Sarala Gautam.
पााच वर्षअघि धनगढी र महेन्द्रनगरका दुईजना परिचित मित्रको सहारामा म सुदूरपश्चिम जाँदै थिएँ । भैरहवादेखि पश्चिमका सबै ठाउँ मेरा लागि नौला थिए । बुटवल पुगेपछि भएको जामले राति दस बजे मात्र अत्तरिया पुगिने भइयो । यो बेलासम्म माइक्रोमा भएका मान्छेहरू एक हिसाबले समाज बनिसकेका थिए । मेरो यात्रा एकल हो भन्ने कुरामा चालकलगायत सबै जानकार भए । चालकले भने 'सकेसम्म आफन्तको घरमै पुग्नुस् । मोटर पुग्ने बाटो भए घरसम्म छोडिदिउँला ।' अत्तरिया आयो, म ओर्लिएँ तर माइक्रो गुडेन । मलाई लिन मान्छे आएपछि मात्र चालकले गाडी कुदाए । म कतै बितरा त पर्दिन भन्ने चिन्ता उनीहरूलाई थियो ।
डोटी पुगेर डाडेल्धुरा आउने बेला दिपायल कटेपछि बन्द रहेछ । सुनसान सडकमा कहीं केही चलेको थिएन । कताबाट एउटा ट्रक आयो । सबै दौडिए सिटका लागि । म पनि दौडिएँ । सिट टनाटन छ भन्दै चालकले सबैलाई फर्काए । आस मारेर र्फकन लागेको मलाई भने बोलाए, मान्छेहरू अलि पर गएपछि । र भने, 'तपाईं एक्लै जस्तो छ बीचमा बास परे अप्ठेरो पर्ला । घच्चमच्च भए पनि मिलेर बस्नु, एकछिनमा त ठाउँमा पुगिहालिन्छ ।' केही घन्टापछि म डडेल्धुरा पुगें ।
दुई दिनपछि फेरि तत्काल गरिएको टेलिफोन चिनारीकै भरमा बैतडी जाने निर्णय गरें । बैतडी पुगेको केही बेरमा साथीको फोन लाग्यो, कुनै बेला रेडियोमा अन्तर्वार्ता लिएका स्थानीय अधिकारकर्मी पनि भेटिए । एक दुई गर्दै साँझसम्ममा एक हूल साथीहरू बने । उनीहरूको सहयोगमा बैतडीका गाउँहरू चहारेर म काठमाडौं फर्किएँ । बैतडीबाट र्फकने क्रममा जिपमा भाडा उठाउने एकजना प्रौढले बसका मान्छेलाई मतिर संकेत गर्दै स्थानीय भाषामा भनिरहेका थिए- यिनी यताकी होइनन् जस्तो छ, अलि सस्तो भाडा लिइदेऊ बरु हामीसँग दुई चार रुपैयाँ बढी लिऊ । मैले भाडाको बार्गेनिङ गरेकै थिइनँ उनको मन त्यसै पग्लिएको ! मलाई मिठो लाग्यो र उनीतिर हेरेर मुस्काए । यस्तै गरीगरी सुदूरपश्चिमका छवटा जिल्ला घुमेर रिपोर्टिङ गर्न सकें । लाग्यो, नेपाली समाजले हामी महिलाहरूलाई भनिरहेको छ- तिमी आँट गर, हामी साथमा छौं ।
यही यात्राको अनुभवले दिएको आँटको भरमा सुदूरपश्चिमका बाँकी जिल्ला र कणर्ालीका जिल्लाहरूका रेडियोमा केही समय स्वयम्सेवीको काम गर्ने निर्णय गरी बाटो तय गरें अर्को एक वर्षपछि । अछामको साँफेबगरमा बास पर्यो । रेडियो बाजुराका मान्छे लिन आउँदै थिए । यही बीचमा बन्दै गरेको बाटोका दुई ठेकेदारहरू भेटिए -सुवेदी र लामा थरका) । कणर्ाली यात्राको योजना उनीहरूलाई सुनाएँ । बाटोमा भनेजस्तो लज र होटल नभएको जानकारी उनीहरूले दिए । अनि आफ्ना क्याम्पहरूमा बास बस्दै जानु भनी चिठी थमाइदिए । बाटो बन्दै गरेकोले ट्रयाक्टरहरू चलेका देखिन्थे । बाटो छिटो कट्ने लोभले फलामको सिटमा बसेर ट्रयाक्टरमा यात्रा गरियो । उकालोमा पाहा उप|mेजस्तो ज्यान