Sunday, September 7, 2014

विश्वकै पहिलो वायुयान संग्रहालय धनगढीमा

aircraft
नयाँ पत्रिका
काठमाडौं, २१ भदौ
हवाइजहाजभित्रै पसेर जहाजसम्बन्धी सम्पूर्ण जानकारी लिन मन छ ? कैलालीको धनगढी जानुहोस् । जहाँ जहाजभित्र बसेर राइट दाजुभाइका पालादेखि हालसम्मका बनेका दुई सयवटा मिनियचर एयरक्राफ्टस राखिएका छन् ।
इन्डोनेसियामा पाइलट प्रशिक्षकको काम गर्दै आएका क्याप्टेन वेद उप्रेतीले व्यक्तिगत पहलमा धनगढीमा निर्माण गरेका ‘वायुयान संग्रहालय’मा यी सबै हेर्न र जानकारी लिन पाइनेछ । उप्रेतीले धनगढीको हसनपुरमा एक करोड २५ लाखको व्यक्तिगत लगानीमा वायुयान संग्रहालय निर्माण गरेका छन् ।
‘विश्वमा हवाइजहाजसम्बन्धी त थुप्रै संग्रहालय बनेका छन् । तर, जहाजभित्रै संग्रहालय बनेको यो पहिलो हो,’ संग्रहालयबारे जानकारी गराउन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्याप्टेन उप्रेतीले भने, ‘यो यसप्रकारको विश्वकै पहिलो संग्रहालय हो ।’
संग्रहालयको असोज १ गते औपचारिक उद्घाटन हुँदै छ । ‘वायुयान संग्रहालय’ उद्घाटन भएपछि ११ गतेसम्म महोत्सव चल्नेछ । महोत्सव अवधिभर नागरिकहरूले पाइलटसँग प्रत्यक्ष भेटघाट, आफूलाई लागेको उडानसम्बन्धी जिज्ञासासमेत राख्न पाउनेछन् ।
‘संग्रहालयमा केही जहाज रिमोटकन्ट्रोलबाट हजार फिटमाथिसम्म उडाएर फोटोसमेत खिच्न सकिन्छ,’ संग्रहालयबारे उप्रेतीले भने, ‘भित्र राखिएका साना जहाज कोरियाबाट आयात गरिएका हुन् । जहाज पेरिफिरीभित्र ककपिट क्याफेसमेत राखिएको छ ।’
विमानभित्र उप्रेतीले खिचेका संसारका चर्चित पर्यटकीय स्थलका ३० वटा, सुदूरपश्चिमका २४ वटा र नेपालका अन्य भागका ६ वटा फोटो राखिएको छ । ‘म्युजियमभित्र जेट ककपिट अवलोकनका साथै ककपिटमा पाइलट र टावरको संवादसमेत सुन्न सकिन्छ,’ उनले थपे ।
उप्रेतीले बन्द अवस्थामा रहेको कस्मिक एयरको ग्राउन्डेड अवस्थामा रहेको फोकर–१०० विमानलाई संग्रहालय बनाउन प्रयोग गरेका हुन् । कस्मिक एयरको अवस्था बिग्रिएपछि सरकारले ग्राउन्डेड फोकर–१०० विमानलाई लिलाम गरेको थियो ।
‘संग्रहालय बनाउने योजनापछि हामीले लिलाम विमान ७० लाखजतिमा खरिद गर्‍यौँ,’ उप्रेतीले भने, ‘काठमाडौंमा दुई महिना लगाएर भित्रका सबै सामग्री खोल्यौँ र तीनवटा लरी ट्रकमा राखेर ५ दिनमा धनगढी पुर्‍यायौँ ।’ उनले धनगढी पुर्‍याएको ६ महिनामा संग्रहालय निर्माण भएको जानकारी दिए ।
क्याप्टेन उप्रेतीले संग्रहालयबाट हुने आम्दानीलाई सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गर्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन खर्च हुने बताए । ‘ट्रस्ट बनाउँछौँ । त्यसको ब्याजबाट क्यान्सर बिरामीलाई सहयोग गर्छाैँ ।’ उनले आफ्नो बुबा पनि ९० वर्षको उमेरमा क्यान्सरबाट निधन भएको र सुदूरपश्चिममा क्यान्सरको समस्या बढी भएकाले सहयोग गर्ने सोच बनाएको बताए ।
उनले सेवाभावले धनगढीमा वायुयान संग्रहालय निर्माण गरेको पनि बताए, ‘नाफाका लागि भए त काठमाडौंमा बनाउन सक्थेंँ ।’ उनले आफ्नो प्रयासले सुदूरपश्चिमको पर्यटकीय सम्भावनालाई बढाएको पनि दाबी गरे । उनका अनुसार संग्रहालय हेर्न सर्वसाधरणका लागि सय रुपियाँ र विद्यार्थीका लागि पचास रुपियाँ राखिएको छ । उनले संग्रहालयमा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्वका वस्तुहरू राखिने बताउँदै त्यस्ता सामग्री भएमा नि:शुल्क वा सशुल्क सहयोग गर्न आग्रह पनि गरे ।
Source: nayapatrika

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।