Monday, November 24, 2014

कहाँ छैन छाउपडी ? सुदुरपश्चिममा मात्रै देख्ने


 नेवार समुदायमा छोरी रजस्वला हुनु पूर्व गुफा राख्ने र वेल विवाह गर्ने चलन हुन्छ । यो समयमा उनिहरुले १२ दिन सूर्यको मुख नहेरी बस्नु पर्ने हुन्छ । यत्रो दिन उज्यालो र घाम नदेख्दा ति साना साना नानिहरुको अधिकार हनन हुँदैन ? गोर्खाको व्राह्मण ,क्षेत्री परिवारमा छोरी रजस्वला हुँदा १५ दिन सम्म बाहिर ननिस्कने गरी अर्काकै घरमा राख्ने चलन छ ।
kishore-khadka
किशोर खड्का ।


अहिले सुदूरपश्चिम ३ वटा कुराले चर्चित र परिचित छ । पहिलो त्यहाँको पर्यटन र सम्भावना जसलाई सुन्दर सुदूरपश्चिमको उपमा दिईएको छ । दोस्रो त्यहाँको गरिबी, प्राकृतिक बिपत, कु–रिती र कु–संस्कार साथै राज्यको हेपाहा प्रबृति । तेस्रो सुदूरपश्चिमको एकता र अखण्डता जसलाई अखण्ड सुदूरपश्चिमको नारा र त्यस क्षेत्रको मुद्दामा सबै एकै ठाउँमा उभिने परिपाटिले प्रष्ट पार्छ । सुदूरपश्चिमप्रति अहिलेको आम बुझाई यहि छ ।


नेपालको मानचित्रमा सुदूरपश्चिम ९ वटा जिल्ला (बझागं, बाजुरा, डोटी, अछाम, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको अस्तित्व बोकेर बसेको छ । त्यस क्षेत्रको पर्यटन, अन्धविश्वास, कुरिती, गरिबी र प्रकोपको पिडा, महिला उत्पिडन, राज्यको हेपाहा प्रबृति र अखण्डताको नारा र ब्यवहारलाई सञ्चारमाध्यमले प्रमुख बिषय बस्तु बनाउँदै आएका छन् ।


यहाँनेर पहिलो बिषयमा प्रवेश गर्नु पर्दा २०६३ सालतिर तत्कालिन उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष गोपाल हमालको समुहले सुदूरपश्चिममा पर्यटकिय गतिबिधी सञ्चालनमा ल्याए र सुदूरपश्चिमलाई सुन्दर सुदूरपश्चिमको नामले चिनाउने प्रयास गरे जुन अहिले सम्म पनि निरन्तर छ । हमाल र उनको समुहको यो अभियान र क्रियाकलापलाई सञ्चार माध्यमले निकै सहयोग गरे र गरिरहेका छन् ।

त्यसैगरी तेस्रो बिषयमा कुरा गर्दा सुदूरपश्चिमको एकता र अखण्डता पनि स्मरण गर्न लायकको छ । सुदूरपश्चिमको कुनै पनि एजेण्डा, मुद्दामा सिंगो सुदूरपश्चिम एकै ठाउँमा उभिने परिपाटी देखिँदै आएको छ जसको ज्वलन्त उदाहरण सुदूरपश्चिमलाई टुक्रयाउनु हुँदैन, अखण्ड राखिनु पर्छ भनि गरिएको ३२ दिने अखण्ड सुदूरपश्चिमको आन्दोलन थियो ।

तेस्रो पक्ष यहाँको बिकास प्रकृया, राज्यको हेपाहा प्रबृति, बिभिन्न प्राकृतिक तथा मानवनिर्मित पिडा, सामाजिक संस्कार र कथित महिला उत्पिडन । जुन यहाँनेर महत्वका साथ उठाउन खोजिएको छ, त्यसँग सम्बन्धित केहि कटु सत्यहरु उजागर गर्नै पर्ने र यर्थाथता प्रश्तुत गर्नै पर्ने आवश्यक सम्झिएको छु ।

