Sunday, September 8, 2013

दाहालले दिए धम्की : तागत भए मलाई थुन


काठमाडौं — एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया भाँड्न खोजे देशभरका मुद्दा ब्युँताउने धम्की दिएका छन्। छोराको हत्यारा पक्राउ गराउन गोरखा, फुजेलका नन्दलाल अधिकारी दम्पतीको अनशनले सरकारमाथि चौतर्फी दबाब बढाएपछि दाहालले 'द्वन्द्वकालीन मुद्दा अघि बढाउने' प्रयास गरे युद्धकालमा मारिएका माओवादी नेता-कार्यकर्ता तर्फबाट अभियानकै रूपमा मुद्दा हाल्ने चेतावनी दिएका हुन्।
पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष दाहालले नन्दलाल अधिकारी लगायत नामबाट माओवादीलाई फसाउने र पार्टी बद्नाम गराउने उद्देश्यसहित मुद्दा हालिएको आरोप लगाउँदै पार्टी तर्फबाट पनि अभियान चलाउनुपर्ने प्रस्ताव गरे । एमाओवादीले यही विषयमा केन्द्रित भएर विशेष प्रस्ताव पारित गरेको छ ।

'हाम्रा नेता÷कार्यकर्तालाई फसाउने र पार्टीलाई बद्नाम गराउने उद्देश्यसहित फुजेलको घटना उचाल्ने काम भएको छ,' दाहाललाई उद्धृत गर्दै सहभागी स्रोतले नागरिकसँग भन्यो, 'उनीहरू त्यसरी जान्छन् भने हामीले पनि मारिएका नेता÷कार्यकर्ताका पक्षबाट मुद्दा हाल्नुपर्छ ।' मुद्दा हाल्ने जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयले लिने उनले बताए ।

आफ्नो नेतृत्वमा युद्ध भएकाले सम्पूर्ण हत्याहिंसाको जिम्मेवारी आफूले लिने उल्लेख गर्दै दाहालले भने, 'मेरै नेतृत्व र निर्देशनमा द्वन्द्वकालीन घटना भएका हुन्, त्यसको जिम्मेवारी मै लिन्छु, तागत छ भने पहिला मलाई र बाबुरामजी लगायत शीर्षनेताहरूलाई पक्राउ गरेर देखाऊ, हैन भने चुपचाप बस ।'

दाहालले द्वन्द्वकालमा मारिएका नेता÷कार्यकर्ता तथा विपक्षका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् हल गर्नुपर्ने उल्लेख गरे । 'व्यक्ति–व्यक्ति तोकेर मुद्दा हालिन्छ भने हामी पनि हातमा दही जमाएर बस्नु हुँदैन,' दाहालले बैठकमा भने, 'हामीले आफ्नो तर्फबाट मुद्दा हाल्न तयारी अवस्थामा रहनुपर्छ, त्यसका लागि म तपाईंहरूलाई निर्देशन दिन्छु ।'

दाहालले नामै किटेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री गोविन्दराज जोशी, देवेन्द्रराज कँणेल लगायत द्वन्द्वकालमा सरकारी जिम्मेवारीमा रहेका कांग्रेस÷एमाले नेताविरुद्ध मुद्दा हाल्ने चेतावनी दिए ।

मानवअधिकारका नाममा विदेशी डलरको भरमा द्वन्द्वकालीन मुद्दा ब्युँताउने प्रयास जारी रहे सम्पूर्ण पार्टी कार्यकर्ता जेल जान तयारी अवस्थामा बस्नुपर्ने उनले उल्लेख गरे ।

'उनीहरू द्वन्द्वकालीन मुद्दा व्यक्तिगत रूपमा उचालेर हामीलाई साँच्चै फसाउन चाहन्छन् भने हामी लाखौं जेल जानुपर्छ,' दाहालले निर्देशन दिँदै भने, 'तपाईंहरू 'जेल भर अभियान'का लागि तयारी अवस्थामा रहनुहोस् ।'

बैठकले द्वन्द्वकालीन मुद्दाबारे विशेष प्रस्ताव पारित गरेको छ । 'दसौं हजार बेपत्ता र घाइतेहरूका विषयमा सम्बद्ध पक्ष उदासिन रहने, तर एकाध द्वन्द्वकालीन घटनालाई एकपक्षीय ढंगमा अतिरञ्जित प्रचारबाजी गर्ने गरिएको छ, फुजेलका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीय ढंगले उचालेर समग्र शान्ति प्रक्रियाको जग नै भत्काउन खोजेको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' केन्द्रीय समितिद्वारा पारित प्रस्तावमा भनिएको छ, 'यी प्रकरण कसैको अदृश्य गुरुयोजनाअनुसार भइरहेकोे सहजै बुझ्न सकिन्छ ।'

'यस विषयलाई लिएर ऐतिहासिक जनयुद्धको नेतृत्वकर्ता र बृहत शान्ति सम्झौताको पहलकर्ता तथा हस्ताक्षरकर्ताको नाताले हाम्रो पार्टी गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी सम्बन्धित सबैलाई दिन चाहन्छ,' पारित प्रस्तावमा भनिएको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले द्वन्द्वकालीन मुद्दाको प्रक्रिया अघि नबढाउन र गिरफ्तारी आदेश फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय भएको बताए । उनका अनुसार माओवादीले यही विषयलाई लिएर मंगलबार अन्तरिम चुनावी सरकार प्रमुख खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाउँदैछ ।
- Source: Nagriknews

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।