राजु घिसिङ
काठमाडौ, भाद्र २२ - नेपालले भारतलाई हराएको जनाउ दिन रेफ्रीले सिट्ठी मात्र के फुकेको थियो, दशरथ रंगशालामा चर्को गीतै घन्कियो, 'गोर्खालीको छोरो हुँ म....।' नेपालीहरू प्यारापिटमै नाच्न थाले । सँगसँगै चिच्याए, 'नेपाल..नेपाल । कसले जित्यो ? नेपालले ।'
१८ हजार दर्शकले भरिभराउ प्यारापिटमा युवाकै वर्चस्व थियो । धेरैले मुहारमा राष्ट्रिय झन्डा 'चन्द्र-सूर्य' लेखाएका थिए । उनीहरू भारतविरुद्ध जितपछि रंगशालाबाट बाहिरिँदा पनि 'नेपाल नेपाल' नारा लगाउँदै घर फर्केका थिए । खेल सकिएको एक घन्टापछि नेपाली राष्ट्रिय टिम एभरेस्ट होटल र्फकंदा त्यसको गेटमै नेपालको झन्डा फहराउँदै एक हूल युवा चिच्याइरहेका थिए, नेपाल..नेपाल ।
नेपालले भारतको सिनियर टिमविरुद्ध ९० मिनेटको खेलमा इतिहासकै पहिलो जित रच्दै बिहीबार आठौं साफको सेमिफाइनलमा प्रवेश गरेको थियो । 'त्यही जितले अपार खुसियाली ल्याएको हो,' कुपन्डोलका सरोज केसीले भने, 'हाम्रोभन्दा सयौं गुणा धेरै लगानी गरेको टिमलाई हराउनु साँच्चिकै रमाइलो हुन्छ ।' यी १८ वषर्ीयले थपे, 'हामी युवा मात्र होइन, बूढापाका र फुटबलै नबुझेका बच्चा पनि खुसी छन् । किनभने नेपालले जितेको छ । फुटबल प्रगतिको पथमा बढेको छ । यो सफलताले युवामा जोस थपेको छ ।'
नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई २-१ र बंगलादेशलाई २-० ले हरायो । पाकिस्तानसँग १-१ को बराबरी खेलेर नेपाल समूह 'ए' मा विजेता नै बन्यो । यो नै १६ वर्षे साफको इतिहासमा सबैभन्दा राम्रो प्रदर्शन हो । त्यसैले त फुटबल मैदानको सफलताले रंगशालाको घेरा नाघ्दै चिया गफ, टि्वटर, फेसबुकलगायत सोसियल मिडियाको मुख्य विषयवस्तुकै रूप लिएको छ । अधिकांश स्ट्याटसमा खुसी र केही गरौं भन्ने भावना फुटबलले जगाएको छ ।
यति धेरै खुसी किन ? युवा नेता गगन थापाले भने, 'नेपाली जनताले खुसी हुने कारण भेटेको छैन । राजनीतिले निराश बनाएको छ । जोड्न सक्ने केही दिएको छैन, विभाजन मात्र ल्याएको छ । नेपालीलाई साझा थलोमा जोड्ने माध्यम फुटबल बनेको छ ।
त्यसैले जितले खुसी दिनु स्वाभाविक हो ।' उनले नेपाली राजनीतिमा भारतीय प्रभावको प्रतिक्रिया खेलमा परेको बताए ।
खेल प्रत्यक्ष हेर्ने थापा एक्लो राजनीतिकर्मी होइनन्, एमाले नेता केपी ओली, माओवादीका जनार्दन शर्मा र टोपबहादुर रायमाझी, कांग्रेसका महामन्त्री प्रकाशमान सिंह, युवा नेता थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालविरुद्ध भारतको खेल हेर्न रंगशाला नै पुगेका थिए ।
एक साताको कार्यक्रम सूची नै बनाउने गरेका कांग्रेस महामन्त्री सिंहले उम्मेदवार चयनको व्यस्तताबीच फुटबल हेर्न ३ घन्टा छुट्याएका थिए । खेल हेरेपछि उनले भने, 'फुटबलमा जस्तै राष्ट्रियताको भावनाले टिम स्पिरिटसहित काम गरे चाँडै संविधान बन्नेछ ।'
