दार्चुलालाई संकटग्रस्त जिल्ला घोषणा गर्दै ५० करोड बजेट दिने घोषणा गरेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको टोली कैलाली र कञ्चनपुरमा भने सेना र सशस्त्र प्रहरीको कम्पाउण्डबाटै फर्कियो।
अझ बर्दियाको भौरा टापुका ११ गाविसको बाढीको अवस्थाबारे जानकारी लिने कार्यक्रम रद्द गरेर टोली फर्कियो। मन्त्रिपरिषद्का अध्यक्ष लगायतको टोली आउने खबर पाएपछि खुसी भएका बाढीपीडितहरू उनी नआउने खबरले त्योभन्दा धेरै दुखी भए।
रेग्मीको बाढीग्रस्त क्षेत्रको आकाशे निरीक्षणले बाढीपीडितहरूलाई झन् चोट पुर्यायो। बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने भन्दै काठमाडौंबाट हेलिकप्टर चढेर सुदूरपश्चिम पुगेको टोलीले कञ्चनपुरमा सेनाको ब्यारेक र कैलालीमा सशस्त्र प्रहरीको गणभित्रै बाढीपछिको अवस्थाबारे जानकारी लियो। सम्भवतः यो जानकारी काठमाडौंबाट टेलिफोनमै लिन सकिन्थ्यो।
नेपाली सेनाको ब्यारेक र सशस्त्र प्रहरीको गणमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतले अध्यक्ष रेग्मीलाई बाढीपछिको अवस्था र राहत वितरणबारे जानकारी गराए।
रेग्मीले कञ्चनपुरमा नेपाली सेनाको ब्यारेकमा करिब १ घण्टा बिताएका थिए। यस क्रममा उनलाई स्थानीय राजनीतिक दलले बाढीपछिको अवस्थाबारे ज्ञापनपत्र बुझाएका थिए।
उनले सरकारले बाढी प्रभावितको समस्यालाई गम्भीर रूपमा लिएको बताए। अध्यक्षले राजनीतिक दलका नेता र सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अहिले भैरहेको राहत वितरण सन्तोषजनक रहेको र थप राहतका लागि काठमाडौं पुगेर मात्रै कुनै निर्णय गर्न सकिने जानकारी दिए।
जिल्ला विकास समिति कञ्चनपुरमा अध्यक्षको पर्खाइमा बसेका राजनीतिक दलका केही नेता र सञ्चारकर्मी भने उनी नेपाली सेनाको ब्यारेकबाटै फर्केपछि जिल परेका थिए।
अध्यक्ष लगायतको टोलीले आकाशबाटै महाकाली नदी कटान क्षेत्रको निरीक्षण गरेको थियो।
यता कैलालीको बाढीग्रस्त क्षेत्र टीकापुरमा पनि अध्यक्ष रेग्मीको टोली उग्रतारा सशस्त्र प्रहरी गणबाटै फर्कियो। अध्यक्ष रेग्मीले सो अवसरमा केही सीमित बाढीपीडित र सरकारी कर्मचारीसँग सोधपुछ गरे।
उनले सरकारले राहत वितरण गरिरहेको र पानीको बहाव घटेपछि आ–आफ्नो घर फर्किन त्यहाँ उपस्थित बाढीपीडितलाई सम्झाए। उनले टीकापुरमा समेत बाढीग्रस्त क्षेत्रको हवाई निरीक्षण गरे।
करिव १ हजारभन्दा बढी घर डुबानमा परेको बर्दियाको भौरा टापुका ११ गाविसका बाढीपीडितको अवस्थाबारे अध्यक्ष रेग्मीको टोलीले जानकारी नै लिएन।
पहिले बाढी प्रभावित क्षेत्र राजापुरमा पीडितसँग कुराकानी गर्ने र त्यसपश्चात सदरमुकाम गुलरिया पुगेर राजनीतिक दल, सरकारी कर्मचारीलगायतसँग बाढीपछिको अवस्थाबारे जानकारी लिने कार्यक्रम समय अभावका कारण अध्यक्ष रेग्मीको टोलीले रद्द गरेको थियो।
टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्यमन्त्री विद्याधर मल्लिक, सिचाइँमन्त्री उमाकान्त झा, मुख्यसचिव लीलामणि पौडेललगायत सहभागी थिए ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।