Tuesday, April 30, 2013

बयान सुन्दरसुदूरपश्चिमको


पर्यटकीय गन्तव्यहरूको धनी सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृतिको प्रतिबिम्बमात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा भौतारिने स्वदेशी र विदेशीहरूका लागि अद्भूत भूस्वर्ग पनि हो । खप्तड, रामारोशन, कर्णाली पुल, दोधारा र चाँदनी जोड्ने महाकाली नदीमा बनेको लामो झोलुंगे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, डोटीको शैलेश्वरी मन्दिर, बझाङ र दार्चुलामा अवस्थित अपी सैपाल हिमाल  यहाँका प्रमुख गन्तव्य हुन् । यसैगरी बाजुराको बडीमालिका, डोटीको बडीकेदार वा बझाङको सुरमा सरोवर पनि सुदूरपश्चिमका आकर्षक गन्तव्य हुन् । तपाइँलाई तिनै प्रमुख र सुन्दर गन्तब्यमा घुमाउँदै छन् ।  जनक तिमिल्सिना:
रमाइलो रामारोशन
         ढकमक्क फुलेका लालीगुराँस, चारैतिर हरियाली जंगल । ठूला र फराकिला आकर्षक घाँसे मैदानहरू । कृत्रिम रूपमा डिजाइन गरिएको आधुनिकताको आविस्कारजस्तै कलकल भूमिगत सुरुडबाट बग्ने खहरेहरू । अछाम जिल्लाको पर्यटकीय गन्तव्य रामारोशनको बान्की यस्तै देखिन्छ । पानीको निकासी भूमिगत सुरुङहरूबाट हुन्छ । फरक-फरक आकारका तालहरू एकआपसमा जोडिएका छन् । सुरुङमाथि घना जंगल र घाँसे मैदानहरूको राज छ । पूर्वतिरको डाँडाबाट हेर्दा रमणीय उपत्यका देखिन्छ । पश्चिमतिरको अग्लो डाँडाबाट ठूलो जंगल र बीचबीचमा निला तालहरूले सौन्दर्यको मादकतालाई उत्कर्षमा पुर्‍याउँछ ।ramaroshan nadi
लाग्छ, यो कुनै भूस्वर्ग हो, देवताहरू यहाँ राज गरिरहेका छन् । घाँसे मैदानहरूमा सुन्दर चराचुरुंगी, जंगली जनावरका बथानहरू देखिन्छन् । वर्षायामको सिमसिमे पानीमा जनावर चर्दाको दृश्यले त मनै लोभ्याउँछ । रामारोशनको हावापानी मध्यम खालको छ ।
रामारोशनलाई १२ बण्ड र १८ खण्ड भएको स्थलको रूपमा स्थानीयहरू व्याख्या गर्छन् । उपत्यकाजस्तो लाग्ने रामारोशनलाई कोही रोशनमात्र पनि भन्ने गर्दछन् । यहाँ माथिल्लो धौने, तल्लो धौने, बाटुला, लामादह, लिस्सेडाली, ग्रागा, रगाडेलगायतका तालहरू छन् । भगवान शिवजीले आफ्नी पत्नी सत्यवतीको मृत शरीर बोकेर हिँड्दा उनका अंगहरू खसेर यहाँ ताल र डाँडाकाँडा र खोच बनेको किम्वदन्ती स्थानीय नृप रोकाया सुनाउँछन् । तालहरूका नाम पनि आकार र विशेषताका आधारमा राखिएको छ । गाग्रा ताल गाग्राको आकारजस्तो छ । बाटुला ताल बाटुलो आकारको छ भने लेउ लागेका कारण एउटा तालको नाम लिस्सेडाली राखिएका छ । रंगाडे यहाँ भएका तालहरूमा सबैभन्दा ठूलो ताल हो, जसलाई फन्को लगाउन करिब २ घण्टा लाग्छ । यो तालमा स्थानीयले डुंगासमेत सञ्चालन गरेका छन् । तालका वरपर शिवजीका २ वटा मन्दिर पनि छन् । रामारोशन देशकै जैविक, प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण ठाउँ हो ।
जैविक विविधाका दृष्टिले पनि रामारोशन राम्रो गन्तव्य हो । यहाँ पाँचऔले, सर्ता, पदमका जडा, पापजडी, पुरनलगायतका जडीबुटी यहाँ पाइन्छन् । यहाँ डाँफे, मुनाल, कालिज, कोइलीलगायत अनेकथरी चरा र बाघ, भालु, बँदेल, रतुवा, जरायो, घोरल, मृगलगायतका जनावर पनि प्रशस्त पाइन्छन् । अछामको मौलिक पहिरन र वेशभूषा पनि निकै आकर्षक छन् । देउडा, हुड्के, भुवा, पुत्लाजस्ता आफ्नै किसिमका रीति र संस्कृतिहरू छन् । पुत्ला महिलाहरूले मात्रै खेल्ने खेल हो भने देउडा महिला वा पुरुष वा सँगसँगै मिलेर खेल्न सकिन्छ ।
