Sunday, September 8, 2013

मौलिकता हराउँदै आधुनिकतातर्फ तिज


पहिले–पहिले सासू, घर परिवारबाट प्रताडित महिलाले तीज पर्वलाई आफ्नो दुःख बिसाउने र मनका विरहलाई सामूहिक रुपमा व्यक्त गर्ने माध्यमका रुपमा लिन्थे। परिवर्तित समयसँगै महिलाले तीजमा व्यक्त गर्ने भावसमेत परिवर्तन हुन थालेको छ।  



'तीजको लहर आयो बरी लै....' को लोकप्रियता अझै कायम रहेको भए पनि समयको परिवर्तनसँगै तीजमा 'पोइल जान पाम्....' भन्ने जस्ता शब्द भरिएका गीतले मौलिकताबाट आधुनिकतातर्फ धकेल्दैछ। 
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी भने यसरी तीजका गीतमा आएको परिवर्तनलाई स्वभाविक रुपमा हेर्छन। 'महिलाले हामी मात्र के कम भन्दै आफ्नो अधिकारलाई गीतमार्फत् खोज्ने काम गरेका छन्,' जोशी भन्छन्।  
उनीहरु पनि जीवन रथका दुई पाङ्ग्रामध्येका एक हुन् त्यसैले उनीहरुलाई यो गीत गाऊ, यो नगाऊ, कपडा, गहनामा पनि नियन्त्रण गर्नेजस्ता कार्य गर्न नहुने भन्दै उनले वर्षको एकपटक आउने तीज पर्वमा महिलाले गरेका क्रियाकलापको नकारात्मक टिप्पणी गर्न नहुने बताए।
उनले गीत सङ्गीतमा नयाँ धार आएको भन्दै एकाध गायक गायिकाले अपवादका रुपमा नकारात्मक, नेपाली समाजलाई नसुहाउने गीत गाउँदैमा विकृति आएको भन्न नमिल्ने बताए।
वरिष्ठ लोकगायिका हरिदेवी कोइराला पछिल्ला दिनमा आएका तीजका गीतले आफ्नो मौलिक भाका र पहिचान गुमाउँदै गएको बताछिन्। उनले तीजका गीतको मर्म र भाव मरेको र ती गीत रत्यौली गीतजस्ता भएकोमा गुनासो गरिन्।“पहिलेका गीतहरुमा मातृत्व, भातृत्व तथा सामाजिक पीडा समेटिन्थ्यो, अहिलेका गीत व्यावसायिक बनाउने होडमा परम्परागत मूल्य र मान्यताविरुद्ध गएका छन्”–गायिका कोइरालाले भनिन्।
एकाउन्न वर्षीया मनकुमारी शाहले समयसँगै परिवर्तन हुँदै गएको तीज पर्वलाई सहजै स्वीकार्नु भएको छ। हाम्रा पालामा छरछिमेकका महिलालाई बटुलेर तीजमा नाचगान गरिन्थ्यो, अहिले कहाँ कहाँका महिलाहरु एकसाथ जम्मा भएर तीज मनाउनु र नाचगान गर्नु राम्रो पक्ष भएको बताउछिन्।
उनलाई त पहिलाको भन्दा अहिले मनाएको तीज पो रमाइलो लाग्ने गरेको अनुभव सुनाउँदै भनिन्,“अहिले विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाले दर खाने कार्यक्रमको आयोजना गर्ने गरेका छन्, यसले महिलाबीच एकआपसमा सद्भाव बढाएको छ।”
अहिलेका गीतमा सामाजिक न्याय तथा समानता, अधिकार प्राप्तिको विषयलगायतलाई आधार बनाएर राजनीति राप, ताप, चेतना प्रदान गर्न विभिन्न राजनीतिक दलका नेतृत्व सहभागी भई महिला समुदायलाई बलियो ढाडस दिँदै सङ्गठन विस्तार गर्ने माध्यमका रुपमा पनि तीज पर्वलाई उपयोग गरिएको छ। 
यता अख्तियारले दिएको निर्देशनका कारण पार्टी प्यालेस बन्द हुने अवस्थामा पुगेको बिजुलीबजारस्थित हुकुम पार्टी प्यालेसका निर्देशक रुपक उप्रेती दुखेसो पोखछन्। सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली २०३३ अनुसार महँगा अन्य साँस्कृतिक कार्यक्रम नगर्न र नगराउन अख्तियारले सम्बन्धित निकायमार्फत सूचना जारी गरेका कारण आफ्नो पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुनै छाडेको उनले बताए।
वसुन्धारास्थित दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेसका व्यवस्थापक मदन भण्डारीका अनुसार गत वर्षभन्दा ७० प्रतिशत तीजको कार्यक्रम घटेको छ। अग्रिम बुकिङ भएका तीजका कार्यक्रमसमेत स्थगित भएका छन्। अघिल्ला वर्ष तीज आउन दुई महिनाअघिदेखि कार्यक्रम भएकोमा यस वर्ष तीज आउन दुई दिन बाँकी छँदा पनि एउटा मात्र कार्यक्रम भएको त्यो पनि आयोजना गर्ने व्यक्तिले नाम नम्बर केही पनि नदिइकन कार्यक्रमको अग्रिम भुक्तानी गरेर साँझ आई कार्यक्रम गरेर गएको उनले बताए।
अख्तियारका कारण पार्टी प्यालेस सुनसान भएकोमा उनीहरुको चित्त दुखाइ छ। उनीहरुले पार्टी प्यालेस व्यवसायीसँग छलफल नै नगरी गरिएको अख्तियारको निर्देशनप्रति निकै गुनासोसमेत व्यक्त गरे।  (अञ्जली रम्तेल)रासस

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।