Friday, April 11, 2014

राष्ट्रिय क्रिकेट टोलीको आक्रोश, कुनै प्रतियोगिता नखेल्ने घोषणा (भिडियोसहित)


काठमाडौं, चैत्र २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्व र पुरै व्यवस्थापन परिवर्तन नभएसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले क्यानको पुरै संरचना नफेरिएसम्म कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरेका हुन् ।

राष्ट्रिय टोलीका सबै १६ सदस्यसहित पत्रकार सम्मेलनमा उपस्थित पारसले क्रिकेट संघसँग पटक–पटक भएका वार्ता र मौखिक सहमतिबाट समाधान ननिस्किएपछि बाध्य भएर प्रतियोगिता नखेल्ने घोषणा गर्नुपरेको बताए ।

राष्ट्रिय खेलाडीहरुले अहिले काठमाडौं र पोखरामा सञ्चालन भइरहेको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता बहिष्कार गरिरहेका छन् । क्यानको नेतृत्वले खेलाडीहरुको समस्या समाधान गर्न नसकेको र क्रिकेटको विकासमा पुरै उदासीनता देखाएको खेलाडीहरुको आरोप छ । एकीकृत माओवादीका केन्द्रीय सदस्यसमेत रहेका टंक आङबुहाङ अध्यक्ष रहेको नेपाल क्रिकेट संघमा मुख्य राजनीतिक दलका प्रतिनिधिहरु पनि सदस्य छन् ।

यो नेतृत्व र व्यवस्थापनले क्रिकेटको विकासमा केही गर्न नसकेको जिकिर गर्दै खेलाडीहरुले नेपाल सरकारसँग समग्र व्यवस्थापन परिवर्तनको माग गरेका हुन् । उनीहरुले क्यानको नेतृत्वसँग अब वार्तामा नबस्ने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

खेलाडीहरुले सरकारले सकारात्मक निर्णय नगरे केही दिनपछि मलेसियामा हुने एसीसी प्रिमयिर क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा समेत गरेका छन् ।

विगत सात महिनादेखि आफूहरुले तलब नपाएको भन्दै खेलाडीहरुले पछिल्ला तीनवटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाको भत्ता समेत नपाएको बताएका छन् ।

क्यानको लापरबाही र असक्षमताका कारण लाखौं विदेशी सहयोग जरिवाना बापत तिर्नुपरेको भन्दै राष्ट्रिय क्रिकेट खेलाडीहरुले क्रिकेट संघको आर्थिक अपारदर्शिताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह समेत गरेका छन् ।

राष्ट्रिय क्रिकेटको क्यालेण्डरमा नभएको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गरेर संघले सबै क्षेत्रीय तथा युवा खेलाडीहरुलाई भ्रममा राख्न खोजेको खेलाडीहरुको आरोप छ ।

उनीहरुले विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दा समेत गुणस्तरहीन खेल सामाग्री दिइएको, खेलाडीहरुलाई व्यक्तिगत प्रायोजन सम्झौता गर्न नदिइएको, क्यानको आर्थिक हरहिसाव अपारदर्शी भएको जस्ता दर्जनौं कारणले खेल बहिष्कार गर्न बाध्य हुनुपरेको समेत जनाएका छन् । 



\
Source: Imagekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।