उप|mन्थ्यो । फलामको डन्डी समाएको हात छोडौं, ज्यान फुत्के चटनी हुन्छ भीरबाट खसेर, समातिराखांै दुखेर नै मरिन्छ जस्तो ! पहाडी यात्राका यस्ता कष्ट भोगेपछि थोरै भए पनि महसुस भयो, पहाडजस्ता दुःख खपेर मुस्काउने नेपाली हाँसोको महत्त्व । आफूलाई लिन आएका साथीसहित म बाटो बाटोमा उनीहरूको क्याम्पमा जाँदै चिठी देखाउँदै बास बस्दै मार्तडी पुगें । धेरै पछिसम्म त्यो चिठी मैले आफूसँग राखिरहे ।
जिल्लामा खुलेको एफएमले देउडासँगै चेतना, अधिकार र विकासका कुरा पनि घन्काउन थालेका थिए । सडक आउन लागेको खुसियाली, महिला क्लब, बाल क्लब, युवा क्लबका कार्यक्रम चर्चा पनि एफएमले गर्थे । बडी मालिकाजस्तो आस्थाको धरोहर मानिने मन्दिरका मूल पुजारीको घरमा हटेको छाउपडी र छुवाछूत मुक्तिको समाचार पनि एफएमबाटै फैलिएको थियो । बाजुराको पैमा गाविसका यी पण्डितकी तीसवर्षे बुहारी भुवनेश्वरी उपाध्यायको सक्रियतामा गाउँबाट धेरै विकृतिहरू मुक्त हुँदै थियो । 'क' पनि नपढेकी उनका कुरा सुन्दा जनक राजाको पालाकी प्रख्यात गार्गी यस्तै विदुषी थिइनँ होला भन्ने सोचें मैले । सहरका पढालेखा घरहरूमा बारिने छोइछिटो र छुवाछूत सम्भिmँदा लाग्यो, समाज गाउँबाट परिवर्तन भइरहेको छ । मत्थर हुँदै गइरहेका विसंगति अनि प्रगतिमा लम्किरहेका पश्मिेलीले देश कुनातिरबाट पनि बन्न सक्छ भन्ने आभास दिए मलाई ।
यो यात्रामा छाउपडी र चामलको अभावका कुरा गर्ने मात्र भेटिएनन्, खेतीपाती र सानोतिनो व्यवसाय गरेर भविष्यको सुन्दर चित्र कोर्न लागिपरेका मान्छे पनि भेटिए । विकट मानिने गाविसका हेडमास्टरहरू आफ्ना स्कुले नानीलाई गाउँमै काठमाडांैका स्कुलसरह सुबिधा दिने सपना पूरा गर्न लागिपरेका भेटिन्थे । द्वन्द्वको कारण पढाइ अपूरो भएकाहरू फेरि स्कुल जान थालेका थिए । कतिपय महिला काखे नानी च्यापेर स्कुलमा पढिरहेका भेटिन्थे ।
मीठा मीठा र राम्रा कुराले मात्र भरिदैन रैछ यात्रा । चुनौती र तीता लाग्ने कुरा पनि हुन्छन् । दसैंको समयमा मार्तडि बजार पूरै सुनसान हुन्थ्यो, मान्छेहरू गाउँतिर हिँडेपछि । म जुन घरमा डेरा लिएर बस्थे, त्यो घरमा म एक्लै थिएँ । दसैंको दिन ब्याट्री सकिन लागेको आपmनो मोबाइलको लाइट बालेर ढोकाभित्र पस्दै थिएँ, ढोकाको कुनामा चेपिएर एकजना मान्छे लुकेको रहेछ । मेरो होस उड्यो र भागेर एकैपटक सशस्त्र प्रहरिको क्वाटरबाहिर पुगें । होस उडेर आत्तिएको आवाजले मेरा साथीका मामा इन्स्पेक्टर अच्युत विष्टलाई उठाए । उहाँकै सहयोगमा घरका मान्छे नआउन्जेल सशस्त्र प्रहरी क्वाटरमा बसें ।
दसैंकै बेला एक दिन अलि अँध्यारोमा एक्लै हिँड्दै थिएँ, एकजना मान्छेले नजिकै आएर कुममा हान्यो । मैले 'तँलाई छप्काइदिम्' भनेर सातो लिएँ । त्यो कुलेलम ठोक्यो । भोलिपल्ट बजारमा हल्ला चलेछ- त्यो कैलो कैलो कपाल भएकी केटीले त हिजो साँझ छप्काइदिम् ? भनिछ । दार्चुलाबाट आएका प्रहरी हवल्दारले 'त्यो केटी त मार्सल आर्टको ब्ल्याक बेल्ट हो' भनिदिएछन् । अनि त मलाई धेरैले बजारमा साँच्चिकै दादा ठानेछन् ।
