६ असोज राति निधन भएकी वाम आन्दोलनकी अग्रणी सहाना प्रधानको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
एमाले नेतृ सहाना प्रधानको पार्थिव शरीरमा उपप्रधानमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सलामी अर्पण गरेको थियो ।
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको र अखिल नेपाल महिला सङ्घका अध्यक्ष विद्यादेवी भण्डारीले सङ्घको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।
प्रधानका छोरा उमेश श्रेष्ठले प्रधानको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।
प्रधानलाई अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न पार्टीका शीर्ष नेताहरू, मन्त्रीहरू राधा ज्ञवाली, निलम केसी, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनालीलगायत शुभेच्छुक र कार्यकर्ता पुगेका थिए ।
नेत्री प्रधानको बयोधा अस्पतालमा ६ असोज राति ११ः०५ बजे निधन भएको थियो । उनी गत २३ जेठेदेखि मस्तिष्कघात र छातीको सङ्क्रमणबाट ग्रसित थिइन् ।
नेत्री प्रधानको बयोधा अस्पतालमा ६ असोज राति ११ः०५ बजे निधन भएको थियो । उनी गत २३ जेठेदेखि मस्तिष्कघात र छातीको सङ्क्रमणबाट ग्रसित थिइन् ।
२७ असार १९८४ मा काठमाडौंको असनमा जन्मिएकी प्रधान ५ वर्षको उमेरमा आफ्नो परिवारसँगै बर्मा पुगेकी थिइन् ।
२००१ साल असारमा स्वदेश फर्केपछि राणा शासनविरोधी आन्दोलनमा संलग्न प्रधानको सक्रियतामा १७ वैशाख २००४ मा जहानियाँ राणा शासनविरुद्ध पर्चा छर्ने र जुलुस निकाल्ने क्रममा उनी गिरफ्तारीमा परेकी थिइन् ।
प्रधान २००४ साल असारमा गठित नेपाल महिला सङ्घको संस्थापक केन्द्रीय सदस्य थिइन् । २००७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएकी उनी अखिल नेपाल महिला सङ्घको संस्थापक महासचिव र पछि अध्यक्ष भइन् ।
पति पुष्पलाल, दाजु गौरीभक्त प्रधान, दिदी साधना अधिकारीसमेत उनको सिङ्गो परिवार नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न रहेको थियो ।
प्रधानले २०४६ सालपछिको अन्तरिम सरकारमा वरिष्ठ मन्त्रीका रूपमा उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाले थिइन् ।
२०४७ साल पुसमा नेकपा माले र नेकपा माक्र्सवादीबीच एकीकरणबाट बनेको नेकपा एमालेको नेतृत्वदायी भूमिकामा रहेकी सहानाले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरेकोे एमालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
२०४८ र २०५१ को आमनिर्वाचनमा काठमाडौँबाट प्रतिनिधिसभा सदस्यमा विजयी उनी २०५३ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनिन् । २०५४ देखि २०५८ सम्म प्रधान नेकपा मालेको अध्यक्ष थिइन् ।
महिला सुरक्षा दबाब समूहको पूर्वअध्यक्ष प्रधानका एक छोरा र एक छोरी छन् ।
तीन दिन पार्टीको झण्डा झुकाइने
प्रधानको निधनपछि ७ असोजमा बसेको एमाले पदाधिकारी बैठकले उनको सम्मानमा देशैभरिका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र पार्टीको औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
देशैभरि श्रद्धाञ्जलि कार्यक्रम आयोजना हुने र केन्द्रीय कमिटीको तर्फबाट यही असोज ११ गते शनिबार श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय पनि एमालेले गरेको छ ।
सहानाको परिवारमा अर्काे शोक
सहाना प्रधानको निधनबाट शोकाकुल उनको परिवारमा आजै अर्काे शोक परेको छ ।
प्रधानका देवर जीतेन्द्रदेव श्रेष्ठका साढे तीन वर्षीय नाति जेनिस श्रेष्ठको आज मरुटोलस्थित निवासको पाँचौँ तलाबाट खसेर मुत्यु भएको छ । प्रधानको निधनका कारण बच्चा हेर्ने उचित वातावरण नहुँदा जेनिस लड्न पुगेको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठलाई उपचारका क्रममा वीर अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । प्रधानको शव पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि पुर्याइँदा श्रेष्ठको शव पनि सो स्थान लगिएको थियो ।
Source: Himalkhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।