स्थानीय र पर्यटकको सुविधाका लागि मोटरबाटो तीब्र गतिमा बनाउन थालिएको छ भने जाततोला भन्ने ठाउँमा विद्युत् आयोजना पनि सञ्चालन गरिँदैछ । पसल तथा होटेल, लज र रेस्टुराँहरूको व्यवस्था पनि गरिँदैछ ।
सुदूरपश्चिमको व्यापारिक केन्द्र धनगढीबाट लगभग २० घण्टाको बसयात्रापछि अछामको सदरमुकाम मंगलसेन पुग्न सकिन्छ । सदरमुकाम मंगलसेनबाट एकदिनको पैदलयात्रा गरेपछि रामारोशन पुग्न सकिन्छ । मंगलसेनबाट रामारोशनको यात्रा थाल्दा बलीगाउँ, जुपु हुँदै कैलाशखोलाको किनारमा झर्नुपर्छ । कैलाशखोलाको किनारैकिनार यात्रा गर्दा निकै रमाइलो लाग्छ । गजड, मुजाबगरलगायतका ठाउँहरूमा छिट्टफुट्ट होटल र केही पसल छन्, जहाँ स्थानीय जातका माछाको मीठो स्वाद लिन सकिन्छ । किनारैकिनारको यात्रापछि करिब ३ घण्टा उकालोको यात्रा गरेपछि गन्तव्यमा पुगिन्छ ।
बिर्सिएको स्वर्ग खप्तड
          हिउँले ढपक्कै ढाकिएका खप्तडका डाँडाकाँडा र आकर्षक घाँसे मैदानहरू । त्यसमाथि वरिपरि फुलेका अनेकौं रंगीचंगी फूलहरू । शोभायनमान बगैंचाजस्तै देखिने खप्तड प्रकृतिको अनुपम उपहारजस्तै लाग्छ । कहिले बादल, कहिले सिमसिमे पानी त कहिले चर्को घाम जादुजस्तै क्षण-क्षणमा फेरिने मौसम खप्तडको परिचायक हो । घाँसे मैदानका बीचबाट बग्ने निला खोला र राताम्य लालीगुराँसको उपस्थितिले खप्तडको सुन्दरतामा लाली थपिदिन्छ ।
सुदूरपश्चिमको पर्यटकीय नगरी खप्तड लामो गन्तव्य खोज्नेहरूका लागि आकर्षक स्थल हो । खप्तडको यात्राका लागि जेठ-असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । मंसिरदेखि हिउँ पर्ने भएकाले त्यसपछिको यात्रा भने कठिन बन्छ ।khaptad
समुद्री सतहबाट ३२०० मिटरको उचाइमा फैलिएको खप्तड हिन्दूकुश पर्वत शृंखलासँग जोडिएको छ । वर्षमा ४ महिना सेताम्य हुने खप्तडको हावापानी अन्य पहाडको भन्दा विशिष्ट किसिमको छ । हिमाली क्षेत्र भएपनि शितोष्ण सब अल्पाइन जंगलले भरिभराउ छ । अछाम, बाजुरा, बझाङ र डोटी चार जिल्लाको संगमस्थल खप्तड क्षेत्र धार्मिक तथा पुरातात्विक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । यहाँ अनेकथरी देवताका अनेकथरी मन्दिरहरू छन् । खप्तड नामको पनि पुरानै किम्वन्दती छ । ५३ वर्षअघि खप्तड आएका फकिर खप्तडबाबाले खप्तड नामलाई प्रसिद्ध बनाएका हुन् । नेपाली सभ्याताको प्रादूर्भाव भएको स्थानका मानिन्छ यसलाई ।
खप्तडको उकालो चढेपछि डाँडाबाट हरियाली फाँटैफाँटको मैदान देख्न सकिन्छ । हरियाली मैदानबीचका खोल्साको दृश्य पनि मनमोहक लाग्छन् । जताततै रंगीचंगी फूल र डाँफे, मयुरको चलखेलले खप्तडको दृश्यलाई रोमाञ्चक बनाइदिन्छन् । यहाँ २५ मैदान र वरिपरि ५३ वटा थुम्का छन् । भारतवर्षमा पाँच पाण्डवहरूले हलो जोत्दा फालीबाट फालेको माटोबाट यी थुम्काहरू बनेको किम्वदन्ती छ ।