कुनै पनि सञ्चारमाध्यम अन्य पक्ष सँगसँगै त्यहाँको गरिबी, प्राकृतिक बिपत, सामाजिक संस्कार, राज्यको हेपाहा प्रबृति र महिला उत्पिडनका पक्षहरु निकै स्थान पाउँदै आएका छन् ।

अझ थप गहिरिएर हेर्दा सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्थाहरु, बिभिन्न अध्ययन प्रतिबेदनहरु, सञ्चारमाध्यमका बिशेष रिर्पोटहरु त्यहाँको सामाजिक संस्कार र महिला उत्पिडनको बिषयमा निकै चनाखो छन् । अन्तत्वगत्वा जनचेतना फैलाउने र सबैको ध्यानाकर्षण गर्ने यि प्रयासको सम्मान गर्नै पर्छ, हामीले धन्यवाद दिनै पर्छ ।

तर गहिरिएर समग्र पक्षलाई बिश्लेषण गरि हेर्दा यि क्रियाकलापप्रति सहमत हुने ठाउँ देखिदैन् । सञ्चार माध्यमहरुले यि रिपोर्ट देखाएर आफ्नो सञ्चार माध्यमको लोकप्रियता बढाउने, गैरसरकारी संस्थाहरुले आफ्नो मागि खाने भाडो बनाउने र अध्ययनकर्ताहरु आफ्नो रिपोर्ट उत्कृष्ट बनाउने ध्येय हो कि भन्ने पनि लाग्छ ।


महिला उत्पिडन र सुदूरपश्चिम

महिला र सुदूरपश्चिमको बिषय बस्तु हेर्दा सञ्चारमाध्यममा बढी जसो देखिने समाचार, श्रब्य, दृष्य र लिखित सामाग्रीहरुमा त्यहाँको छाउपडि प्रथा र पुरुष प्रधान समाजको कुरा बढी उठ्छ ।SONY DSC
सुदूरपश्चिममा महिला अधिकार क्षेत्रमा कामगर्ने अधिकांश गैरसरकारी संस्थाहरुका कार्यक्रम पनि महिला अधिकार र छाउपडि घर (गोठ) भत्काउने, उनिहरुलाई अरु सरह घरमै बस्न लाउनेमा केन्द्रित देखिन्छन् ।

सरसर्ती हेर्दा आम मानिसलाई यो बिषय नँया लाग्छ र छाउपडि प्रथाप्रति घृणा पनि लाग्छ जुन स्वभाविक पनि हो । तर गहिरिएर अध्ययन गर्दा र बिषयबस्तुको गहिराईमा पुग्दा फरक धारणा निस्कन्छ कि ? जुन अहिले सम्म सार्वजनिक गर्ने हिम्मत सञ्चार माध्यमहरुले गरेका छैनन र गैरसरकारी संस्थाले गरेका छैनन् ।

म महिला अधिकार बिरोधी पनि होईन र यथास्थितीवादी पनि होईन तर दाँत उखेलेर फाल्दा त्यो राम्रोसित हल्लि सकेपछि फ्याल्नु, उखेल्नु उपर्युक्त हो भन्ने मान्यता र विश्वास राख्छु । मैले न छाउपडि प्रथा राम्रो हो भन्छु न त यो हटाउनु हँुदैन नै भन्छु तर उपर्युक्त वातावरण सृजना गरेर यो परम्परालाई बिस्थापित गराउनु पर्छ भन्ने बुझाई राख्छु ।

अहिले बिभिन्न गैरसरकारी संस्थाहरुको सहायतामा सुदूरपश्चिमका महिलाहरुले छाउपडि गोठ (घर) भत्काउने अभियान तिब्र पारेका छन् । सामान्यतया हेर्दा यो कदम निकै क्रान्तिकारी र चेतनामुलक देखिन्छ । तर त्यो गर्दै गर्दा त्यहाँको महिलाहरुले आफ्नै खुट्टामा आँफैले बञ्चरो त हानी रहेका छैनन ? यो पनि बुझन जरुरी छ ।

के हो छाउपडि प्रथा ?