सिक्काका दुवै पाटा भेटिन्थे, दुःख दिन खोज्ने र साथ दिन खोज्ने । बाजुराका अठारवटा गाविस पनि साथ दिन लागिपर्ने मान्छेहरूको सहायतामा डुलें । कतिपय ठाउँमा पहिरो जान लागेको हुन्थ्यो, पहिरो छलेर पारि गएका मान्छे छन् भने पनि रोकिन्थे, एक्ला दुक्ला केटी देखेपछि । अनि भन्थे, 'हामीलाई घर पुग्न हतार छ तर तिमीहरू के गरी पहिरो कटौंला र कहाँ बास बसौंला भन्ने पीरले रोकियौं ।' यति चिन्ता उनीहरूले जताउँदा परिचय भइसकेको हुँदैनथ्यो । बिस्तारै कुरा गर्दै गएपछि हाम्रा लागि बास खोजिदिएर मात्र बाटो लाग्थे ।
तीज, दसैं, तिहार केहीमा पनि घर आइनँ । तर पनि न्यासि्रएर बस्नु परेन । कार्यक्रमहरूमा निम्ता गर्ने जिल्लाका कार्यालयहरूले चाडबाडका कार्यक्रममा पनि नछुटाई बोलाउँथे । तिहारको बेला बजार थर्काएर र्याप हान्दै भैली खेल्ने केटीहरूका हूल मार्तड बजारमा देखिए । सहरका नामी डिस्कोलाई माथ गर्ने 'डान्स' बजारको बीचमा हुन्थ्यो । चीनले फेसनलाई सर्वलुलभ बनाएकै थियो, टेलिभिजनहरूले स्टाइललाई । अनि त आधुनिकता काठमाडौंबाट निस्केर मार्तडी पुग्न के समय लाग्छ र ? न्युरोडमा भेटिनेजस्ता आधुनिक फेसनमा सजिएका युवती बाजुराको मार्तडीमा पनि भेटिन्थे ।
बडी मालिकाको मेलामा चौध हजार फिट हाइटमा पुगेर टेन्ट टाँगेर बस्न पाउने भाग्यमानीमा म पनि परें । त्यो पनि घरी पालभित्र कलब्रेक खेल्दै घरी पालबाहिर देउडा हेर्दै । अछामबाट छ दिनको बाटो हिंडेर, सामल तुमल बोकेर आएको एउटा टोली मेलाको छेउमा शुद्ध घिउमा लेकाली पिठोको रोटी पकाइरहेको थियो । लेकको बाटोमा गतिलो खान नपाई हिँडेका हामी लोभियौं । रेकर्डर र क्यामेराले काम दियो । उनीहरूसँग केहीबेर कुरा गरेपछि रोटी 'अफर' गरिहाले । रोटी खाएर केही फोटो खिचेर हिँडियो ।
रात परेपछि लेकको पाटनको कोलाहल सन्नाटामा बदलिएको थियो । म रातिको ठीक बाह्र बजे पालबाट निस्किएँ, टाउकोमै ठोकिन्छ कि जस्तो दूरीको पूर्ण चन्द्र हेर्न । शब्दहरू हराएका थिए त्यो बेला । 'मुनलाइट'मा हरियो पाटन ! अनन्त फैलिएको पाटनमा आधा रातमा एक्लै पल्टिएर मैले आनन्द लिएँ, खिच्नै नसकिने तस्बिर मनमा खिचेर ।
दसै सकिएपछि बेमौसमे झरिलाई परवाह नगरी रैथाने कल्पना विकलाई साथी लिएर म बझाङ जाँदै थिएँ । पहाडी बाटो माटो फुसफुसे थियो । पानीले पग्लेर र्झदै गरेका माटोको बाटोहरूमा चारहात पाउ टेकेर हिंडियो । पहिरो गएको र ढुंगा माटो झरेको देखेकी थिएँ तर बडेमानको पहाड नै गर्लम्म ढलेको देख्दा सातो उड्यो । यस्तो आपतमा पनि बच्चा काखीमा च्यापेर हिँडेका महिलालाई एकछिन हेरेपछि ज्यानमा शक्ति भरिन्थ्यो र हामी पाइला चाल्थ्यौं । हुँकार गर्दै गर्जेका खोलाहरू । पुल त हुन्थे तर भत्केका । खोला नतरी पारी पुगिन्थेन । यस्तोमा एकछिन सोच्यो, मन अनि खुट्टा दरो गरी पानीमा डुबायो । पानीको बेगलाई 'पख्लास्' भन्दै पर्गेलेर खोलाहरू पनि तरियो ।
