दार्चुलाका बाढीपीडित परिवारलाई आजदेखि राहत वितरण गर्न सुरु गरिएको छ। बाढी प्रभावितहरुका लागि बुधबार हेलिकप्टरमार्फत राहत सामग्री आइपुगेपछि आजदेखि वितरण गर्न थालिएको हो।
कैलालीबाट मगाइएको राहत सामग्री आज रेडक्रसमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए ।
बाढीबाट पूर्णरुपमा विस्थापित भएका १२८ परिवारका एक हजारभन्दा बढी व्यक्तिलाई राहत सामग्री वितरण हुन लागेको हो।
पीडित परिवारका लागि २२ क्विन्टल चामल, ६ क्विन्टल दाल, १०० लिटर खाने तेल, २०० थान त्रिपाल, ४०० थान कम्बल, पानी शुद्धीकरण गर्न पियुस र औषधिलागायतका सामग्री वितरण गर्न लागिएको उनले बताए।
विस्थापित परिवार बसेकै ठाउँमा गएर राहत सामग्री बाँडने व्यवस्था गरिएको छ। केयर नेपाल, सेभ द चिल्ड्रेन, सामुदायिक ग्रामीण विकास समाज नेपाल र दाचुर्ला उद्योग वाणिज्य सङ्घले समेत पीडित परिवारलाई राहत वितरण गरिरहेका छन्।
“केन्द्रबाट पठाइएको नगद राहतबापतको रु पचास लाख आइपुगेको छ, आजैदेखि पीडितपरिवारलाई नगद राहत रकमसमेत बाँडछौँ” उनले भने।
अविरल वर्षासँगै दार्चुला सदरमुकाम खलङ्गामा महाकाली नदीको बाढीले सुकुमवासीका टहरासहित १२८ घर बगाएको थियो। जसमध्ये १३ वटा सरकारी कार्यालय रहेका छन्। बाढीबाट १२८ परिवार पूर्णरुपमा विस्थापित भएका छन्।
अहिले मौसममा सुधार भएकाले नदी कटानका सम्भावित क्षेत्रको पहिचान गरी तटबन्ध निर्माणको कार्यका लागि प्राविधिक टोली परिचालन गरिएको अधिकारीले बताए।
बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउनका लागि समेत पहल सुरु भइसकेको उनले बताए। नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको विद्युत् सेवा सञ्चालनमा रहे पनि भारतबाट प्राप्त हुने विद्युत् अझै अवरुद्ध रहेको छ।
बुधबार गृह मन्त्रालयका उपसचिव प्रदीपप्रसाद कोइराला, सुदूरपश्चिमका क्षेत्रीय प्रशासकलगायतका सरकारी अधिकारीहरुले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै विस्थापित परिवारको अवस्थाका बारेमा जानकारी लिएका थिए।
बाढीपीडित परिवारहरुले अवलोकन गर्न पुगेको टोलीसँग राहत सामग्री बाँडन ढिलाइ गरेकोमा आक्रोश व्यक्त गरेका थिए।
दार्चुलाका बिरामी बिचल्लीमा
महाकाली नदीमा आएको बाढीले स्वास्थ्य कार्यालय बगाएपछि यहाँ उपचार गराउँदै आएका बिरामीको बिचल्ली भएको छ। स्वास्थ्य कार्यालय बगेपछि बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन्।
कार्यालय बगेपछि सडकमै बिरामीलाई राखेर प्राथमिक उपचारसम्मको सेवा प्रदान गर्ने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक वीरबहादुर थापाले बताए।
जिल्लाको विकट क्षेत्रबाट उपचारका लागि पुगेका बिरामीहरुले तीन दिनदेखि खान नपाउँदा अप्ठेरोमा परेको बताए। छ दिनअघि उपचारका लागि अस्पतालमा भर्ना भएका भगवती– ४ का जगतसिंह खत्रीले भारतको बाटोसमेत अबरुद्ध छ, यहाँ उपचार छैन भन्दै उपचार नपाएर पीडा खेप्दै बस्नुपरेको दुःखेसो पाखे।
महाकाली नदीको बाढीबाट कञ्चनपुरमा तीन सय बाह्र परिवार प्रभावित
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार महाकाली नदीको बाढीबाट ३१२ परिवार प्रभावित भएका छन्।
जसमध्ये १६५ परिवारको घर पूर्णरुपमा क्षति भएको र १४७ परिवारको घरमा आंसिक क्षति पुगेको छ । महाकालीको नदीले भुजेलामा मात्रै एक विद्यालयसहित सात वटा पक्की घर बगाएको छ।
महाकाली र दोदा नदीको कटानबाट तीन बिघा चार कट्ठा जग्गा सर्वसाधारणको बगेको र ७३ बिघा पाँच कट्ठा जग्गा डुबानमा परेको प्रहरीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ।
महाकाली पारीका दोधारा, चाँदनी र भीमदत्त नगरपालिकाको भुजेला क्षेत्रका बासिन्दाले सबैभन्दा बढी क्षति बेहोर्नु परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक बृखबहादुर रावलले बताए।
तीन दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रहरीलाई बाढीपीडित परिवारको तथ्याङ्क सङ्कलन गर्ने जिम्मा दिएपछि प्रहरीले हिजो तथ्याङ्क सङ्कलन गरेको हो।
प्रहरी नायब उपरीक्षक रावलका अनुसार महाकाली नदीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ भने स्थानीय बासिन्दाका ११० वटा चौपाया मरेका छन्।
बाइस चौपाया घाइते भएका र ६५ बेपत्ता भएका छन्। हालसम्म ९६० जना लाई तत्कालीन राहतबापत चाउचाउ, बिस्कुट, दालमोठलगायतका सामग्री वितरण गरिएको छ।
सङ्कलित तथ्याङ्क प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। आजबाटै अन्य राहत वितरणका कार्यक्रम सुरु गरिने बताइएको छ। रासस
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।