खप्तड पुग्न धेरै पैदलमार्ग छन् । पैदलयात्रा गर्नेहरूका लागि अछाम, डोटी, बाजुरा र बझाङका विभिन्न क्षेत्रबाट खप्तड पुग्न सकिन्छ । यद्यपि, परिचित रुट गाइडको आवश्यकता भने अनिवार्य हुन्छ । सरल पदमार्ग नै खोज्नेे हो भने त तपाईंले डोटीको सिलगढीबाट जाने परिचित बाटोको सहायता लिनुपर्ने हुन्छ । सिलगढीबाट खप्तड उक्लने पदमार्ग अरु वैकल्पिक पदमार्गको तुलनामा निकै सजिलो पदमार्ग हो ।
नेपालको खप्तडयात्रामा निस्कँदा करिब ८ देखि १० दिनको समय निकाल्दा राम्रो हुन्छ । काठमाडौंबाट सिलगढी पुग्न कैलालीको अत्तरियाबाट पहाडको नागबेली छिचोल्न सुरु गर्नुपर्छ । अत्तरियाबाट करिब ९ घण्टाको पहाडको नागबेली छिचोलेपछि सिलगढी पुगिन्छ । सिलगढीबाट पैदल यात्राको सुरुवात हुन्छ । हेलिकप्टरको व्यवस्था गर्न सक्नुहुन्छ भने त खुट्टालाई मज्जैले विश्राम दिन सकिन्छ । हेलिकप्टर सीधै खप्तडमा अवतरण गर्न सकिन्छ । यसो गर्दा यात्राको समय केही घटाउँदा पनि हुन्छ ।यदि पैदलयात्राबाट नै खप्तड पुग्ने हो भनेपनि सिलगढीबाट पैदलयात्रा थालेको तेस्रो दिनमा खप्तड पुगिन्छ । अनि चक्कर लगाउनु सुरु गर्नुपर्छ यहाँका घासे मैदान, थुम्का, जंगलहरूको । घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी (भ्युटावर), त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहस्रलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो खप्तडका मुख्य घुम्ने ठाउँ हुन् । दिनभर घुमेपनि हरेक दिन बास बस्नका लागि भने निकुञ्जकै गेस्ट हाउस फर्किनुपर्छ । हिउँ र घासे मैदानको सफरमा निस्कँदा न्याना र बाक्ला लुगा, पञ्जा, जुत्ता र बाक्ला मोजाको जोहो गर्न भने जरुरी हुन्छ ।
तालैतालको माला

        सुन्दर सुदूरपश्चिमको सबैभन्दा सजिलो गन्तव्य हो- कैलाली जिल्लामा अवस्थित घोडाघोडी ताल । यहाँ त १४ वटा ठूला-साना तालको उपस्थिति छ । हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुंगिन नपाउँदै अर्क ताल सुरु हुने भएकाले यसलाई तालैतालको माला भन्दा फरक नपर्ला । घोडाघोडी क्षेत्रलाई तीनै तालहरू ढाकेका छन् । विश्वमै दुर्लभ मानिने १४० प्रजातिका चरा, २९ स्थानीय जातका माछा र ३२ प्रजातिका पुतली यहाँ पाइन्छन् । ghodaghodi lake-6 पूर्व-पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणले नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइन्छ । योगी नरहरि नाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत कालभन्दा पहिलेबाटै एक पवित्र तीर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो ताल क्षेत्रमा दुर्लभ चराचुरुंगीहरू पनि पाइन्छन् । विश्व जलचर इतिहासमा संकटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चरालाई अझसम्म पनि यी तालले संरक्षण दिइरहेका छन् । सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको छ । युरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण छ । १५ सय ४० मिटर लामो यो तालको आकार घोडाजस्तो देखिएकाले यसको नाम घोडाघोडी ताल रहन गएको स्थानीय बताउँछन् । किम्वदन्तीअनुसार तालको उत्पत्तिभन्दा पहिले यहाँ ठूलो मानववस्ती थियो । ताल बन्ने क्रममा सात गाउँ डुबेको किम्वदन्ती छ । नेपालको तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमा सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र पनि यही हो । लोपोन्मुख अवस्थामा रहेका जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले यो ताल हेर्नलायक ठाउँ हो । हालसम्मको अध्ययनअनुसार यहाँ ४ सय ५० प्रजातिका वनस्पति पाइन्छन् । 