बाटोमा थाहा भयो बझाङको तमैल बजारसम्म मोटर आएको रहेछ । छ महिनासम्म मोटर नदेखेकोले मलाई हेर्ने हतारो भइरहेको थियो । साँझमा बजार वारि पुग्यांै । लोकल भट्टीमा दारुले टिल परेका एक हुल तन्नेरी र प्रौढको समूहले हामीतिर निकैबेर एकोहोरिएर हेर्यो । त्यो हेराइलाई हामीले थाहै नपाएझैं गरी सरासर अगि बढ्यौ । उनीहरूको नजिकै गएर आरामले बसेपछि मैले सहज पारामा सोधिदिएँ, 'दारु खाएर केटी जिस्काउन रमाइलो हुन्छ हो ?' अचानकको यो अप्रत्यासित प्रश्नले उनीहरू अलमलमा परे । 'हैन हैन हामी त्यस्तो मान्छे होइनौं' भन्न थाले । आखिर खराब हुन कसलाई मन लाग्छ र ? यिनीहरू पनि सज्जन हुने होडमा लागे र हामीलाई चिया अफर गरे । साँझमा तमैल पुगेपछि रोकिएको ट्रक देखेर मैले 'एक्साइटेड' हुँदै फोटो खिचंे ।
तमैल बजारमा खच्चडको लादी र लोकल ठर्राको गन्ध बराबर मिसिएको थियो । टिनका टहराले बारेर बनाइएका होटलहरूका टार्गेट ग्राहक हामी होइनांै भन्ने बजार प्रबेश गर्नासाथ चाल पायौं । सुविधाभन्दा पनि सुरक्षाको चिन्ता भयो । एउटा पसलको एकजना यस्तै बाइस तेइस वर्षका युवा साहुजीसँग कुरा गर्यौं । हाम्रो सुर्तालाई शान्त पार्दै उनले भने, 'ढुक्कले बस्नुस् दिदीहरू, तपाईंहरू बसेपछि म अरू कोही राख्दिनँ । टाइममै खाना खाएर होटल बन्द गरम्ला ।' उनले जे भने त्यही गरे ।
यही यात्राको क्रममा एक दिन सुरिएर हिँड्दा घनाजंगलमा साँझ पर्यो । गाउँको नामोनिसान देखिएन । मान्छे त देखिने कुरै भएन । केही सानो खत्रक्कको आवाजले पनि डराएर हामी एकै ठाउँमा डल्लो पर्दथ्यौं । एकछिनमा टिङटिङको आवाज सुनियो । आवाज सुनेको केहीबेरमा जंगलमा एउटा भैंसी देखियो । भैंसी देखेपछि हामीलाई विश्वास भयो, नजिकै कि गोठ छ कि गाउँ छ । हामी दंग परेर भैंसीको पछिपछि हिंड्न थाल्यौं । भैंसी देखेर यो बिधि खुसी जीवनमा कहिल्यै लागेको थिएन । एकछिनमा भैंसी गोठाला भेटिए र आफ्नो गाउँ पुर्याए । एउटा भैंसीले हामीलाई कहालीलाग्दो जगंलको बाटोबाट लेककोे न्यानो घरमा पुर्याइदियो । टुकीको उज्यालोमा २३ वर्षे दिनेश रोकायाका भविष्यको उज्याला सपना सुन्दै बस्यौं ।
तिहारपछि राराको पालो थियो । बाजुरा मार्तडीका फकिर बाबा भैरवशाहीले कुराकानीको सिलसिलामा भनेका थिए, 'मिले साथीसँग जानु, नमिले एक्लै जानु । एउटा ठूलो र बलियो लठ्ठी साथमा लिनु । जँड्याहाले हो दुःख दिने, एक लठ्ठी दिएपछि ढलिहाल्छन् ।' पवित्रा विक नामकी साथी लिएर म रारा हिँडें । हामीलाई त्यसरी जान लागेको देखेपछि स्थानीय प्रकाश शाह पनि 'चेलीहरूलाई सुरक्षा पनि हुन्छ' भन्दै हामीसँगै हिँडे । उनको ठकुरी रवाफले पूरै यात्रा रमाइलो भयो । जहाँ कुखुराको भाले देख्थे टिप्थे, अन्डा