Friday, July 17, 2015

आर्थोस्कोप मेसिनबाट सेती अञ्चल अस्पतालमा शल्यक्रिया

आर्थोस्कोप मेसिनबाट पहिलो पटक शल्यक्रिया सम्पन्न, घुँडा तथा जोर्नीको समस्या भएका बिरामीहरु लाभान्वित हुने

सेती अञ्चल अस्पतालमा आर्थोस्कोप मेसिनबाट पहिलो पटक शल्यक्रिया गरिएको छ । काठमाण्डौंपछि पहिलो पटक उपत्यका बाहिर आर्थोस्कोप मेसिनबाट सेती अञ्चल अस्पतालमा शल्यक्रिया गरिएको हो । 
सेती अञ्चल अस्पतालका नशा तथा हाडजोर्नी बिशेषज्ञ डा.प्रमोद जोशीको नेतृत्वको टोलीले आईतवार ५० वर्षिया जुगनीदेवी चौधरीको घुँडाको शल्यक्रिया गरेको हो । एनेस्थेशियोलोजिष्ट डा. सन्तोष खनाल, एनेस्थेशिस सहायक नियम न्यूरे, नर्सिङ स्टाफ गीता आले लगायतको टीम शल्यक्रियामा संलग्न थियो । 
डा. जोशीले विदेशतिर आर्थोस्कोप मेसिनबाट शल्यक्रियाको काम हुने भएपनि नेपालको काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक आर्थोस्कोपबाट शल्यक्रिया गरिएको बताउँनुभयो । उहाँले घुडा तथा जोर्नीको समस्या भएका बिरामीहरुले उपचारका लागि अव बाहिर जानु नपर्ने बताउँनुभयो । 
सेती अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. गणेशबहादुर सिंहले आर्थोस्कोप मेसिन बहुउपयोगी भएको बताउँदै मेशिनमा केहि कुरा थप गर्न सके चिरफार नगरेरै पत्थरी, पेट सम्बन्धि अन्य शल्यक्रिया सजिलै गर्न सकिने बताउँनुभयो । 
आर्थोस्कोपको सहयोगमा जोर्नी भित्रको फोहोर सफा गर्ने, जोर्नी भित्रको रोग पत्ता लगाउने र उपचार गर्ने, घुडाको लिगामेण्टको उपचार, बाथ रोगको शल्यक्रिया सेती अञ्चल अस्पतालमै संभव भएको छ । सरकारले आर्थोस्कोप मेशिन सेती अञ्चल अस्पताल र बिराटनगर अस्पताललाई उपलब्ध गराएको हो । यसको मूल्य करिब ७० लाख रुपैया पर्ने अस्पतालले जनाएको छ । 
Source: News24

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।