मनमोहक मैदान
         मैदानको रमाइलो शुक्लाफाँटा वन्यजन्तु आरक्ष सुदूरपश्चिमको अर्को गन्तव्य हो । यहाँ विविध प्रजातिका वन्यजन्तु पाइन्छन् । तराईमा रहेको यो वन्यजन्तु आरक्ष कञ्चनपुर जिल्लामा अवस्थित छ । पूर्व-पश्चिम राजमार्गमै पर्ने भएकोले यो सहज गन्तव्य पनि मानिन्छ । ३ सय ५ वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको आरक्षमा गैंडा, बाघ, हात्ती, बाह्रसिंगा, नीलगाईलगायतका वन्यजन्तु पाइन्छन् । Suklaphanta
विश्वमै ठूलो झुण्डमा रहेको बाह्रसिंगा र दुर्लभ वन्यजन्तुको श्रेणीमा पर्ने पाटेबाघको संरक्षणका लागि सन् १९७६ मा यसलाई वन्यजन्तु आरक्ष घोषित गरिएको हो । आरक्षका अनुसार अहिले गैंडाको संख्या ७ पुगेको छ भने बाह्रसिंगा ९ हजारसम्म रहेको अनुमान छ । शुक्लाफाँटामा ३ सय ४९ प्रजातिका चरा, १२ प्रजातिका घिस्रने जनावर, ५ प्रजातिका उभयचर, २४ किसिमका माछा, ३५ प्रजातिका पुतली पाइन्छन् । यहाँ ६ सय ६५ प्रजातिका वनस्पती पाइन्छन् । साथै, मोहक ताल पनि हेर्नलायक छन् । पर्यकीय तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण शुक्लाफाँटा आरक्षभित्रका ताराताल, रानीताल, बाबाताललगायतका आधा दर्जनभन्दा बढी ताल छन् । गत जेठमा यहाँ बाघे सर्प (रसिल्स भाइपर) पनि भेटिएका छन् । तालमा फुल्ने कमलका फूलको लोभलाग्दो दृश्य झनै आकर्षक छ ।
शीरमा बढीमालिका
         बडीमालिका सुदूरपश्चिमको अर्को सुन्दर गन्तव्य हो । हरियाली  फाँट, त्यसमाथि फुलेका रंगीबिरंगी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् । यहाँ डाँफेमुनाल कस्तुरी, मृग घोरललगायत चरा र जनावरहरू पाइन्छन् । बाजुरा जिल्लाको कैलाशमाण्डु गाविसमा पर्ने बडिमालिका धार्मिक रूपले पनि महत्वपूर्ण मानिन्छ । badimalikaकिम्वदन्तीअनुसार दक्ष प्रजापतिको यज्ञमा अर्धांगिनी सत्यदेवी होमिएर देहत्याग गरसिकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाँदा मल्लागिरी पर्वमा सत्यदेवीको बायाँ अंग झरेर पतन भएपछि मालिकादेवी उत्पत्ति भई बडीमालिका एक प्रमुख शक्तिपीठका रुपमा स्थापित भएको हो । यहाँ गंगा दसहरा र जनैपूणिर्मामा मेला लाग्ने गरेको छ । यो ठाउँमा हिउदमा सेताम्य हिउँ जम्ने गर्दछ । यातायात र अन्य सुविधाको अभावका कारण यो असजिलो गन्तव्य हो । धनगढीबाट अछामको साँफेबगर हुँदै बाजुराको शेराबजारसम्म गाडीको सुविधा छ । त्यहाँबाट पैदलयात्रा मार्फत बडिमालिका पुग्न सकिन्छ ।  यसैगरी हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी पुग्नुपर्छ भने मार्तडीबाट ३ दिनको उकालो हिँडेपछि मालिका पुगिन्छ । अग्लो स्थानमा रहेका कारण यहाँ चिसो हुन्छ । स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरू र ड्राइफुडसहितको भारी बोक्ने कष्ट भने गर्नैपर्छ । (नेपाली पत्र डट कमबाट)

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।