Monday, December 30, 2013

अमेरिका-क्यानडामा नेपाल हाँक्ने ड्राइभर दाइ


अमेरिका-क्यानडामा नेपाल हाँक्ने ड्राइभर दाइ
एडमन्टन (क्यानाडा)– आफूलाई लाग्या कुरा बोल्न उनलाई कुनै धक अफ्ठ्यारो लाग्दैन। संघर्षका किस्सा सुनाउन उनलाई लाज होइन गर्ब लाग्छ। बोलिका रसिक र ब्यबहारमा छरितोपनमा प्रकट हुने मझौला कदका एक अधबैँसे नेपाली उनले गर्ने एक अनौठो कामका कारण उतर अमेरिकाका नेपाली र रैथानेमाझ चर्चाको विषय बनेका छन्। उनले गर्ने दैनिक कामका कारण उनले सधैँ 'नेपाल?', 'कहाँ छ यो?', 'ओहो नेपाल?' 'तिमी नेपाली?', 'कति खर्चमा घुमेर आइन्छ नेपाल?' आदि आदि चासो र जिज्ञासाका उत्तर दिइरहनु पर्छ उनलाई। आफ्नो देसबारे आँखा फारेर दिलचस्पीका साथ बिदेसीको चासो जगाउने कारक बनेको आफ्नो कामप्रति मख्ख पनि उतिकै छन् यी नेपाली।
सन् १९६९ मा दाङको हलवार ७ लामिडामारमा लालबहादुर टन्डन र ताराकुमारीका सन्तानको रुपमा जन्मिएका यी नेपालीको नाम हो- नरबहादुर। सन् २००५ पढ्न क्यानाडा छिरेका टन्डनसँग सबै नेपालीको जस्तै विदेसका अनेक हण्डरठक्करसँग भिड्दै टिक्न प्रयास गरेका दुःखका दिन हुने नै भए। उनी अहिले स्थायीरुपमा क्यानडाको अन्टारियो प्रान्तको ब्रामटन सहरमा बस्छन्। नेपाललाई आफ्नो गरिखाने भाँडोमा टाँगेर अमेरिकाका र क्यानाडाका विशालतम् भूगोलबीच राज्यराज्य सहरसहर चाहरिरहन्छन्। पेशाले उनी एउटा भीमकाय ट्रकका मालिक र ड्राइभर हुन्।

सन् २०१२ को जनवरी महिनादेखि आफुले कुदाउने बडेमानको मालबाहक ट्रकमा नेपालका पर्यटन, संस्कृति र सम्पदाका आकर्षक फ्लेक्स तस्बीर टाँसेर नेपाललाई अमेरिकी र क्यानडेलीका आँखैमा ठोक्काउन पुर्याउने अभियान थालेको वर्षगाँठ आउदै गर्दा गत शनिबार क्यानाडाको पश्चिमी राज्य अल्बर्टाको राजधानी एडमन्टनमा झुल्किए यी ड्राइभर। साथमा थियो ५३ फीट लम्बाई र ८.५ फीट चौडाई भएको दैंत्याकार ट्रक। ट्रकको देब्रे पाटोमा छन् फेवाताल र माछापुच्छ्रेको मनमोहक वाइड कभरेज दृश्य, एकसिंगे गैंडा, पाटेबाघ, प्याराल्गाइडिंग, पदयात्रा, र्यापफ्टिङ र रक क्लाइम्बिङका चित्त तान्ने दृश्य र साथमा लेखिएको छ पर्यटनको नारा 'नेचरल्ली नेपाल, वन्स इस नट इनफ...' अनि दाहिनेपट्टि राखिएको छ सगरमाथाको अर्को वाइड कभरेज सजिब तस्बीर। बोलिहाल्लिन् जस्तो देखिने जीवित देबी कुमारी, बैद्ध स्तुप, पाटन दरबार र पशुपतिनाथ अनि साथमा लेखिएको छ 'भिजिट याडभेन्चर्स नेपाल'। ट्रकको पछाडि भागमा सगरमाथाको तस्बीरसहित अंग्रेजीमा नेपाल लेखिएको छ।

'पोहोर जनवरीमा सुरु गरेयता अहिलेसम्म ४ लाख किलोमिटरको यात्रा गरिसकें' गोर्खाका चन्द्र श्रेष्ठको बैठक कोठामा नेवारी खाना योमरीको बुजो मुखमा हाल्दै टन्डनले भने, 'मैले अनेक मान्छे भेटें यो दौरानमा कतिले मलाई पनि नेपाल लैजा भन्छन्, कति पहिले नेपाल घुमिसकेका भेटिन्छन् र चकित पर्छन्, अँगालो हाल्न आउछन, तस्बीर लिन्छन ट्रकलाई पृष्ठभूमिमा राखेर।'

अमेरिका र क्यानाडाका सबैजसो राज्य र सहर पुगिसके टन्डन। जहाँजहाँ पुगे त्यहाँ नेपाल बोकेरै गए र देख्नेलाई यो के ताल हो, के पारा हो कस्तो अनौठो तरिका हो देसको प्रचार गर्ने भन्ने पारेरै छोडे। देसको पर्यटनलाई बिबीसी, सीएनएन, नेसनल जोग्रफी जस्ता टिभी च्यानलमा प्रचार गरेको देखेभोगेका गोरा मान्छेहरु टन्डनको काइदा देखेर छक्क माने। नौलो र मौलिक तरिका भनेर अनेक धाप पनि दिए रे टन्डनको काँधमा।

