अनिता न्यौपाने, यूएई–
रोजगारीको सिलसिलामा लामो समय भारत रहेपछि २ वर्षअघि यूएई आउनु भएका मान बहादुर के.सी. ‘मुस्कान’ सुदूरपश्चिम नेपालको लोक संस्कृति देउडाका संरक्षक हुनुहुन्छ । श्रम सँगै गीतसंगीत, साहित्य र समाज सेवामा एकसाथ क्रियाशील थोरै नेपाली मध्ये एक हुनुहुन्छ–‘मुस्कान’ । मंगलसेन–४ अछाममा जन्मिनु भएका ‘मुस्कान’ हाल टीकापुर–७ कैलालीलाई आफ्नो स्थायी ठेगाना बताउनु हुन्छ । केही महिना पहिले सार्वजनिक ‘मुस्कान’को देउडा एल्बम ‘हाँसी रमाई–रमाई’ले बजारमा राम्रो रेस्पोन्स पाइरहेको छ ।
गजल लेखनमा व्यस्त ‘मुस्कान’ पछिल्लो पटक ३ वटा ठाडीभाका, ३ वटा देउडा दाहोरी, १ वटा लोक दोहोरी र १ वटा देउडा खेल सहितको आठवटा गीतको अडियो र भिडियो एकसाथ बजारमा ल्याउने तरखरमा हुनुहुन्छ । ‘मुस्कान’ र अन्य देउडाप्रेमीहरुको सक्रियतामा यूएईमा पहिलो पटक देउडा खेल सम्पन्न भइसकेको छ भने आगामी सेप्टेम्बर ४ मा यूएईमा गौरा पर्व मनाउन लागिपरेको जानकारी वहाँले दिनुभएको छ ।
सुदूरपश्चि सेवा समाज, यूएईको गठन गरी सामाजिक कार्यमा सक्रिय ‘मुस्कान’ले भूकम्पपीडित नेपालीहरुको सहयोगका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सहभागी भएर सक्रिय जीवन बाँचिरहनु भएको छ । साहित्य, संगीत र समाजसेवाका त्रिवेणी ‘मुस्कान’सँग पत्रकार खेमराज खनालको सहयोगमा तयार पारिएको अन्तवार्ताको सम्पादित अंश ।
मलाई सानैदेखि गीत संगीतमा रुचि थियो । सानो छँदा गाउँबेंसीमा एक्लै गीत गुनगुनाउने गर्थें र विशेष देउडा गीतहरु लेखिरहन्थे । मैले क्यासेट र एफएमहरु मार्फत् गीतहरु सुनिरहन्थें । कहिलेकाही समय मिल्दा एफ.एम.हरुमा गएर देउडा कार्यक्रममा बसेर नै गाउने पनि गरिन्थ्यो । विशेष हाम्रो साँस्कृतिक देउडा लोप हुँदै गएको देखेर यसको जगेर्ना गर्नु केही कोसिस गरौं भन्ने लागेर एक वर्ष पहिले देखि सांगीतिक क्षेत्रमा प्रवेश गरियो ।
तपाईंले देउडासँगै गजल, मुक्तक, कविता पनि लेखेको अन्लाईन पत्र पत्रीका र सामाजिक सञ्जाल भरि पढ्न पाइन्छ भने देउडामा शब्द र लय र स्वर पनि दिनुहुन्छ । हिजोआज सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । सबै काम एक साथ गर्न समय कसरी मिलाउनु हुन्छ ?
आमाबुवाको आशीर्वाद, भगवानको कृपा र सम्पूर्ण साथीभाइहरुको मायाप्रेमले हो । व्यस्तताका कारण साथीहरुसँग भलाकुसारीसम्म गर्ने समय बच्दैन । भ्याईनभ्याई त हुन्छ हुन त ? तर, के गर्नु ? सबैतिर तालमेल मिलाएर चलि रहेको छु । आफ्नो रुचिको कुरा पनि हो । हेरौं कहिलेसम्म सकिन्छ ।
यूएईमा केही महिना पहिले सुदूरपश्चिम सेवा समाज गठन भएको छ । किन त्यो समाजको आवश्यकता पर्यो ?
हामी सामाजिक प्राणी हौं । एकतामा बल हुन्छ । फुटेर जानुभन्दा जुटेर जानु राम्रो हो भनेर हामीले सुदूरपश्चिमेलीहरुको एकता, सहयोग र सहकार्यका लागि संगठित भएका हौं । हाम्रो देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरिब, असहायहरुलाई सक्दो सहयोग गर्नका लागि र वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि सहयोग गर्ने हेतुले सुदूरपश्चिमका ९ जिल्लाका नेपालीहरु मिलेर एक स्वतन्त्र र गैरराजनीतिक र गैर नाफामुलक संस्थाको रुपमा गठन गरिएको हो ।
सुदूरपश्चिम सेवा समाज यूएईले के-के काम गरि रहेको छ ? छोटो अबधीमा नै धेरै चर्चा पाएको सुनिन्छ नि?
