Saturday, May 30, 2015

राष्ट्र बैंकका पूर्वप्रबन्धक धनगढीमा रिक्सा चलाउँदै

धनगढी, १६ जेठ (ओएनएस) : जेठको प्रचण्ड गर्मी । धनगढीका साँघुरो र व्यस्त सडक । गर्मीसँगै उडेको वाक्कलाग्दो छारो । गर्मीले हायलकायल भएका केही बटुवा सवारी साधनको प्रतिक्षामा उभिएका थिए, पार्कमोड नजिक । यत्तिकैमा पूर्वतिरबाट निलो रंगको एउटा विद्युतीय रिक्सा अथवा अटोरिक्सा आइपुग्यो । दुई जना यात्रु चढे । रिक्सा चलाउने व्यक्ति फूर्तिला र रवाफिला देखिन्थे, आम रिक्साचालकभन्दा फरक । हाफपाइन्ट, टिसर्ट र गगल्स लगाएर रिक्सा चलाइरहेका थिए । यात्रु चढे, अटोरिक्सा गुड्यो– सररर्…।
यो रिक्सा नम्बर से १ स ११० हो । र, यसका चालक हुन्– नेपाल राष्ट्र बैंकका अवकासप्राप्त कर्मचारी राजेश शाही । राष्ट्रबैंकमा प्रबन्धक जस्तो उपल्लो तहको पदमा रही ३० वर्षे जागिरपछि रिटायर्ड भएका शाही यतिवेला धनगढीको झण्डै ४४ डिग्री सेल्सीयस गर्मीमा अटो रिक्सा चलाइरहेको कसैले पनि हत्तपत्त पत्याउदैन । उनले पैसा कमाउनका लागि मात्रै अटोरिक्सा छानेका चाही होइनन्, युवा पुस्ता र खासगरी वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि केही प्रेरणा मिलोस भनेर यो कठिन काममा हात हालेका छन् ।
Rajesh Shahi
‘स्वदेशमा रोजगारी पाइएन भन्दै विदेशिने युवाहरूका लागि उदाहरण दिन यो पेशा अंगालेको हु ’ उनले भने, ‘रिक्सा चलाएर मैले राम्रै कमाइ गरिरहेको छु ।’
शाहीले एक सातादेखि धनगढीमा अटो रिक्सा चलाउन शुरु गरेको बताए । ‘दैनिक एक हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म कमाई हुन्छ’ उनले दैनिक एक हजार रुपैयाँ रिक्सा भाडावापत श्रीमतीलाई दिने गरेको बताए । ‘यो (अटो रिक्सा) मेरी श्रीमति (रश्मी शाही) ले किनेकी हुन्’ शाहीले भने त्यसैले दैनिक रिक्सा भाडा दिने गरेको छु ।  श्रीमतीले रिक्सा चालक खोज्न थालेपछि आफूलाई पनि रिक्सा चलाउने रहर पलाएको उनले बताए ।
राष्ट्र बैंकबाट अवकाश पाएपछि उनले केही वर्ष राजनीतिमा पनि बिताएको बताए । उनले संविधानसभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । ‘राजनीतिबाट देशको सेवा गर्ने रहर थियो, त्यो पूरा भएन’ उनले भने– घरमा खाली बस्नु भन्दा केही गर्नु पर्छ भन्ने लाग्यो र रिक्सा चलाउन शुरु गरे ।
२०३८ सालमा नेपाल राष्ट्र बैंक धनगढीबाट खरिदार पद्बाट जागिर शुरु गरेका शाहीले राष्ट्र बैंक काठमाडौं, पोखरा र पुनः धनगढीमा विभिन्न पद्मा रहेर काम गरे । धनगढीमा कार्यरत छदा २०६६ मा व्यवस्थापक पद्मा बढुवा भएपछि शाही राष्ट्र बैंक नेपालगञ्ज गए । र, त्यहाँ दुई वर्ष काम गरे । जागिरबाट अवकाश पाएपनि आफूलाई खालि बस्न मन लागेन्, उनले अनुभव सुनाए । घरमा बस्न मन पर्दैन केही गर्नु पर्छ भन्ने लाग्छ ।’
Source: ONS News

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।