मीले उनी भारततर्फ गएको भन्ने मात्रै सुनेकी छन्। अहिलेसम्म श्रीमानका बारेमा कुनै जानकारी पाउन सकेकी छैनन्।
श्रीमान अर्कैसँग भागेपछि एक्लो बनेकी लक्ष्मीलाई जीविकोपार्जनमा निकै समस्या भयो। पोइली घरमा बस्न नसक्ने अवस्था आएपछि उनी माइतीमा शरण लिन पुगिन्। तर माइतीको बसाई पनि उनका लागि त्यत्ति सहज बनेन्।
आम्दानीको स्रोत केही नभएपछि माइती घरमा समेत उनलाई बस्न निकै अफ्ठ्यारो भयो। अर्काको आश्रयमा बाँच्नु पर्दा उनलाई सबैले हेला गर्न थाले।
'अर्काको भरोसमा बाँच्दा सबैले हेला गर्ने नै भए' उनले भनिन्–'त्यो स्वभाविक पनि हो।'
सबैले हेला गर्न थालेपछि चिन्तित बनेकी लक्ष्मीले रोजगारी खोज्न थालिन। न उनी पढे लेखेकी थिईन न उनले आफै कुनै व्यवशाय गर्न सक्थिन्। यस्तो अवस्थामा उनका लागि रोजगारीको भरपर्दो माध्यम मजदुरी मात्रै थियो।
उनले गाउँ नजिकैको एक जना ठेकेदारसँग मजदुरीका लागि आग्रह गरिन्। ठेकेदारले उनलाई रोजगारी दियो। दिनभर घर निर्माणमा सघाउने उनको रोजगारीको यात्रा सुरु भयो।
मजदुरीले मात्रै लक्ष्मीको चित्त बुझेन। उनले यो भन्दा धेरै सिप सिक्ने प्रयास गरिन्। अर्थात् उनले डकर्मी बन्ने सोच बनाईन्।
'मजदुरी गरेर मात्रै कति दिन काम गर्न सकिन्छ। केही थप सिप पनि सिक्नुपर्छ भन्ने सोच मनमा पलायो' उनले भनिन्–'आम्दानीका लागि पनि मजदुरी भन्दा माथिल्लो स्तरको काम गर्नै पर्ने भयो।'
सुरुमा त उनको डकर्मी बन्ने सोचलाई धेरैले कल्पना मात्रै बताए। उनको कुरालाई कसैले सुने कसैले सुन्ने प्रयास पनि गरेनन्। तर लक्ष्मीको इच्छाशक्तिका अघि कसको के लाग्थ्यो र? उनले डकर्मी बन्ने यात्रा सुरु गरिन्। उनको डकर्मी बन्ने यात्रामा सघाउन आई पुग्यो टीकापुर सिप विकास केन्द्र।
युरोपियन युनियन र हेल्भिटासको आर्थिक सहयोगमा केन्द्रले लक्ष्मी जस्तै नौ जना महिलाहरुलाई डकर्मी तालिम दियो। पुरुषको मात्रै आधिपत्य रहेको डकर्मी पेशामा महिलाको प्रवेश निकै चुनौतीपूर्ण थियो। तैपनि केन्द्रले महिलाहरुलाई डकर्मी बनाउने अठोटका साथ तालिम सञ्चालन गर्यो।
केन्द्रले डेढ वर्ष अघि प्रदान गरेको तीन महिने डकर्मी तालिमबाट प्रशिक्षित भएका नौ जना महिलाहरु अहिले डकर्मी पेशामा व्यस्त छन्। उनीहरु घर निर्माण लगायतका काममा जुटेका भेटिन्छन्।
सरकारी तथा निजी घर निर्माणको ठेक्का लिन्छन् लम्कीका कुलबहादुर थापा। तर घर निर्माणको सबै काम गर्छन् लक्ष्मी लगायतका महिलाहरु। उनीहरु विगत लामो समयदेखि थापासँगै काम गर्दै आएका छन्।
पुरुषले निर्माण गरेको घर भन्दा महिलाहरुले निर्माण गरेको घरमा कुनै भिन्नता छैन। अझ ठेकेदार थापा महिलाहरुले इमान्दारीपूर्वक भनेको समयमै काम सम्पन्न गर्ने गरेको अुनभव सुनाउँछन्।
'महिलाहरुलाई डकर्मी काम गराउन सुरुमा निकै गाह्रो थियो। अहिले त निकै सजिलो भएको छ' ठेकेदार थापाले भने–'घर निर्माण गर्नेले उनीहरुमाथि विश्वास नगरेका कारण समस्या भएको थियो।'
महिलाहरुले घर निर्माण गर्ने हुन् भन्दा धेरैले सम्झौता गरेको काम पनि रद्द गरेको अनुभव ठेकेदार थापासँग छ। तर उनले हिम्मत हारेनन्। लम्की चोकबाट उत्तरतर्फ रहेको एक घर निर्माणमा थापाले घरधनीलाई जसोतसो मनाए।
त्यो घर निर्माण गर्दा धेरैले महिलाहरुले काम गरेको देखेर रमाइलो माने। जब हेर्दा हेर्दै महिलाहरुले घर तयार गरेर देखाए। त्यसपछि उनीहरुको कामको चर्चा हुन थाल्यो।
'त्यसपछि कसैले महिलाहरुको काम प्रति शंका व्यक्त गरेनन्' ठेकेदार थापाले भने।
ठेकेदार थापाले अझै धेरै महिलाहरुलाई डकर्मी पेशामा आत्मनिर्भर बनाउने योजना रहेको बताए।
लक्ष्मी मात्रै हैन बलिया गाविस भुरुवाकी सुनिता चौधरी, वडा नम्बर ८ की गंगा चौधरी, तुल्सी चौधरी लगायतका महिलाहरु डकर्मी पेशामा आत्मनिर्भर बन्दै गएका छन्। उनीहरुले डकर्मी पेशाबाट भएको आम्दानीले घरखर्च चलाउने मात्रै
नभई छोराछोरीलाई राम्रो शिक्षादिक्षा प्रदान गर्ने गरेका छन्।
सामान्य मजदुरी गर्ने व्यक्तिले दैनिक २ सय रुपैया पाउने गरेकामा डकर्मी महिलाहरुले दैनिक ३ सय रुपैया पाउने गरेका छन्। तर उनीहरुको दैनिक ज्याला पुरुषको भन्दा कम छ। पुरुषले यही कामका लागि दैनिक ४ सय पाउने गर्छन्।
पुरुषको तुलनामा एक सय रुपैया कम ज्याला पाउँदा पनि महिलाहरु खुशी नै छन्। 'कम्तिमा यो अवस्थासम्म पुगिएको छ। यो पनि धेरै हो' सुनिता चौधरीले भनिन्–'आफ्नो खुट्टामा उभिन पाएका छौ।'
पुरुषहरुको मात्रै बाहुल्यता रहेको डकर्मी पेशामा महिलाहरुको प्रवेशलाई धेरैले सकारात्मक रुपमा लिने गरेका छन्।
- Source: Setopati.com
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।