अरुणा उप्रेती
'सुन्दर पश्चिम' बारे लेख्दा र बोल्दा खप्तड र बडीमालिकाको सुन्दरता, रामारोसन तालको चमक, शैलेश्वरी कुमारी देवीको शक्ति, घोडाघोडी तालको छाल, कर्णाली पुल किनाराको आनन्द आदि प्रकृतिको वर्णन गरिन्छ।
'सुन्दर छ सुदूर पच्छिम, यहाँ घुम्न आउनुहोस्' भनेर ठूल्ठूला पोष्टरहरु बनाइन्छ तर कसैले पनि सुदूर पश्चिमका वासिन्दाको जीवनमा रहेको कुरुपतालाई लेख्ने गर्दैनन्। यस्तो लाग्छ, त्यो कुरुपता सुदूर पश्चिमे जीवनको अभिन्न अंग हो र यहाँका वासिन्दा त्यो कुरुपतालाई अंगीकार नगरी बाँच्न सक्दैनन्।
सुन्दा र पढ्दा तीतो लाग्ने यो कुरुपताले त्यहाँ जीवन कति जर्जर बनाएको छ भनेर कुनै पनि सुदूर पश्चिमका नेताले बोल्न खोज्दैनन्। लेखक पनि ती कुरुपताबारे लेख्न चाहँदैनन। लुकिरहेका यस्ता कुरुपताले गर्दा सुदूर पश्चिम एकचोटी गइसकेपछि फेरिफेरि जाने कुन पर्यटकलाई मन हुन्छ होला र?
केही दिन अघि सुदूर पश्चिममा बाढीपहिरो आएर केही बस्तीका घर बगाएको अति दुखद समाचार आयो। तर त्यस समाचारपछि सुन्दर पश्चिमको 'कुरुपता' जाहेर गर्दै अर्को समाचार पनि आयो।
केही महिलाहरुले महिनावारी हुँदा छाउगोठमा गएर नबस्दा त्यहाँका देवता रिसाएका हुनाले महिलाहरुलाई महिनावारी हुँदा पुनः छाउगोठमा पठाइयो। यस्तो किसिमको मूर्खतापूर्ण तर्क दिने सुदूर पश्चिमका ती गाउँलेहरुले प्राकृतिक विपत्तिका लागि महिलाहरुलाई दोष दिए र पुनः उनीहरुलाई छाउपडीमा बस्न विवश गराए। के कसैले पनि महिलाको यो अपमानलाई त्यहाँको जीवनको कुरुपता हो भनेर हेर्ला र?
पक्कै पनि हेर्दैनन् किनभने सुदूर पश्चिमका पुरुषको मनमा महिलालाई छाउपडी राख्ने व्यवस्था ठीक हो भन्ने भावना व्याप्त छ। यस्तो कुरुपता मनमा व्याप्त नहुँदो हो त किन कुनै पनि दलका विद्यार्थी, महिला संगठन र नेताले यो त हटाउनै पर्ने प्रथा हो भनेर कडीकडाउसँग सत्य बोलेर जागरुकताको कार्यक्रम चलाएनन?
काठमाडौंमा नेताहरुलाई चित्त नबुझेका साना साना कुरामा टायर बालेर तोडफोड गर्ने शक्ति भएका विद्यार्थी संगठनले छाउपडी प्रथा तोडफोड गर्न किन जागरुकता देखाएनन होलान्? किनभने सुदूर पश्चिमका नेताहरुलाई यो कुरुप प्रथा विरुद्धमा बोल्ने साहस छैन, किनभने सुदूर पश्चिमका नेता र नेतृका छोरीहरू यस्तो कुरुप प्रथाको अँगालोमा पर्दैनन्।
तर ती नेताहरुलाई भोट दिने महिला त्यस्तो छाउपडीभित्र बसेर अपमानित भइरहँदा, बलात्कृत हुँदा, सर्पले टोकेर, बाघले झम्टा मरिरहँदा नेताहरू चाहिँ 'सुदूर पश्चिम सुन्दर छ'को गीत गाइरहेका छन्। नेताहरूले कैलालीका मैदानमा सुन्दर सुदूर पच्छिमको राग अलापिरहेका छन्।
एकातिर गौरा र वडीमलिकाका लागि पूजा सामग्री चढाउने व्यक्तिहरु त्यही गौरा र वडीमलिकाका साक्षात स्वरुप नारी छाउपडीमा बस्दा, उनीहरू वेदनामा पर्दा कसरी सुन्दर सुदूर पश्चिम भयो भन्ने दावी गर्छन्? के प्रत्येक गाउँ र वडामा ठडिएका छाउपाडीको कुरुपता उनीहरुले देख्न नसकेका हुन्?