सुदूरपश्चिमका अधिकांश महिलाहरु रजस्वला भएपछि बस्नकालागि आफु बस्दै आएको घर भन्दा अलि पर छाउपडि गोठ (घर) बनाईएको हुन्छ । जहाँ उनिहरुले ६ दिन बस्नु पर्ने हुन्छ । रजस्वला भएको समयमा उनिहरुलाई गाई भंैसिको दहि–दुध खान दिईंदैन, पुजा गर्ने ठाउँ छुन दिर्इंदैन बस् यस्तै यस्तै पावन्दिहरु ।

त यसले नै अथवा यहि बिषयलाई लिएर सुदूरपश्चिमको छाउपडि प्रथा उन्मुलन गर्नु आवश्यक छ ? के यतिले मात्र महिला अधिकार हनन भएको र नभएको मापन गर्न सकिन्छ ? के यतिले गर्दा त्यहाँको चेतनाको स्तरलाई प्रश्नचिन्ह खडा गर्न सकिन्छ ? पक्कै मिल्दैन ।

हामीले बुझेको, देखेको छाउपडि र छाउपडि गोठ फरक छ । यो प्रसंग उठाउनु पूर्ब त्यहाँको समाज र महिलाको अवस्था बारे प्रष्टयाउनु जरुरी छ । त्यहाँको अधिकांश समाजको पेशा कृषि र पशुपालन हो । पुरुषहरु फूर्सदको समयमा रोजगारको लागी भारत पनि जाने गर्दछन् र अरु समयमा आफ्नो पेशालाई निरन्तरता दिन्छन् । महिलाहरु घाँसपात, पानीपँधेरो, घरदैलोमा उनिहरुको समय ब्यतित हुन्छ । सामान्यतया पुरुषभन्दा महिला बढि नै ब्यस्त हुन्छन् ।

अब उनिहरुको रजस्वला हुने समयमा उनिहरु घर भन्दा परको छाउपडि (रजस्वला भएको ) महिलालाई बस्न बनाएको गोठ (घर) मा ६ दिन बिताउँछन् । त्यो ५ दिनको समयमा उनिहरुले दिनहु नुहाउँछन, आफूले लगाएको, ओढेको, बिच्छयाएको लुगा सफा गर्छन । त के यो गलत हो ? अरु बेला घरायसी कामकाज र हातमुख जोड्ने जोहो गर्दा फुर्सद नपाउने महिलाहरु यो समयमा कमसेकम आफ्नो सरसफाई त गर्न पाउँछन । सरसफाई गर्न रजस्वला कुर्नुपर्ने महिलालाई यो अवसर कु–प्रथा हो त ? प्रथा ठूलो कि स्वास्थ्य ठूलो ? अर्को कुरा रजस्वला महिलाको स्वास्थ्यले दिएको एउटा प्रकृया हो, यसलाई हामी नियन्त्रण गर्न सकौला र ?

रजस्वला हँुदा निस्कने रगत फोहोर हुन्छ, हानिकारक हुन्छ यो बिज्ञानले प्रमाणित गरेको कुरा हो । अधिकांश सुदूरपश्चिमका महिलाहरुले रजस्वला हुदा प्याड र पेन्टी प्रयोग गर्दैैनन् त त्यो बिकार रगत घरभरी, जथाभावी छर्दै हिड्ने ? सबैलाई म रजस्वला भएको छु भन्दै देखाउदै हिड्ने ? कमसेकम घर बाहिर बस्दा, अलि पर बस्दा, मान्छे भन्दा पर बस्दा त्यो देखिदैन, छरिदैन ।

