Sunday, October 5, 2014

धनगढी वायुयान सङ्ग्रहालयमा पर्यटक बढ्दै

नेपालमै पहिलो पटक कैलालीको धनगढीमा सञ्चालनमा आएको एयर क्राप्ट म्युजियम (वायुयान सङ्ग्रहालय)को अवलोकन गर्ने पर्यटक बढ्न थालेका छन् । सङ्ग्रहालय सञ्चालन भएको दुई हप्ताभित्रमा नेपाली र भारतीय गरी झन्डै पाँच हजार पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालय सञ्चालक वेद उप्रेती ट्रस्टले जनाएको छ ।

अवलोकन गर्नेमध्ये पाँचदेखि १० प्रतिशत विदेशी, करिब ७० प्रतिशत धनगढीबाहिरका नेपाली र करिब २० प्रतिशत जति स्थानीय सर्वसाधारणले सङ्ग्रहालयको अवलोकन गरिसकेको सञ्चालक वेद उप्रेतीले बताउनुभयो ।

हाल दैनिक २०० देखि ४०० ले अवलोकन गर्ने गरेकामा यीमध्ये झन्डै ५० प्रतिशत विद्यार्थी रहने गरेका छन् । सङ्ग्रहालयभित्र प्रवेशका लागि लिइने गरिएको शुल्कबाट अहिलेसम्म करिब रु एक लाखभन्दा बढी आम्दानी भएको छ । अवलोकन गर्न विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु १०० शुल्क तोकिएको छ । आम्दानी रकमबाट सुदूरपश्चिम क्षेत्रका क्षयरोगीको उपचार गर्न र विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न दुई छुट्टाछुट्टै अक्षयकोष खडा गरिन लागिएको छ ।

“आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्थापना भएको सङ्ग्रहालयबाट विद्यार्थीलाई असल प्रेरणा र ज्ञान दिनेछ”–उप्रेतीले भन्नुभयो–“अरूका लागि मनोरञ्जन प्रदान गर्नेछ ।” सङ्ग्रहालय परिसरमा ‘आफ्नो जहाज आफँै बनाऔँ’ विषयमा निःशुल्क रूपमा सञ्चालन गरिएको कार्यशालामा स्थानीय विभिन्न विद्यालयका छात्रछात्राको उल्लेखनीय सहभागिता छ । कार्यशालमा विद्यार्थीलाई जहाजका ससाना पाटपुर्जा उपलब्ध गराई जहाजको आकार बनाउन सिकाउने काम भइरहेको छ ।

सङ्ग्रहालयमा विभिन्न जहाजका नमुनाका साथै पर्यटकीय दृष्टिले महत्वपूर्ण नेपाल र विदेशका लोभ लाग्दा तस्बिर देख्न पाइयो, अवलोकन गरेर फर्केका काठमाडौँमा अध्ययनरत विद्यार्थी भुवन भट्टले भने–“सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि यो छुट्टै र नयाँ खालको पर्यटन केन्द्र बन्ने देखिएको छ ।” सङ्ग्रहालयको अवलोकन गरेर फर्कंदै गरेका अर्का विद्यार्थी दीपेन्द्र साऊले वायुयान सङ्ग्रहालय स्थापनाले पर्यटकका लागि वायुयान सङ्ग्रहालय नयाँ र छुट्टै खालको पर्यटकीय गन्तव्य बन्न थालेको अनुभव भएको बताए ।

कस्मिक एयरको १०० सिट क्षमताको पुरानो विमानका पाटपुर्जालाई जोडेर विमानको आकार दिई एयरक्राप्ट म्युजियम निर्माण गरिएको सङ्ग्रहालयका मुख्य विशेषतामा एयर क्राफ्टका नमुना, फोटो ग्यालरी, जेट ककपिट, जहाजभित्र ठूलो पर्दामा वृत्तचित्र प्रदर्शन, ककपिट क्याफेको अनुभव र पाइलटसँग प्रत्यक्ष संवाद रहेका छन् । हाल इन्डोनेसियाको लायन एयर विमान कम्पनीमा प्रशिक्षक पाइलटका रूपमा कार्यरत क्याप्टेन वेद उप्रेतीको एक्लो प्रयास र लगानीमा यो सङ्ग्रहालयको स्थापना भएको हो ।
Photo: Deepak Bam 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।