हुन पनि उनि बास बस्ने ठाउँमा सयौंको संख्यामा ट्रक र ट्रक ड्राइभर भेला हुन्छन्। अरु सबै ट्रक खालि भित्तो लीएर हिंड्छन् उनको भने झलमल्ल छ फरक ढंगले। 'पहिलोपटक अमेरिकाको सिमानाकामा सोधपुछमा पर्दा अलिक डर लाग्यो, बा फन्दामा पो परिने हो कि भनेर तर सिमा अधिकारीहरुको सोधपुछमा खेर गएको भित्तोको सदुपयोग गरेको हुँ, नेपालको पर्यटन प्रचारको सोझो उद्धेश्यबाहेक केही होइन भन्ने जवाफ दिएपछि उल्टै नयाँ शैली भनेर उनीहरुले प्रशंसा पो गरे' टन्डन अभियानको सुरुका दिन सम्झन्छन्।

संसारका धेरै देसमा धेरै नेपाली बस्छन्। सबैलाई आ-आफ्नो धन्दाको चिन्ता छ। बिदेसी भूमिमा काम र किस्ताबन्दीको गर्तमा डुबेर हराएका नेपालीहरुमाझ टन्डन भने एक्ला बृहस्पतिजस्ता छन् जसले आफ्नो रोजीरोटीको दैनिक धन्दामै देसको प्रचार जोडी दिए। किन रुचाए त यो सब लेठो उनले ?

'कुनै स्वार्थ छैन। देसको प्रचार होस्, मेरो ट्रक देखेर एकजना भए नि पर्यटक नेपाल जाओस र केही डलर खर्च गरोस भन्ने मात्रै सोचाई हो।' उनी प्रष्ट छन् आफ्नो अभियानको दाउप्रति र कटिबद्ध पनि उस्तै। केही फरक हुने भयो त टण्डनको अभियानले नेपालमा पर्यटक बढाउन ? 'पक्कै पनि फरक पर्छ, मैले धेरै मान्छेले नेपाल नगई नसक्ने एकपल्ट भनेर प्रण गरेको सुन्न पाएँ यो यात्रामा, यो 'जिउंदो देबी' भनेको के हो भनेर सोध्ने धेरै आए' टन्डनको सोचाइ निक्कै आशाबादी छ। नेपाल बोकेर चिल्ला, फराकिला र उन्नत उतर अमेरिकी राजमार्गमा १२० किलोमिटर प्रति घन्टाको गतिमा हुइकिन्छन् उनी। अमेरिका र क्यानाडाका सबैजसो ठूला सहरमा बस्ने नेपालीका संगठनले उनलाई बोलाउँछन्। एउटा कोणसभा जस्तो सस्यानो कार्यक्रम बनिहाल्छ जहाँ नेपालीका साथमा हुन्छन् स्थानीय उत्सुक आँखाहरु बडेमानको ट्रकमा टांगिएको सांग्रिलाको देस हेर्न।

सहयोग, सहानुभूति र साथ ? सुरु गर्न भने निक्कै गारो भयो रे। पोस्टर बनाउन अमेरिकी गुणस्तरमा निक्कै महँगो हुने भो रे उनलाई एक्लै गर्न। पाँच बर्षसम्म छिरिक्क रंग खुइलिए अर्को बनाइदिने ग्यारेन्टीको फ्लेक्स हो रे त्यो। अमेरिका र क्यानाडाका हाम्रा राजदुत डा. सा'पहरु शंकर शर्मा र भोजराज घिमिरेलाई उनले सुनाए। आफ्नो सोचका बारे तर दुई डाक्टरहरुले एक्लो ड्राइभरको कुरो खासै खालान जस्तो लागेन रे उनलाई। उनलाई चिताएको नगरी नहुने गरौँ एक्लै धान्न गारो हुने। अनि साथीभाई र नेपाली संघसंस्थामार्फत फ्लेक्स बनाउन चाहिने केही हजार डलर जुटाएर उनले गरिछाडे काम। काम सुरु भएपछि अमेरिकाका नेपाली राजदुतले संस्थागतरुपले अभियानलाई सघाउन दिएको एक हजार डलर र क्यानाडाका राजदुतले व्यक्तिगत हिसाबले दिएको तीन सय डलर उनी भुल्दैनन्। पोस्टरको नियमित धुलाई र सरसफाइको लागि उनले खर्च गरिरहनु पर्छ। त्यो सुभेच्छुकहरुको सहयोगले पुगेको छ रे।

के नपुग लागेको छ त टन्डनलाई आफ्नो यो नेपाल चिनाउने कदममा ? 'मैले गर्न सकेजति गर्न खोजेको छु।' अझ ठूलाठूला विश्वविद्यालयहरु,सपिंग मल, समुद्रीतटजस्ता ठाउँमा यो अभियान पुर्याउन सक्ने हो भने यसबाट देस लाभान्वित हुने थियो भन्ने लाग्या छ उनलाई। 'सरकारले केही गर भन्छ भने म अझै खट्न पछि पर्दिन' उनलाई थकाई लागेको छैन। तपाईंलाई 'पर्यटक दूत' 'सांस्कृतिक दुत' वा त्यस्तै केहि दूत त भन्नु पर्यो होला नि सरकारले अब? उनलाई कुनै मोह छैन रे व्यक्तिगत आर्जन र सम्मानको, 'नरबहादुर टन्डन' भने काफी हुने ठान्छन् यी जाँगरिला नेपाली।

आफूले गरेको काम आफ्नो सरकारले नि थाहा पाओस भनेर गत अगस्टमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी अमेरिका आएको मौका पारेर टन्डनले तेर्स्याउन भ्याए आफ्नो नेपाल बोक्ने ट्रक। 'राम्रो काम गर्नु भयो, चुनाबपछि केही गर्न सकिएला सम्पर्कमा रहनु होला' रेग्मीको बाणि सम्झिन्छन् यी नेपालप्रेमी ड्राइभर।
truck1
Source: Nagriknews

3 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।