सुदूरपश्चिमको गाउँका घरहरु काठमाडौको जस्तो ९ तल्ले हँुदैनन् । एउटै घरमा मुन्तिर गोठ, माथिल्लो तलामा मान्छे बस्ने र सबैभन्दा माथिको तल्लामा खाना बनाउने, भण्डारण गर्ने ठाउँ हुन्छ । हिन्दु धर्ममा गाईलाई लक्ष्मीको रुप मानिन्छ र त्यहि गाईको दुध पनि खान्छौं । त त्यो गाईलाई रजस्वला भएको बेलामा, अशुद्ध भएको बेलामा नाघ्नु हँुदैन, आफु मुन्तिर पार्नु हँुदैन भन्ने धारणा कसरी गलत भयो ? रह्यो छाउपडी बस्ने सानो घर जसलाई गोठको संज्ञा दिईन्छ । त्यो केही दुरीमा हुन्छ । यो सत्य हो, गाई ,भैंसी गोठ आफू बस्ने घर भन्दा केही पर हुनुपर्छ । किनकी यो स्वास्थ्यको दृष्टीकोणले हानिकारक हुन्छ । कमसेकम रजस्वला भएको समयमा त्यो गोठ र बस्तुभाउबाट टाढा बस्न त पाईन्छ । यसलाई प्रथा मान्ने कि दिर्घकालिन वैज्ञानिक सोच मान्ने ? गम्भीर प्रश्न छ ।

छाउपडी प्रथा उन्मुलन हुनुपर्छ , उनिहरु बस्ने गोठ अथवा घर भत्काईनु पर्छ, सहमत तर त्यो गर्नु पूर्व उनिहरुमा चेतना जागृत गराउन जरुरी छ कि छैन ? उनिहरुको आर्थिक स्तर र चेतनाको स्तर बृद्धी हुनु जरुरी छ कि छैन ? संस्कार , प्रथा कती राम्रा र नराम्रा छन् त्यो ज्ञान हुनु जरुरी छ । अनि मात्र त्यो प्रथा निराकरण हुन सक्छ । नभए जवरजस्ती गोठ भत्काएर रजस्वला भएका महिलालाई घर प्रवेस गराउँदा फाईदाको साटो घाटा पो हुन्छ कि ? अदृश्य रुपमा महिलाहरुले पाउँदै आएका अधिकारको कटौती पो हुन्छ कि ?

कहाँ छैन छाउपडी ?

काठमाण्डौ नेवार समुदायमा छोरी रजस्वला हुनु पूर्व गुफा राख्ने र वेल विवाह गर्ने चलन हुन्छ । यो समयमा उनिहरुले १२ दिन सूर्यको मुख नहेरी बस्नु पर्ने हुन्छ । यत्रो दिन उज्यालो र घाम नदेख्दा ति साना साना नानिहरुको अधिकार हनन हुँदैन ? उनिहरुको स्वास्थ्यमा नराम्रो असर पर्दैन ? नेपाली सञ्चार जगत र गैरसरकारी संस्था र अधिकारकर्मिहरुले यो कुरा नदेखेकै हुन त ?

नजिकैको जिल्ला गोर्खाको कुरा गरौं त्यहाँको व्राह्मण ,क्षेत्री परिवारमा छोरी रजस्वला हुँदा १५ दिन सम्म बाहिर ननिस्कने गरी अर्काकै घरमा राख्ने चलन छ । त्यो समयमा आफ्नो गोत्रका कुनै पनि घरको धुरी हेर्न र आफ्ना गोत्रका केटा मान्छेको मुख हेर्न र सकेसम्म आवाज पनि नसुन्ने प्रचलन छ । एक पटक मात्र होईन दोस्रो पटक १३ दिन र तेस्रो पटक ११ दिन यही नियमलाई पालन गर्नु पर्छ यहाँका किशोरीहरुले ।

त्यो पक्ष राम्रो की नराम्रो ? अर्काको घरमा एक्लै बस्दा उनिहरुको मनस्थिती के होला र यसरी अर्काको घरमा एक्लै बस्दा उनिहरुको शारिरिक सुरक्षाको सम्भावना कति होला ? उनिहरुको सुरक्षा र अधिकार कहाँ हुन्छ ? यो बिषय कुनै अधिकारकर्मी , सञ्चारकर्मी र गरैसरकारी संस्थाले उठाएको छ ?

