Friday, June 21, 2013

बद्री–केदारका अलपत्र चारसय नेपालीमध्ये ७० को हेलिकोप्टरबाट उद्धार


बद्री–केदारको तीर्थयात्रामा रहेका नेपालीलाई भारत सरकारको सहयोगमा उद्धार भइरहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ। 
 
भारतको उत्तराखण्ड राज्यमा अवस्थित ती तीर्थमा गएका नेपाली तीर्थयात्री त्यहाँ परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोमा परी अलपत्र परेपछि सरकारको अनुरोधमा भारत सरकारले उनीहरूको उद्धार गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बताए।
 
अलपत्र परेका करिब चारसय नेपालीमध्ये झण्डै ७० जनालाई हेलिकोप्टरबाट उद्धार गरेर देहरादुन र ऋषिकेशमा निर्माण गरिएका अस्थायी शिविरमा पुर्‍याइसकिएको जानकारी दिँदै उनले उद्धारको कार्य जारी रहेको बताए।
 
“दिल्लीस्थित नेपाली दूतावासले पनि भारतीय उद्धारकर्मीहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय कायम गरी अलपत्र परेका नेपालीलाई सुरक्षित स्थानमा पुर्‍याउन आवश्यक कार्य गरिरहेको र हालसम्म कुनै नेपालीको सो विपत्तिमा परी ज्यान गुमाएको जानकारी प्राप्त नभएको'' प्रवक्ता थापाले भने।
 
उत्तराखण्डमा गएको  बाढीपहिरोमा परी करिब ६० हजार भारतीय नराम्ररी प्रभावित भएका तथा व्यापक भौतिक संरचना ध्वस्त भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त विपत्तिमा परी कम्तीमा ७० जनाको मृत्यु भएको जनाइएको छ। रासस

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।