योगेश रावल कैलाली, पुस १५
बर्ड फ्लू नभएको जिल्ला पशुसेवा कार्यालयको भनाई
कैलालीको गोदावरी गाविसस्थित एक कुखुरा फर्ममा चार दिनको अवधिमा ठूलो संख्यामा कुखुरा मरेका छन्।
स्थानीय कुखुरा पालक नारद जोशीले आफ्नो कुखुरा फर्ममा रहेका ३ हजार ५ सय मध्ये १ हजार ८ सय कुखुरा मरेको दावी गरेका छन्। कुखुरा मर्ने क्रम अझै नरोकिएको समेत जोशीले जानकारी दिएका छन्। उनले मरेका तीन सय कुखुरा अझै फर्म भित्रै रहेको बताए।

उनले कुखुरा मरेको बारेमा जिल्ला पशु सेवा कार्यालय कैलालीमा जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको बताए। जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर विनय कर्ण लगायतको टोलीले कुखुरा फर्मको स्थलगत अध्ययन नगरी फर्केको प्रति जोशीले आक्रोश व्यक्त गरेका छन्।
'पशु कार्यालयको प्रमुख आएर सडकबाटै फर्किनु भयो' उनले भने–'कम्तिमा कुखुरा मरेको फर्म पनि हेर्नु भएन।'
कार्यालय प्रमुख सहित आएको टोलीले उल्टै आफू लगायत बस्तीका बासिन्दालाई समेत घर छोड्न निर्देशन दिएको जोशीले बताएका छन्।
कार्यालय प्रमुख कर्णले आफू शनिबार र आइतबार जोशीको कुखुरा फर्मको स्थलगत अध्ययनका लागि गएको बताएका छन्। उनले कुखुरा फर्मको जैविक सुरक्षा नभएका कारण स्थलगत अध्ययनमा कठिनाई भएको बताए।
'हो म सडकबाटै फर्किएको हुँ किनकी उनको कुखुरा फर्म निकै असुक्षित छ' उनले भने–'मैले धेरै कुखुरा फर्मको निरिक्षण गर्नुपर्छ। उनको फर्मबाट अन्यत्र सर्न पनि त सक्छ।'
उनले भने–'ठूलो मात्रामा कुखुरा मरेको छ। के कारणले कुखुरा मरेको हो त्यसको पुष्ठी हुन सकेको छैन। त्यसकारण डराउनु परेको हो।'
उनले जोशीको फर्ममा कुखुरा मर्नुको कारण पत्ता लागिसकेको जानकारी दिएका छन्। उनले फ्लू ए समूह अर्न्तगत एच नाईन भाइरसका कारण कुखुरा मरेको जानकारी दिए। कार्यालय प्रमुख कर्णले जोशीको कुखुरा फर्ममा आशंका गरिएको बर्ड फ्लु नरहेको बताएका छन्।
यसले मानिसमा कुनै असर नगर्ने समेत कर्णले बताएका छन्। 'यसले मानिसमा कुनै असर गर्दैन' उनले भने–'कुखुरामा मात्रै असर गर्छ।' बर्ड फ्लू फ्लू ए समूहकै एच फाइभ अर्न्तगतको भाइरस हो। जुन कुखुराबाट मानिसमा सर्ने गर्छ।
'उनको कुखुरा फर्ममा बर्ड फ्लू छैन' कर्णले भने–'बर्ड फ्लूको हल्ला गरेपछि क्षतिपूर्ती पाउने आशाले उनले त्यसो गरेका हुनसक्छ।'
जोशीको कुखुरा फर्ममा फ्लू ए समूह अर्न्तगत एच नाईन भाइरस रहेको कुरा केन्द्रिय पशुरोग अन्वेषण प्रयोगशालाको रिपोर्टले प्रमाणित गरेको छ। केही दिन अघि मरेको कुखुरा जाँचका लागि जोशीले क्षेत्रीय पशुरोग अन्वेषण प्रयोशाला धनगढीमा ल्याएका थिए।
क्षेत्रीय पशुरोग अन्वेषण प्रयोशाला धनगढीले थप जाँचका लागि केन्द्रिय पशुरोग अन्वेषण प्रयोगशालामा पठाएको थियो। क्षेत्रीय पशुरोग अन्वेषण प्रयोशाला धनगढीले बर्ड फ्लू हो वा होईन भन्ने कुराको मात्रै जाँच गर्ने गर्छ।
Source: Setopati
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।