Thursday, September 5, 2013

विश्वप्रसिद्ध धावकसँग दौडँदै रेग्मी


प्रकाश आचार्य
एबरडिन (स्कटल्यान्ड) : विश्वप्रसिद्ध धावकहरू सहभागी हुने बेलायतको प्रतिष्ठित दौड ‘ग्रेट बुपा नर्थ रन’ म्याराथनमा स्कटल्यान्डको एबरडिन सहरमा बस्ने संगीता शर्मा रेग्मी पनि सहभागी हुँदै छिन्। बीबीसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने उक्त हाफ म्याराथनमा रेग्मीको सहभागिताको उद्देश्य चितवनका असहाय विद्यार्थीहरूका लागि सहयोग जुटाउनु रहेको छ।regmi
भदौ ३० गते हुने विश्वकै महत्त्वपूर्ण मानिएको उक्त दौडमा ओलम्पिकमा स्वर्ण पदक विजेता मो. फराह, म्याराथनमा पूर्वविश्व कीर्तिमानधारी तथा दस हजार मिटर दौडमा दुईपटकका ओलम्पिक विजेता इथियोपियन धावक हेयली जिब्रेल्यासी तथा पाँच हजार र दस हजार हजार मिटर दौडमा ओलम्पिक र विश्व कीर्तिमान कायम गरेका केनेनिसा बेकेलीलगायतका चर्चित धावकको सहभागिता रहनेछ।
रेग्मीले चितवनमा रहेको सरकारी विद्यालय नयाँकिरण माविमा पढ्ने विपन्न विद्यार्थी लागि अक्षय कोष निर्माण गर्ने उद्देश्यले दुई लाख रुपैयाँभन्दा बढी रकम संलन गरिसकेकी छन्। अझ बढी सहयोग रकम संकलन गर्ने आफ्नो लक्ष्य रहेको रेग्मीले बताइन्।
आफ्नो कर्म थलोबाट विपन्न विद्यार्थीलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको र भविष्यमा अझ सहयोग गर्ने उनी बताउँछिन्। रेग्मीले यो अभियान हेल्प नेपाल नेटवर्कको सहकार्यमा गर्दै छिन्। उठेको सम्पूर्ण रकम उनले हेल्प नेपाल नेटवर्कमार्फत अक्षय कोषमा जम्मा गरेर प्रत्येक वर्ष गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखेकी छन्।
दौडका लागि उनी अहिले दैनिक कडा अभ्यासमा व्यस्त छिन्। उनले आफ्नो अभ्याससँगै विपन्न विद्यार्थीको सहायोगका लागि स्थानीयस्तरमा अनुरोध पनि गर्दै आएकी छिन्। रेग्मी यसअघि पनि एकपटक हाफ म्याराथन र दुईपटक १० किलोमिटर च्यारिटी रनमा सहभागी भइसकेकी छन्।
नयाँकिरण मावि चितवनका प्रधानाध्यापक भानु उपाध्याय यस्तो सहयोगले विपन्न विद्यार्थीमाथि विद्यालयको पहुँच अझ बढ्ने बताउँछन्। २०२३ सालमा स्थापित उक्त विद्यालयमा हाल करिब ६ सय विद्यार्थी अध्ययनरत छन्।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।