Tuesday, May 12, 2015

भूकम्पमा परी ५७ जनाको मृत्यु (अपडेट)

आज २९ वैशाखमा गएको भूकम्पबाट रामेछापमा १६ जनाको मृत्यु भएको स्थानीय पत्रकार युनिक विफा घिसिङले जानकारी दिएका छन् । त्यसैगरी दोलखामा २४  जनाको मृत्यु, ५० घाइते भएको पत्रकार दीलबहादुर केसीले बताए । केसीका अनुसार गाउँ गाउँमा भएको क्षतिको खबर अझै पुगेको छैन ।
रामेछापमा गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगेको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिए ।
सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उनले बताए ।

नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर:  @DoctorsForNepal को ट्वीटरबाट
नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर: @DoctorsForNepal को ट्वीटरबाट
सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
काठमाडौंको टेकु, मातातिर्थ र सामाखुशीमा एक-एकजनाको मृत्यु भएको छ भने ललितपुरको लेलेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको मझुवामा १ र नेत्रकालिकामा १ जनाको मृत्यु भएको छ ।

सर्लाहीको हरिवन १० सखेपोखरीमा सुखेपोखरी उच्चमावीको पर्खाल भत्किदा स्थानीय सुकमाया मगरको मृत्यु भएको स्थानीय पत्रकार विश्वनाथ ठाकुरले जानकारी दिए । घरबाट भाग्दै गर्दा स्कुलको पर्खालले च्यापिएर  रमेश मगर घाइते भएका छन् ।
इटहरीमा पनि एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पले गर्दा काठमाडौंमा ७३ ललितपुरमा ७३ र भक्तपुरमा ३२ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते भएका छन्।
त्यस्तै सीतापाईलास्थित एउटा चार तले घर पूरै ध्वस्त भएको थाहा भएको छ भने काठमाडौंको साँखु क्षेत्रमा धेरै घरहरु भत्किएको जानकारी आएको छ । नयाँ बजारमा पनि ४ तले घर लडेको छ । उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको र स्थानीयको अनुमान छ । त्यहाँ सेना र प्रहरी उद्धारमा खटिइसकेका छन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालका अनुसार सोलुखम्बुमा पनि ठूलो संख्यामा घरहरु भत्किएका छन् । “सदरमुकाम सल्लेरीका धेरै घरहरु ढलेको हामीले देखिराखेका छौं, क्षतिको विवरण भने आएको छैन,” ढकालले भने ।
दोलखाको बोच गाविसमा रहेकी अनेरास्ववियुकी केन्द्रिय सचिव भक्तकुमारी लामाका अनुसार चारै तिर धुलो उडिरहेको छ, तुवाँलो लागेजस्तो छ । रामेछापमा ठूलो पहिरो गएको देखिएको पनि उनले बताइन् ।
भूकम्प र त्यसपछिका पराकम्पनबाट त्रसित मानिसहरु काठमाडौंका सडक र खुल्ला स्थानमा जम्मा भएका देखिन्छन् । भूकम्पबाट दोलखा, रामेछाप, सोलुखुम्बु र सिन्धुपाल्चोकमा धेरै क्षति भएको अनुमान गरिएको छ ।
Source: Himalkhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।