रंगशालामै नपुगे पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेताहरू रामशरण महत र देवेन्द्रराज पाण्डेले पनि फुटबलको सफलतामा टि्वट गर्न भ्याएका थिए । अभिनेता जीवन लुइँटेल फिल्म सुटिङ गर्दागर्दै भक्तपुरबाट रंगशाला हान्निएका थिए । व्यस्तताबीच कलाकारहरू दीपकराज गिरी, जितु नेपाल, लोक गायक बद्री पंगेनी राष्ट्रिय झन्डा फहराउँदै प्यारापिटमा देखिएका थिए । घन्टौं लाइनमा बसेर रंगशाला प्रवेश गरेका दर्शकहरूले प्यारापिट खचाखच त छँदै थियो । नेपालको तीनै खेलमा रंगशाला भरिएको थियो ।
त्यसैले प्रशिक्षक ज्याक स्टेफनोस्कीले नेपाली दर्शकलाई १२ औं खेलाडीको संज्ञा दिए । कप्तान सागर थापाले भने, 'घरेलु मैदान र दर्शकको साथले सधैं राम्रो खेल्न प्रेरित गर्छ । उनीहरूले नै ऊर्जा थपेपछि भारतविरुद्ध नसोचेको जित निकाल्यौं । अब हामी सेमिफाइनल र फाइनल जित्दै पहिलोपल्ट साफ च्याम्पियन भएर उनीहरूलाई खुसियाली बाँड्न चाहन्छौं ।'
अहिलेजस्तो माहोल र राम्रो नतिजासँगै नेपाली फुटबलले राम्रो लय समातेको संकेत दिएको छ । सन् १९८४ को प्रथम दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दाका खेलाडी धिरेन्द्र प्रधानले भने, 'दर्शकले टिकट नै नपाएको र रूखमा चढेर खेल हेरेको दशकअघिसम्म देखेको थिएँ । खेल सुरु हुनु चार घन्टाअघि नै टिकट सकिएको र कालोबजारीमा बिक्री भएको देख्दा अहिले नेपाली फुटबलमा लहर फर्केजस्तो लागेको छ ।' सन् १९९४ र १९९३ मा जितेको स्वर्ण नै नेपालको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा ठूलो सफलता हो ।
नेपाल दुई दशकयता उपाधिविहीन छ । पछिल्लो नतिजा झन्-झन् निराशाजनक रहे । त्यसैले सर्वाधिक लोकपि्रय खेल ओरालो लाग्दै गएको थियो । यही समयमा लगातारको सफलतासँगै फुटबलको प्रतिस्पर्धीको रूपमा क्रिकेटले छलाङ मार्न थाल्यो । यही समयमा साफ च्याम्पियन हुँदै फुटबलको साख जोगाउने अभियानमा नेपाली टिम लागेको छ । र, राम्रो सुरुआत पनि गरेको छ ।
नेपालका पूर्वकप्तान राजुकाजी शाक्य भन्छन्, 'विगतमा राम्रो खेलेर पनि जित हात पार्न सकेको थिएन । अहिले सही समयमा टिमले राम्रो लय समातेको छ । नियमित गोल गर्न थालेको छ । जित हात पार्न थालेको छ । यस्तो प्रदर्शन र नतिजाले फुटबललाई सधैं सर्वाधिक लोकपि्रय खेलका रूपमा राख्नेछ ।' राष्ट्रिय क्रिकेट टिमका अधिकांश खेलाडी फुटबल टिमलाई उत्साहित पार्न प्रायः सधैं रंगशाला पुग्ने गर्छन् । उनीहरू टिकट किनेरै खेल हेर्छन् । स्वणिर्म लयमा रहेको नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भने, खेलले देश चिनाउने काम गर्छ । अहिले फुटबलले गरिरहेको छ ।'
-Source: Ekantipur
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।