भएजति सोहोर्थे, खसी काटेको ठाउँ देखे नचिनीकनै पस्थे र टाउको झुन्डाउँदै आउँथे । पैसा भने सबै ठाउँमा तिर्थे । रारा पुग्नै लाग्दा मेरो खुट्टा मर्कियो । तैपनि, यो ठाउँको सुन्दरता र साथीहरूको मायाले यसको पर्वाह नगरी हिंडें । आखिरमा, जुनेली रातको रारा, बिहानीको कलिलो घामको रारा, दिउँसोको घाममा रारा साँझमा सूर्यको रातो प्रकाशमा रारा हेरियो । प्रहर-प्रहरको रारालाई पूरै छ घन्टा लगाएर फेरो मारियो । राराको तालको छेउमा बसेर लोकल बियर खाँदै परपरका हिमाल हेर्दा खुट्टोको दुःखाइ पनि बिलायो । स्वर्ग भन्छन्, यस्तै होला जस्तो लाग्यो ।
जाने बेला कोदाको रोटी खाएको एउटा पसलका दुइटी युवती कोदोको पुवा पकाएर हामी फर्किने बाटो हेरेर बसेका रहेछन् । यीमध्ये १७ वर्षे सुनुवार थरकी केटीले मलाई 'मन पराएकी' पो रैछन् ! विवाह भइसकेकी पूजालाई मैले जिस्काए- तिम्रो लोग्नेले मलाइ मार्दैन ? उनले सहजै भनिन्, 'जारी तिरे हुन्छ तीस हजार ।' उनलाई केटाभन्दा केटी मन पर्ने रहेछ । मैले आफूलाई केटा नै मन पर्ने भन्दै लान सक्दिनँ भनेर सम्झाएँ ।
पालो कालिकोटको आयो । तिनै ठकुरी दाजुले एकजना साथी खोजिदिए । कात्तिके झरीमा चुटिँदै अठारवर्षे जीवन विक नामका भाइको साथमा अजंगका पहिरो र पहाड छिचोल्दै हिँडे । कति ठाउँमा त यस्तो बाटो आउँथ्यो बाँदर पनि हिँड्न सक्दैनजस्तो लाग्ने ! चट्टानमा जीउ टँसाएर, हात र खुट्टाका पञ्जाले घिस्रदैं हिंड्नुपर्दथ्यो । हात फुत्के सिधै कणर्ालीमा । बाटोमा एक ठाउँमा सहयात्री भाइले सोध्यो, 'केका लागि यो सास्ती सहेको दिदी ?' मैले पनि सोचें- यो आपत न कसैले देखेर कठै भन्छ न त मैले यति गरेर देश नै बद्लिन्छ । आफंैसँग पनि झोक चल्दथ्यो साह्रै सास्ती हुँदा । तर, दुःख गरेर कालिकोटको रेडियो चुलिमालीका पुगेपछि मैले यो दुःखको अर्थ भेट्टाएँ । केही समय कालिकोटमा बिताएपछि रेडियो चुलिमालिका नवराज योगी भाइको सहारामा जुम्ला रवाना भएँ । ट्रक त तमैलमा देखिसकेकी थिएँ । जुम्लाको नग्मामा पहिलोपटक गुलाबी रंगको बस देखें । अचम्मै मानेर हेरें र सोचंे यो चढेपछि त म खुरुरुरु खलंगा पुग्छु । बसभित्र घन्केको गीत सुनेर बाहिरै नाचौंजस्तो लागेको थियो ।
परिचय भएका र नभएका, जीवनमा कहिल्यै भेट हुन सक्ने र नसक्ने धेरै मान्छेले परिवारले जसरी सुर्ता लिए र यस्ता यात्रामा सहयोग गरे । एक्लै हिँडेकी केटी देख्दा 'कस्ता आवारा' भनेनन्, बरु 'कस्ता आँटिला' भने । 'कुइरिनी मात्र यसो गर्छन् भन्ने सुनेको, हाम्रै चेलीहरू हिँड्न लागे, अब देशमा विकास भएछ,' भने । यस्ता कुरा सुन्दा मलाई पनि लाग्थ्यो- नेपालका मान्छे कति गजबले बदलिएका ! सुदूरपश्चिमका अरू दुई जिल्ला र कणर्ालीका तीन जिल्ला छ महिना यसैगरी घुमेर म फर्किएँ ।
प्रकाशित मिति: २०७० पुस २७ ११:१२
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।