१४बैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २८ वर्षपछि नयाँ जहाज भित्र्याएको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ५८ सिटको ‘एमए ६०’ जहाज दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
आन्तरिक उडानका लागि ल्याइएको जहाजलाई विमानस्थलमा पञ्चेवाजा बजाएर स्वागत गरिएको थियो । जहाजलाई अमेरिकी पाइलटले त्रिभुवन विमानस्थलमा अवतरण गराएका थिए । जहाज अवतरण गर्दा निगमका कर्मचारीहरु निकै उत्साहित देखिएका थिए । जहाजलाई स्वागत गर्न पर्यटन सचिव सुशील घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन पनि विमानस्थल पुगेका थिए ।
वायुसेवा निगमले यसअघि सन् १९८६ मा आन्तरिक उडानका लागि एबीएक्स जहाज र सन् १९८७ मा अन्तर्राष्ट्रिय उडानका लागि बोइङ ७५७ विमान ल्याएको थियो । त्यसयता निगमले पुराना जहाजलाई मर्मत गर्दै उडान सञ्चालन गरिरहेको थियो ।
चीनले भोली ११ बजे नेपाल वायुसेवा निगमलाई जहाज हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता रामहरि शर्माले जानकारी दिए । जहाज हस्तान्तरण गर्न जहाज निर्माता कम्पनी एभिक होल्डिङ इन्टरनेशनलका अध्यक्ष यु ग्वाङ क्वान शनिबार नै नेपाल आइसकेका छन् ।
मे १० बाट व्यवसायिक उडान शुरु गर्ने
जहाजलाई मंगलबार भैरहवाको गौतमबुद्ध विमानस्थलमा लैजाने कार्यक्रम छ । जहाज हस्तान्तरण गर्न आएका पाहुनालाई सोही जहाजमा राखेर भैरहवा लगी लुम्बिनी घुमाउने शर्माले बताए ।
जहाजले मे १० तारिखदेखि व्यवसायिक उडान शुरु गर्ने निगम प्रवक्ता शर्माले जानकारी दिए । ‘जहाजको भाडादर अझै तय नभए पनि १/२ दिनमा तय गरिन्छ’ उनले भने-’नयाँ जहाजले सुगम गन्तव्यहरु भैरहवा, भद्रपुर, धनगढी र विराटनगरमा उडान भर्नेछ ।’
चीनले निगमलार्इ ६ वटा जहाज दिँनेछ । चीन सरकारले निगमलाई एउटा एमए ६० सहित वाई १२ ई नामक १९ सिट क्षमताको जहाज अनुदानमा दिने सहमति गरेको छ । निगमलाई चीन सरकारले नै १९ सिट क्षमताका तीनवटा र ५८ सिट क्षमताको एउटा जहाज सहुलियत ऋणमा उपलब्ध गराउँदै छ ।
निगमका अनुसार अनुदानमा पाइने वाई १२ ई नामक जहाज असार १६ मा काठमाडौं आइपुग्ने छ । त्यस्तै, सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए-६० असोज १४ गते र बाँकी तीनवटा वाई १२ ई जहाज कार्तिकसम्म नेपाल आइपुग्ने बताइएको छ ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।