योगेश रावल कैलाली, साउन ४
कतैबाट नपाएपछि उनकै आमाले दिईन रगत
बलात्कृत बालिकालाई अन्ततः उनकै आमाले रगत दिएकी छन्। रगत अभावमा धनगढीस्थित सेती अञ्चल अस्पतालमा छट्पटाई रहेकी ११ वर्षीया बलात्कृत बालिका विसना (नाम परिवर्तन) लाई कसैले रगत नदिएपछि शनिबार उनकै आमाले रगत दिएकी हुन्।
'शरीरमा रगत धेरै कम भएकाले आज पनि रगत चढाउनु पर्छ भन्यो, केही उपाय नलागेपछि आफैले रगत दिए' उनकी आमाले भनिन्।
आइतबार राति घरमा बहिनीसँग सुतिरहेकी दोदोधरा गाविसकी बालिकालाई नचिनेका मान्छेले बलात्कार गरेको थियो। आमा घर नजिकैको विहेमा गएको मौका छोपेर अपरिचित व्यक्तिले बालबालिकालाई बलात्कार गरेको थियो।
अचेत अवस्थामा अस्पताल पुर्याईएकी बालिकालाई पहिलो दिन उनकै काकाले रगत दिएका थिए। त्यसपछि पनि चिकित्सकले थप रगत चाहिने भनेपछि परिवारका सदस्य रगतको खोजीमा जुटेका थिए।
'अस्ती देवरले रगत दिए, आज कोही नभएकाले मैले नदिई भएन्' उनले भनिन्–'छोरीको ज्यान बचाउन रगत दिनै पर्ने भयो।'
उनकी आमाले दिएको रगत शनिबार साँझतिर स्वास्थ्यकर्मीले बालिकाको शरीरमा चढाइएका छन्।
छोरीमाथि भएको दुःखद घटना, उनको उपचार र दोषीमाथि कानूनी कारबाहीका लागि दौडधुपले थकित उनकी आमा रगत दिएपछि झन गलेकी छन्।
बलात्कृत बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेपनि अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। शरीरमा रगत अभाव भएपछि शनिवार उनलाई पुनः रगत चढाइएको हो।
कसैबाट सहयोग नपाएपछि मानसिक पीडाले गलेकी उनकी आमा थप चिन्तित बनेकी छन्। कसैबाट पनि सहयोग नपाउँदा उपचारमा समेत समस्या भइरहेको उनले बताइन्।
अघिपछि विभिन्न संघसंस्था र समूहले सहयोगको कुरा गरेपनि एउटा अवोध बालिका बलात्कृत भएर समस्यामा पर्दा समेत पीडित र उनका परिवारले कसैबाट सहयोग पाएका छैनन्।
पीडित बालिकाका बुबा बैदेशिक रोजगारमा भएकाले उनकी आमाले नै छोरीको उपचार र प्रहरीमा अपराधीलाई कारबाहीका लागि धाउन परेको छ।
'श्रीमान् रोजगारीका लागि विदेश गएका छन, अहिलेसम्म कसैवाट पनि सहयोग पाएको छैन' उनले भनिन्–'अब अर्को पोका रगत तुरुन्तै दिनुपरेमा के गर्ने भन्ने चिन्ता भएको छ।'
जिल्ला विकास समिति, नगरपालिका लगायतको सिफारीसमा नेपाल रेडक्रस सोसाईटीको रक्त संचार सेवा केन्द्रबाट असहाय, गरिब बिरामीलाई निःशुल्क रगत दिने प्रावधान भएपनि कसैको सहयोग नहुदाँ उनी यो सुविधावाट बञ्चित भएकी छन।
'जिविस, नगरपालिकाको सिफारिसमा निःशुल्क रगत दिने गरेका छौं। हामीले उनको बारेमा थाहा नपाएकाले सामान्य बिरामी जस्तै व्यवहार गरेका हौं' रक्त सञ्चार केन्द्रका दयाराम चौधरीले भने–'हामीलाई उनको अवस्थाको बारेमा कतैबाट पनि जानकारी भएन्।'
उपचारमा लागेको औषधि भने अस्पातलले निःशुल्क उपलब्ध गराएको उनका आफन्तले बताएका छन।
छोरीको अवस्थासँगै अपराधी पत्तो नलागेकोमा पीडितका आफन्त चिन्तित छन्।
प्रहरीले बलात्कारको आशंकामा समातेका ४ जनामाथि मुद्दा दायर भएको छ। जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको भएपनि अझै बलात्कारी पत्ता लगाउन सकेको छैन।
'मध्यरातको घटना भयो, कसैले पनि देख्न नपाएकाले पत्तो लगाउन समस्या भएको छ' जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक मोहनराज जोशीले भने–'४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।'
शुक्रवार जिल्ला अदालत कैलालीमा जबरजस्ती करणी मुद्दामा ४ दिनको लागि म्याद थपेर ४ जना माथि अनुसन्धान शुरु गरेको उनले बताए।
'अहिलेसम्म यकिन भएको छैन, तर बलात्कारी ४ जना भित्रै छ' उनले भने–'वेडमा पोखिएको रगत, लुगाको परिक्षण र ४ जनाको विर्य, रगत परिक्षण गर्न दिइएको छ। त्यसका आधारमा अपराधी पत्ता लगाइने छ।'
बालिकाले एक जनाले मात्र बलात्कार गरेको बताए पनि प्रहरीले सामूहिक बलात्कार भएको हुनसक्ने अनुमान गरेको छ।
'नियन्त्रणमा लिएका २ जनाको लिंगमा घाउ भएको पाइयो, यो सामुहिक बलात्कार हुनसक्छ' प्रहरी उपरीक्षक जोशीले भने।
नियन्त्रणमा लिएका ४ जना मध्ये कसैले पनि बलात्कार गरेको भने स्वीकारेका छैनन्। पीडितका आफन्तले कसैमाथि किटानी उजुरी समेत गरेका छैनन्।
एक जनामाथि आफन्तको आशंका भएपनि प्रमाण नभई किटानी दिदाँ समस्या हुनसक्ने भन्दै किटानी नदिएको बताएका छन्।
बालिकाले त्यो त्रासदीपुर्ण घटनाका कारण डर लागिरहेको बताइरहेकी छन। पीडाले निद्रा खुलेर चिच्याउन थालेपछि मुख च्यापेर बलात्कार गरेको उनले बताइन्।
उनले खस्रो जिन्स पाइन्ट लगाएको र ठिकै उचाई भएको युवक भएको बताइन्। मुखमा रुमाल वाँधेको र केही शव्द नबोलेकाले उनले युवकलाई चिन्न नसकेको बताएकी छन्।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।