स्थापनाको छोटो अवधिमा यो समाजले राम्रो चर्चा कमाएको छ । चर्चा पाउनुका पछाडि सम्पूर्ण पदाधिकारीहरुको अथक मेहनत र परिश्रम छ । आईपरेका बेला सेवा गर्न भनेर नै समाज गठन गरिएको हुनाले सक्दो सहयोग गरिरहेका छौं । स्थापना भएको छोटो समयमै हामीले बिनाशकारी भूकम्पबाट घर-परिवार गुमाएर महाविपत्तीमा गुर्जिरहेका नेपालीहरुको सहयोगका लागि ४,७९,२३४ ( चार लाख उनासी हजार दुई सय चौतिस रुपैया ) प्रधान मन्त्री राहत कोषमा जम्मा गरेका थियौ, भने यूएईमा कार्यरत भुकम्पले घरबार गुमाएकी सिन्धुप्लान्चोक मानेश्वोर निवासी मिना भण्डारीलाई नेपाली ७३,६१७ ( तिरिहत्तर हजार छ सय सत्र रुपैया ) प्रतक्ष वहाँको हातमा बुझाएका थियौ, जम्मा मिलाएर ५,५२,८५१ ( पाच लाख बावन्न हजार आठ सय एकावन्न ) आर्थिक सहयोग भूकम्पपीडित नेपाल र नेपालीहरुको लागि गरेका छौं । त्यस्तै झुटा मुद्दामा फसेका पत्रकार खेमराज खनाललाई १८,०५७ ( अठार हजार सन्तावन्न ) रुपैया नगद टिकट खर्च स्वरुप सहयोग गरेका थियौ, र कंन्चनपुर जिल्लाको भिम दत्त नगरपालिका घर भई एउटा खुट्टाले काम गर्ने नसक्ने बिरामीलाई समाजको पहलबाट ४०,००० (चालिस हजार) सहयोग गरेका थियौ । यूएईमा पहिलोपल्ट देउडा खेल पनि खेलियो । अब आगामी सेप्टेम्बर ४ मा गौरा पर्व मनाउन लागेका छौं । आउँदा दिनमा अझ राम्रा र समाज उपयोगी कामहरु पनि गरिरहने छौं ।
आफ्ना रचनामा प्रायः जसो मायाप्रेममा आधारित लेख्नुहुन्छ, त्यसको पनि केहि खास कारण छ कि ?
त्यस्तो खास कारण केही छैन । लेख रचना लेख्दा कुनै न कुनै प्रसंग त समेट्नु नै पर्ने हुन्छ । मैले अरु भन्दा प्रेम प्रसंगलाई नै मान्यता दिने गरेको छु ।
प्रेम प्रसंगलाई नै मान्यता किन ? कतै आफैले भोगेको हो कि ? छर्लङ पारिदिनुहोस् न ?
होइन त्यस्तो केही पनि होइन । तर, मैले आजकाल मायाप्रेमको चक्करमा पर्ने भाइबहिनीहरुलाई के सुझाब दिनु चाहन्छु भने कुनै पनि केटा होस् या केटी होस् कसैसँग माया गर्छु भनेर झुठा कसम खाएर टाईमपास नगरी दिनुहोला । तपाईंले जो सँग झुटा मायाको नाटक गरी टाईमपास गर्नु हुन्छ । उसले साँचो मानेर चोखो मनले माया गर्यो भने अन्त्यमा बिछोडको चोट सहन गार्हो भएर जीन्दगीभर तड्पी बाँच्नु बाध्य हुनपर्छ ।
देउडा लोप हुन लागे बेला यो क्षेत्रमा आउन भएको छ ? देउडा एल्बमहरु बनाएर आफ्नो लगानि उठाउनु सक्नु हुन्छ र ?
मैले पहिले पनि भने र अहिले पनि भन्दै छु । म यो क्षेत्रमा आउनुको कारण देउडाको जगेर्ना गर्नु मात्रै हो । आजकाल एल्बमहरु बनाएर कमाउला, घरबार चलाउला भन्ने त सोच्दै नसोचे हुन्छ । एक कुरा मैले ठोकुवा गरेर भन्न सक्छु मेरा आउने कुनै पनि एल्बममा घाटा खेप्नु पर्ने छैन । मैले यही क्षेत्रबाट लगानी असुल गर्नेछु । मलाई पूर्ण आशा छ, श्रोताहरुले मेरा एल्बमहरु मन पराउनु हुनेछ ।
देउडा र देउडा कलाकारहरु एक्कासी यसरी लोप हुनको कारण के हो जस्तो लाग्छ ?