छाउपडीलाई कु–प्रथा , कु–संस्कार मानेर यसैमा अल्झीरहनु हाम्रो सोचाई , विकासको गति र हाम्रा अधिकार माथी छलफल गर्ने बुझाई र गहिराई कति छ भन्ने बुझिन्छ । कहाँ छैन यो प्रथा ? काठमाडौंमा छ , नेपालका अधिकांश ठाउँमा छ । रजस्वला बार्ने चलन कहाँ छैन र ? खाली विषय वस्तु बनेको छैन र बिषय वस्तु बनाउनलाई छुट्टै घर र गोठमा बस्नु पर्दैन ।


छाउपडीलाई नै सुदुरपस्चिमका महिलाको चेतना , अधिकार र संस्कार सँग जोडेर महिला अधिकार उत्पिडनको रेखा कोर्ने हो भने त्यो जायज नहुन सक्छ । अरु पनि त पक्ष छन् जो महिलाको लागि गम्भिर छन र देशभरी छरिएका छन ।

पूर्वी नेपालका कुनै पनि महिलाले श्रीमानको मृत्यु भएपछि आजिवन विधवा भएर बस्नुपर्छ । अर्को विवाह गर्ने अनुमती समाजले दिँदैन । रातो रंगको लुगा त के रातो रंग मिसिएको लुगा सम्म लगाउने अधिकार विधवालाई हुँदैन । सिन्दुर पोते त परको कुरा । समाजको यो चलनले पढे लेखेका महिला पनि वाँधिएका हुन्छन । तर सुदुरपश्चिममा त्यो छैन । श्रीमानको मृत्यु पश्चात १ बर्ष सम्म सेतो लुगा लगाउने ,चुरा ,पोते नलगाउने ,विहे नगर्ने संस्कार छ । तर १ बर्ष पछि ति महिलाले रातो लुगा लगाउन पाउँछिन , चुरा पोते लगाउन पाउँछिन र विहे गरेर जान पनि पाउँछिन । अब यसलाई के भन्ने ? महिला स्वतन्त्रता र हक अधिकार कि कुरीती या कु–संस्कार ?

कुनै पनि पक्षलाई एकोहोरो मात्र विश्लेषण गरिनु हुँदैन र सतही विश्लेषण मात्र गरिनु हुँदैन भन्ने मेरो बुझाई हो । सुदुरपश्चिमको महिला अधिकार र छाउपडी विषयलाई उन्मुलन गर्ने र नराम्रो हो भन्नु पुर्व माथिका पक्ष पनि मनन गरिनुपर्छ र आवश्यक पनि छ । नभए उल्टै ब्याक फायरको निशानामा परिन्छ कि भन्नेमा यहाँका महिला, महिला अधिकारकर्मी , सञ्चारकर्मी र गैैर सरकारी संस्थाले समयमै बुझ्न आवस्यक छ ।

गलत प्रथा र संस्कारलाई परिमार्जन गर्दै लैजानु पर्ने आवश्यकता छ । तर अरुको लहलहैमा विना अध्ययन कुनै पनि संस्कार, परम्मरा र रितिरिवाजलाई गलत भन्नुको कुनै हक नवन्ला । कतिपय कुरामा बैज्ञानिक कारण हुन्छन र कतिमा हुदैनन् तर त्यसलाई हामीले कसरी लिने भन्ने मात्रै कुरा हो । बिदेशी परम्परालाई अगाल्नै हुदैन भन्ने होईन, त्यहाँको स्वतन्त्राताको अभ्यास गर्नै हुदैन भन्ने होईन तर कति कुरा अगाल्ने कति कुरा बहिस्कार गर्ने यो हामीले बुझने कि नबुझने ?

यसर्थ सामाजिक संस्कार, परम्परा हाम्रा गहना हुन, यिनिहरुलाई समय सापेक्ष परिमार्जन गर्दै लैजानु पर्छ, ति संस्कार भित्र रहेका नराम्रा पक्षलाई दुरुत्साहित गर्दै लैजानु पर्छ । यसका साथै कला संस्कृति हाम्रा गहना हुन यिनिहरुको संरक्षण हामीले हाम्रा लागि मात्र नभएर आगामि पिढका लागि पनि संरक्षण गरेर राख्नु हाम्रो दायित्व हुन आउँछ ।

khadkaje@gmail.com
Source: Setoparewa

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।