सुदूर पश्चिम कुरुप छ भनेर लेख्दा धेरै आलोचना खेप्नुपर्छ भन्ने मलाई थाहा छ। तर म सुदूर पश्चिमकी छोरी भएकोले यहाँको कुरुपता दर्शाउनु र खबरदारी गर्नु मेरो अधिकार पनि हो कर्तव्य पनि हो। सुदूर पश्चिमका कुनै नेतालाई यसले गलत कुरा लेखी भनेर मलाई त्यहाँ टेक्न नदिने भन्ने अधिकार त पक्कै नहोला।
सुदूर पश्चिमको अर्को कुरुपता त्यहाँको जनजीवनमा अझै पनि अघोषित 'कमैया' र 'कमलरी' प्रथा हो। सरकारले कमलरीलाई मुक्त घोषणा गर्यो। कतिपय कमलरी स्कूल जान्छन् र साना नानीसँग बसेर पढ्छन्। केही पनि नबुझेर ती स्कुलमा बसिरहन्छन् र त्यहाँबाट उन्मुक्ति चाहन्छन्। कञ्चनपुरको एक कमलरी छात्रावासमा जाँदा एक १६ वर्षीय किशोरी ३ कक्षामा पढ्दै रहिछन्। स्कूलका शिक्षकसँग उनको पढाइबारे सोद्धा उनले भने, 'खोइ उनी कक्षामा लेख्दा पनि लेख्दिनन्, बोल्दा पनि बोल्दिनन्,' उनीलाई स्कूलमा राख्न त राखियो तर सिकाउन केही सकिएको छैन।'
उनले अगाडि थपे, 'यस्ता थुप्रै किशोरी छन्। उनीहरूलाई प्रौढ शिक्षामा राखेर कुनै सिप सिकाउन पाए राम्रो हुन्थ्यो।' तर शिक्षकहरुको यो सुझावको कतै पनि सुनवाइ हुँदैन। कमलरीहरु त्ा त्यहाँबाट निस्केर कतै शहरतिर काम गर्न थालेका वा अझ डर लाग्दो त अत्तरियाका होटेल र डान्सबारतिर यौन शोषणमा परेका छन्।
कति पूर्व कमलरी काठमाडौं आएर 'घरेलु नोकर' भएर काम गर्दैछन्। उनीहरुका जीवनबाट पढाइ र स्वतन्त्रता सबै हटेर गएको छ। व्यक्तिगत रुपमा मलाई काठमाडौंका कति व्यक्तिले 'तिमीले सुदूर पश्चिमबाट पूर्व कमलरी काम गर्न ल्याइदेऊ, उनीहरुका आमा बुबालाई पैसा दिउँला,' भनेका छन्। अर्थात् पूर्व कमलरीलाई दास बनाउने तिनले मनमा सोचका छन्।
कतिपय सुदूर पश्चिमका राजनीतिक नेताका घरमा पक्कै पनि पूर्व कमलरी काम गर्छन् र उनीहरुलाई स्कूलमा पढाउने र आफ्नो खुट्टामा उभ्याइदिने काम ती नेताहरुले पक्कै पनि गर्दैनन्। म्ाानव जीवनको यस्तो कुरुपताले भरिपूर्ण सुदूर पश्चिम कसैले सुन्दर भन्न सक्दैन।
सुदूर पश्चिमको आर्को कुरुपता हो पाउचमा पाइने रक्सी। रक्सी चिया पसलदेखि किराना पसलसम्म जताततै पाइन्छ। स्कूलका छात्रदेखि लिएर सरकारी कर्मचारी, प्रहरी रक्सी सेवनलाई अमृतपान झैं ठान्छन्। सरकारी काममा आउँदा पनि रक्सी खाएर आउने मान्छे सामान्य मानिन्छन् यहाँ। डोटी र अछाम अस्पतालका सहयोगी र सहायक तहका कर्मचारी पनि लडखडाउँदै काममा आएको देखेर मैले कर्मचारीहरुलाई सोधेँ, 'यसरी अस्पतालमै काम गर्नेहरुले रक्सी पिएर आउँदा कसैले केही भन्दैन?'
'कहाँ भन्न सक्छु र? वहाँहरु नेताको छत्रछायामा हुनुहुन्छ। जे गरे पनि माफ। यिनको रक्सी पान गर्ने बानीलाई लिएर कामबाट हटाउन कोसिस गर्दा त हामीलाई त फोन आएर आपत, केही पनि गर्ने सकिएन,' एक डाक्टरले मलाई भने।
मद्यपानले कुरुप बनाएको छ सुदूर पश्चिमलाई। पुरुषहरुले मद्यपान गरेर परिवारलाई चरम यातना दिन्छन्। बालबालिकाको जीवन अस्तव्यस्त छ। के यही हो सुदूर पश्चिमको सुन्दरता? छाउपडी र मद्यपानले ग्रस्त सुदूर पश्चिम। कमलरीको दुःखद जीवनले ग्रस्त सुदूर पश्चिम। यो दुःखले छोपेको छ सुदूर पश्चिमको सुन्दरतालाई। सुदूर पश्चिमलाई सुन्दर बनाउन यी जीवित देवीहरूको जीवनबाट दुःख हटाएपछि भने सुदूर पश्चिम साँच्चिकै सुन्दर हुनेछ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।