आजकाल पेन ड्राईभ, मोबाईल, ल्याबटप, इन्टेरनेटमा सजिलै गीतहरु हेर्नु र सुन्नु सकिने हुनाले सीडी लगभग बेचिनै बन्द भए । देउडा लोप हुन र देउडा कलाकारहरु विस्थापित हुनको मुख्य कारण वहाँहरुलाई देश तथा विदेशमा हुने स्टेज सोहरुमा कहिलै पालो नै दिएको देखिदैन । स्टेज सोहरुमा बोलाउने गर्दा वहाँहरुको पकेट खर्च पनि चल्ने, देउडा एल्बम बजारमा ल्याउनु केही खर्च पनि उठ्ने, देउडा कलाकारहरुलाई देउडा जोगाउनु साहस पनि जाग्थ्यो र सजिलो हुन्थ्यो जस्तो लाग्छ मलाई ।
तपाईंले आउँदा दिनमा पनि केही गीत बजारमा ल्याउनु विचार बनाउनु भएको छ कि ?
मैले गीत होईन, एल्बम नै बजारमा ल्याउछु, आउँदै गरेको विजया दशमीमा समयले साथ दियो भने मेरा दुई एल्बम बजारमा आउँने तयारीमा छन् । ‘कठै दैब तलाईं’ र ‘हा“सी रमाई–रमाई’ भाग–२ । ‘कठै दैब तलाईं’मा विवाह गरेको केही वर्षमै विधुवा बनेको नारीले भोग्नु पर्ने दुःख कष्टमा आधारित छ भने ‘हाँसी रमाई–रमाई’ भाग–२ प्रेम प्रसंगमा आधारित छ । यो भन्दा धेरै मैले अहिले केही भन्न सक्दैन । तीन महिना प्रतीक्षा गर्नुहोस् भिडियो नै हेर्नुहोला पुरै कहानी बुझ्नुका लागि । पछिल्लो पटक ३ वटा ठाडीभाका, ३ वटा देउडा दाहोरी, १ वटा लोक दोहोरी र १ वटा देउडा खेल सहितको आठवटा गीतको अडियो र भिडियो एकसाथ बजारमा ल्याउने तरखरमा छु ।
तपाईंले आफ्नो नामको पछाडि किन ‘मुस्कान’ र ‘देउडाप्रेमी’ पनि लेख्नुहुन्छ ?
खास कारण त केही छैन । म सधैं हाँसिरहने हुनाले साथीहरुले ”मुस्कान” भनेका हुन् र प्राय देउडा नै धेरै लेख्ने र समय अनुसार देउडामै कुरा गर्ने भएको हुनाले धेरै साथीहरुले ‘देउडाप्रेमी’ भन्न थाले । म पनि सधैं खुसी रहने र देउडा अति मन पराउने हुनाले नामको पछाडि यी दुईटै उपनाम लेख्दा अझ सान्दर्भिक होला भनेर लेख्न थालेको हुँ ।
अन्त्यमा हाम्रा पाठकहरुलाई के भन्न चाहनुहुन्छ कि ?
सर्वप्रथम त मेरो पहिले एल्बम ‘हाँसी रमाई–रमाई’ अति मन पराईदिनु भएकोमा श्रोताहरुलाई मेरो हृदयदेखि नै धेरैधेरै धन्यवाद दिनु चाहन्छु । मेरा आउने एल्बमहरुलाई अझै माया गर्नु हुनेछ भन्ने आशा र अपेक्षा पनि राखेको छु । गीतहरु हेर्ने र सुन्ने श्रोताहरुले राम्रो र नराम्रो जे जस्तो छ, प्रतिक्रिया दिनुहोला । यो मेरो मान्छेको गीत हो, त्यो टाढाको मान्छे गीत हो, भन्ने किसिमको भावना नराख्नु होला । राम्रोलाई हौसला दिनुहोला । नराम्रोलाई भुलचुक भए ठाउँमा सुधार गर्नुलाई सुझाव सल्लाह दिनुहोला । मिडिया र मिडियाकर्मी साथीहरुले पनि आफ्नो र पराई केही नसोची सबै कलाकारलाई समान ढंगले हेर्नुहोला । देश तथा विदेशमा बस्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरुको जीवन सुखमय बितोस् भन्दै बिदा हुन चाहन्छु । धन्यवाद......
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।