स्वर्गको अनुभति गराउने नेपालको सुन्दर भूमि
शब्द/तस्वीर- भरतबन्धु थापा
१३ बैशाख, खप्तड । विशाल फाँट (पाटन) को छेउछाउमा मिलाएर रोपिएका जस्ता देखिन रुखहरु । छिनछिन मौसम परिवर्तन भइरहने कहिलेे पानी पर्ने, कहिलेे बादल देखापर्ने कहिले घाम लाग्ने । अझ पुसदेखि फागुनसम्म सेताम्य भएर हिउँले ढाकिने फाँट, अनि फाँटको छेउमा मिलाएर रोपिएका जस्ता देखिने बुट्टाहरु देखिने हिउँको दृश्य हो खप्तड ।
चैतको अन्तिम हप्ता पहिलोपटक औपचारिकरुपमा खप्तडमा क्षेत्र जर्मन, हल्याण्ड , नेदरल्याण्डका पर्यटकसँग जाँदा देखिएको दृश्य हो खप्तड । पर्यटन विकास समाजको पहलमा पहिलोपटक पर्यटकको टोली खप्तड यात्राको क्रममा सहभागिता जनाउँदा देखिएको दृश्य हो खप्तडको ।
खप्तड क्षेत्र जति राम्रो छ, त्यत्तिनै त्यहाँ पुग्नका लागि गाह्रो छ । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तड क्षेत्रको प्रमुख स्थान त्रिवेणी मन्दिर हो । हिउँ बिस्तारै-विस्तारै पग्लिँदै गएर केही कुनाकाप्चामा रहेको हिउँले त्रिवेणी मन्दिरको शोभा बढाएको छ ।
के-के देखिन्छ खप्तडमा ?
खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिबेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदार ढुंगाजस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् ।
यी धार्मिकस्थलले मात्र खप्तड क्षेत्र प्रख्यात नभएर खप्तड क्षेत्रमा ठूला साना गरी २२ वटा फाँटहरु पनि यहाँको प्रमुख आकर्षण हुन् ।
यतिबेला खप्तडमा फाँटको हिउँ पग्लिसकेका कारण विस्तारै खप्तडका फाँटहरु हरिया बन्ने प्रयासमा रहेका छन् भने फूलका मुना पलाउन थालेका छन् ।
यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । त्यसकारण पनि यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैंचा भएको रोकाय बताउँछन् । नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौंठो संग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् ।
खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर एवं बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ वटा फाँट र ५२ पाखाहरु छन् । खप्तड १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो ।
समुद्र सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाईमा २ सय २५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घासे मैदानयुक्त जमीन पनि हो ।
कसरी पुग्ने खप्तड ?
खप्तड क्षेत्र पुग्दा धेरै बाटाहरु भए पनि चलन चल्तीको डोटीको बाटो रहेको छ । खप्तड क्षेत्र पुग्नका लागि काठमाण्डौबाट सीधै हवाइ मार्ग हुँदै धनगढी पुग्न सकिन्छ अथवा बसको १५ घण्टे लामो बसको यात्रा पश्चात पुगिन्छ धनगढी । धनगढीदेखि डोटीको सदरमुकाम सीलगढीसम्मको यात्राको लागि आठ घण्टा बसको यात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । अहिले बगलेगसम्म जीप चल्ने भएकाले जीप रिजर्भ जान सकिन्छ ।
डोटीको सिलगडीदेखि सुरु भएको पैदल यात्राको पहिलो दिन बिहानको खाना बगलेमा खाएपश्चातको झिगरानमा पुगेपछि पहिलो दिनको यात्रा समाप्त हुन्छ । दोस्रो दिनको यात्राको सुरुवात नै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै हुने गर्दछ । खप्तड राष्ट्रिय निकुन्ज प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो पश्चात केही समयसम्म यात्रा पश्चात पुगिन्छ । दोस्रो दिनको बिहानको खाना खान बिचपानी पुगिन्छ ।
बिचपानीमा खाना खाएर यात्रा सुरुवात गरेपछि बाटो त्यति अप्ठ्यारो नभए पनि ठूला ठूला चट्टान र घना जंगल र बाटोमा फुलेका रंगीचंगी फूलहरुको आनन्दले बाटोको थकान मेटिदिन्छ र साँझमा त्रिवेणी मन्दिर पुगिन्छ ।
डोटीदेखि बगलेगसम्म जीपको यात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । मोटर बाटोले नछोएको खप्तड राष्ट्रिय निकुन्जमा पर्ने त्रिवेणी मन्दिरले झनै खप्तड क्षेत्रको शोभा बढाएको छ । त्रिवेणी मन्दिरबाट एक घण्टा पैदल हिँडेपछि खप्पर दह पुग्न सकिन्छ ।
पर्यटकको अनुभव
पहिलोपटक आफ्नो परिवारसहित पुगेका नेदरल्याण्डका सान्देर रुइटेन्बिक भन्छन्- खप्तड निकै सुन्दर मात्र होइन यहाँको जैविक विविधताले मन छोयो । उनले भने-’यो क्षेत्र पर्यटकीय हिसावले मात्र होइन, अध्ययन र ध्यानका लागि पनि निकै उपयुक्तस्थल रहेछ ।’ यहाँका ल्याण्डस्केप आफैमा महत्वपूर्ण भए पनि यहाँको मौसमको बदलिने स्वरुप नै महत्वपूर्ण भएको बताउँछन् उनी ।
खप्तडसम्म पर्यटक ल्याउन मुख्य भूमिका खेलेका डोटी घर भई जर्मनीमा बस्ने एनआरएन नवराज रोस्यारा भन्छन्- पर्यटकीय विकासको सम्भावना भएर पनि यसको उचित सदुपयोग हुन नसक्दा जति स्थानीय समुदायले लाभ लिनुपर्ने हो, त्यति लिन सकेको देखिएन’ उनले भने- ‘मेरो प्रयास एउटा सानो मात्रै हो ।’
प्राकृतिक स्रोतले धनी भएर पनि यहाँ पर्यटक पुग्न नसक्दा जति खप्तड क्षेत्रका बासिन्दाले लाभ लिनुपर्ने हो, त्यति लिन नसकेको अवस्थामा पर्यटन विकास समाजले केही पहल गरेको बताउँदै अध्यक्ष कृष्णबहादुर महरा भन्छन्- ‘अझ यसलाई ब्यापक बनाउनका लागि सबैको सहयोग आवश्यक छ ।’
खप्तड क्षेत्रमा पर्यटक लानका लागि राज्यले त्यहाँ पर्यटका लागि आधारभूत आवश्यकताका लागि पहल गरेमा पर्यटकको आगमनमा बृद्धि हुने दाबीसमेत गर्दछन् महरा ।
- Source: Onlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।